घनश्याम कोइराला
समाज परिवर्तनशील छ, संसार परिवर्तनशील छ । कतिपय परिवर्तन सामान्य गतिमा हुन्छ, परिणामपछि मात्र थाहा हुन्छ । कतिपय परिवर्तन परिणामअघि नै स्पष्ट र कडा सन्देशसहित आउँछ । भूकम्प थाहा नदिई आउँछ, उथल पुथल, तहस नहस पारेर जान्छ । चट्याङ ? चर्को स्वरसहित आउँछ । पानी पर्नुअघि मेघ (बादल) गर्जिन्छ, कहिलेकाहिँ त मेघ गर्जिन्छ, तर पानी पर्दैन । प्रकृतिका यी र यस्ता अनेकौँ घटनाक्रमहरूबाट मानवजातिले धेरै कुरा सिकेको छ, सिक्नुपर्ने छ र सिकिरहने छ ।
हाम्रो समाजमा प्रचलित एउटा भनाइ छ,‘कागले कान लग्यो भन्दैमा कागको पछि दगुर्ने होइन, पहिले कान छाम्नुपर्दछ ।’ हाम्रा पुर्खाले आफ्नै जीवनमा अनुभूत गरेका यस्ता विषय पनि प्रकृतिजत्तिकै सत्य छन् । यस्ता विषयबाट पनि हामीले शिक्षा लिनुपर्दछ ।
हामीले समाजमा भएका अनेकौँ अन्तर्विरोध र द्वन्द्वहरू देख्दै र भोग्दै आएका छौँ । हामीलाई हेक्का हुनु पर्दछ, नयाँ नयाँ अन्तर्विरोध र द्वन्द्वहरू सिर्जना भइरहन्छन् । तिनीहरूको व्यवस्थापन पनि हुँदै जान्छन् । त्यसैले कुनै पनि घटनाबाट हामी पर भाग्न सक्दैनौँ, मात्रामा तलमाथि होला, हामीले त्यसका असर र प्रभाव भोग्नै पर्ने हुन्छ ।
गत भदौ २३ गते नेपालमा एउटा उमेर समूहले साह्रै राम्रो मागसहित आपूmलाई आन्दोलनमा उभ्यायो । यद्यपि, उनीहरूले उठाएका माग प्रकारान्तरले अरुहरूले पनि उठाउँदै आएका थिए, किनभने विषय साझा थिए । उनीहरूका मुख्य माग–भ्रष्टाचारको अन्त्य, सुशासन, समानता र सामाजिक सञ्जालको निर्वाध उपयोग थियो । यी विषय सबैका लागि उपयोगी र आवश्यक थिए । यो आन्दोलनमा प्रत्यक्ष सहभागी नभएकाहरू पनि यो आन्दोलनप्रति सकारात्मक देखिन्थे । अझ थप सकारात्मक त के थियो भने आमरूपमा पुस्ता सार्वजनिक सरोकारका राजनीतिक, आर्थिक, सामाजिक मुद्दामा त्यति चासो नराखिरहेको पुस्ता थियो र यो पुस्ता यसरी आन्दोलनमा आउनु खुसीको विषय थियो । निराशा, कुण्ठा, सङ्कीर्णता त्यागेर नवयुवाहरू सडकमा आउनु सकारात्मक हस्तक्षेप मानिँदैथियो । दुर्भाग्य, नवयुवाहरूको यस्तो पवित्र पदचाप अज्ञात स्वार्थतत्वबाट अपहरित भयो । कापी–किताबका झोला बोकेका स्कुल युनिफर्म लगाएका झण्डै दुई दर्जन कलिला मानिसहरू गोलीको सिकार भए, सडकमै ढले ।
जेन–जीका कुनै अर्कै लोकबाट आएका होइनन् । उनीहरू यहाँका अरु मानिसहरूकै सन्तान हुन् । उनीहरू सन् १९९६—९७ देखि सन् १९१२–१३ का बिचमा जन्मेका नवयुवा हुन् । सूचना तथा सञ्चार प्रविधिको उच्चतम विकास र प्रयोग भएको समयका भएका हुनाले ती विषयमा अरुभन्दा उनीहरू बढी नै जान्नेबुझ्ने छन् । तर, उनीहरूले जानेका कुरा अरु कसैले जान्दैनन् वा जानेकै छैनन् भन्ने होइन । उनीहरूभन्दा अघिल्लो पुस्ताले अनुसन्धान, आविष्कार र प्रयोग गरेका विषय नै उनीहरूले प्राप्त गरेका हुन् । यो पुस्ताका मानिसहरूका ज्ञानेन्द्रिय र कर्मेन्द्रिय बिलकुलै फरक छन् र तिनीहरूले गर्ने काम नितान्त भिन्न हो भन्ने छैन ।
भौतिक परिस्थितिले चेतनामा प्रभाव पार्छ भन्ने सत्य यहाँ पुस्टि भएको मात्र हो, भौतिक परिस्थिति उनीहरूले मात्र निर्माण गरेका होइनन् । वर्गीय हिसाबले उनीहरू क्रान्तिकारी वर्गका वा भिन्न सामाजिक समुदायका पनि होइनन् तर यो पुस्तालाई अल्लारे, ढोँटे, इतिहासबाट बेखबर, परिवार र सामाजिक सम्बन्धहरूबारे उदासीन, धर्म–संस्कृतिबाट टाढा रहेका व्यवहारशून्य, मोबाइलका किरा, मानवीय चेत र हृदय नभएका वज्रस्वाँठ ठान्ने गल्ती पनि गर्नुहुँदैन ।
समाजको सबै क्षेत्रमा माग र मुद्दा फेरिएको छ । उहिलेका साधनस्रोत अहिलेका लागि पर्याप्त नहुनु–नलाग्नु स्वाभाविक हो । यसअघिका आन्दोलनले फेरिएका सकारात्मक अवस्था अहिले अपुग भएको छ । पहिले बाटो, बिजुली, खानेपानी, यातायातका न्युनतम व्यवस्था थिएन, अघिल्लो पुस्ताले त्यही माग्यो, त्यही पायो । पहिले स्कुल, कलेज थिएन, त्यही नै माग र मुद्दा थियो । अहिले बिजुलीको उज्यालोमा बसेर, घर नजिकैको स्कुल–कलेजमा पढेर, घरभित्रै पुगेको धाराको पानीमा नुहाएर, आँगनकै ढिलसम्म पुगेको कालोपत्रे वा ढलान बाटोमा यातायातको साधन प्रयोग गर्न पाएकाहरूले थप नयाँ कुरा सोच्नु, खोज्नु कत्ति पनि नाजायज विषय होइन । हिजो राजा–महाराज, सामन्त, ठालु, महाजनहरूको थिचोमिचो र तजबिजी व्यवस्थामा साँगुरिनु पर्दाको मागमुद्दा र लोकतान्त्रिक गणतन्त्रको फराकिलो क्षितिजमा खोजिने माग–मुद्दामा फरक आउनु बिलकुल सकारात्मक हो । काग कराएको भरमा सूचना तथा सञ्चारको अनुमान गर्नुपर्ने, बिहानमा पूर्व र बेलुका पश्चिमको बादल हेरेर मौसमको भर पर्नुपर्ने अवस्थाबाट हाम्रो समाज धेरै अगाडि बढिसकेको छ । परदेश गएको आफन्तको मृत्युको खबर कयौँ दिनमा धागोले बाँधेको चिट्ठी आएपछि सूचित हुने जमाना छैन । यी र यस्ता अनेकौँ विकास र परिवर्तनले नयाँनयाँ चेतना, नयाँ जागरण ल्याइदिएको छ । यसले नयाँ माग, नयाँ मुद्दा उठाउन सघाएको छ, नयाँ समाधान खोजेको छ । यसले पुरानो पुस्ताका कतिपय अगुवाहरूमा आश्चर्यको सञ्चार भएको होला, तर अहिले परिवर्तनको गति मन्द होइन, तीव्र हुने पूर्वाधार छन् । यसतर्फ हामी सबैले ध्यान दिनु आवश्यक छ ।
हामीले सजिलो गरी बुझ्नु पर्दा जेन–जी प्रविधिमैत्री, छिटो प्रतिक्रिया दिने तर उपभोगतर्फ बढी आकर्षित पुस्ता हो । भावुक तर भावनाप्रति उदासीन, सजिलै प्रभावित हुने यिनको सक्रियता समाजका लागि अवसर र चुनौती दुवै हो ।
स्वाभाविक हो, पुस्ता भएपछि पुस्तान्तरण हुन्छ । पहिले राजा मरेपछि राजका छोरा राजा हुने प्रचलन थियो तर लोकतन्त्रमा निर्धारित विधिद्वारा निर्वाचित भएकाहरूले शासन सञ्चालन हुने गर्दछ । अरु कुरा तपसिलका हुन् ।
जसरी अहिले सकारात्मक र नकारात्मक दुवै कोणबाट जेनजीका विषयमा अनेकौँ कुरा सुनिने गरेको छ । यो न पहिलो पुस्ता हो, न मानवजातिको अन्तिम पुस्ता हो । यो एउटा नामकरण मात्र हो । पृथ्वीको पश्चिमी गोलाद्र्धका अध्येताले ल्याएको मानवजीवनको समय विभाजनको एउटा स्वरूप हो ।
हाम्रो पूर्वीय प्रचलनमा यो मितिदेखि यो मिति सम्मको भनेर विभाजन नगरिएको भए पनि जन्मदेखि जीवित रहँदासम्मको उमेर विभाजनको नामकरण रहेको पाइन्छ ।
नेपाली विद्वान् शिवराज बरालले आफ्नो पुस्तक ‘आचार मञ्जरी’मा लेख्नुभएको छ ।
जन्मेर दाँत नहुँदा ‘शिशु’ नाम हुन्छ । तीन वर्षसम्म अनि ‘बालक’ मा गनिन्छ ।
त्यस्देखि पाँचतकलाइ ‘कुमार’ भन्नू । ‘पौगण्ड’ हो अनि उता दश वर्ष गन्नू ।।
हो सोह«सम्म त ‘किशोर’ पछि ‘जवान’ । हूनेछ ‘वृद्ध’ पछि सत्तरिदेखि जान ।
जानून् ‘किशोर’ जनले भनि लेखिएको ‘आचार मञ्जरि’ भनीकन तोकिएको ।।
(प्रस्तुत श्लोकको भाषा जस्ताको तस्तै राखिएको छ ।)
अर्थात् जन्मदेखि दाँत नउम्रदासम्म शिशु, दाँत उम्रेखि तीन वर्षको हुँदासम्म बालक (बालिका), तीनदेखि पाँच वर्षसम्म कुमार, पाचदेखि दस वर्षसम्म पौगण्ड, दसदेखि सोह« वर्षसम्म किशोर, त्यसपछि युवा (जवान) भनिएको छ । सत्तरी वर्ष माथिका वृद्ध भनिएको छ ।
कतिपयलाई जेन–जीको आन्दोलनपछि लाग्यो जेन–जी भनेको त आन्दोलनकारी हो, क्रान्तिकारी हो र जे गर्छ, यसैले गर्छ । यस्तो भ्रम पाल्नु हुँदैन । यो पुस्ता एउटा निश्चित समयावधिमा जन्मेका मानिसहरू हाम्रा आफन्त हुन् । उनीहरूलाई हामीले मायाँ गरेर हुकाएका हौँ । उनीहरूको सुखद भविष्यका लागि हामी अनेकौँ दुःखकष्ट सहँदै, दुःखकष्ट गर्दैआएका छौँ । उनीहरूको शिक्षादीक्षामा, स्वास्थ्यमा हामी सदैव चिन्तित र क्रियाशील रहँदैआएका छौँ । उनीहरूको रोजगारीका लागि हामी उत्तिकै चिन्तित छौँ । उनीहरूका लागि हामीले ऋणको भारी बोकेका छौँ । उनीहरूका हात हातमा मोबाइल पु¥याएका छौँ ।
उनीहरूको सहज र सुखद जीवनका लागि देवीदेवता भाक्ने, ज्योतिषीका घर धाउने, धामीझाँक्री मनाउने सम्मका सबै काम हामीले गरेका छौँ । विश्वास–प्रवाह नगरी कालो धागो, कालो टीका लगाइदिएका छौँ किन ? किन कि हामी हाम्रा सन्तानको स्वास्थ्य, शिक्षा, सुख, समृद्धिको अनन्त गरेका हुन्छौँ । अनि, हामी र उनीहरू, हाम्रो स्वार्थ र उनीहरूका चाहना भिन्न हुन सक्छन् त ? सक्दैनन् । उनीहरूलाई चोट लाग्दा हामीलाई दुख्छ, उनीहरू ननिदाउँदा हामीलाई अनिदो हुन्छ, उनीहरूले नखाँदा हामी भोकै हुन्छौँ । त्यसैले केही अपवाद र दुर्बुद्धि बाहेक जेन—जी र अघिल्लो पुस्ता विरोधी पुस्ता होइन, हुनै सक्दैन । उनीहरूले पाउने अधिकारमा हाम्रा अधिकार काटिँदैनन् । उनीहरूले प्राप्त गर्ने निर्वाध अधिकार नै हाम्रो पुस्ताका लागि सबैभन्दा ठूलो सुखको विषय हो ।
हाम्रो पूर्वीय मान्यतामा संस्कारका रूपमा सन्तानको अधिकार बाउआमाको कर्तव्यको विषय अनिवार्य छ । शिशु जन्मेपछि मात्र होइन, जन्मनुपूर्व नै त्यस्ता प्रावधानहरू लागू हुन्छन् ।
गर्भमा रहेका शिशुको यथेष्ट बौद्धिक एवं मानसिक विकास होस् भनेर गर्भ रहेको तीन महिना भित्रमा पुंसवन संस्कार गरिन्छ ।
आमाको मन खुसी रहोस् र गर्भमा रहेको शिशुको उन्नयन–समुचित विकास होस् भनेर सीमन्तोन्नयन संस्कार गरिन्छ । शिशु जन्मेपछि बल बुद्धियुक्त, स्वस्थ, दीर्घायु होस् भनेर जातकर्म संस्कार गरिन्छ । जन्मेको ११ दिनमा उसको पहिचानको पहिलो अधिकारको रूपमा नाम प्रदान गरिन्छ । यसलाई नामकरण संस्कार भनिन्छ ।
जन्मेको चार महिनामा बाहिरी वातावरणअनुकूलनका लागि घर बाहिर लैजाने निष्क्रमण संस्कार गरिन्छ । क्रमशः अन्नप्राशन संस्कार–पास्नी गरिन्छ । टाउको बलियो भयो भन्ने भएपछि शिशुको कपाल खौरने मुण्डन संस्कार गरिन्छ । यो काम प्रायः तीन वर्षभित्रमा गरिन्छ । यसरी गुरुका समीप राख्ने उपनयन, विद्या प्रारम्भ, दीक्षान्त (समावर्तन) र विवाह संस्कार गरिन्छ । यी संस्कारहरू जन्मनु अघिदेखिका हुन् । हाम्रो पारम्परिक संस्कार नै यति सघन प्रेमयुक्त, जिम्मेवारीपूर्ण, भावमय छन् ।
हामीले सुन्दै, बुझ्दै र भोग्दैआएको तथ्य के हो भने समाजमा जहिले पनि दुई वर्गबिच सङ्घर्ष चलिरहेको पाइन्छ । हरेक कालखण्डमा शासक र शासित वर्ग भिन्न हुने गरेको देखिन्छ । तर जेनजी भनिएकाहरू न सबै शासक वर्गका हुन् न त शासित वर्गका । समाजमा जुन जुन वर्ग, क्षेत्र, समुदाय, धर्म, संस्कृति, लिङ्ग, वर्णका मानिस छौँ, जेनजीहरू पनि त्यही त्यही नै छन् । तर, उमेर ? उमेर त आन्दोलन गरेर व्यवस्थापन गर्ने विषय होइन । सामाजिक सौहार्द, सहिष्णुता, समभाव देखिनसक्ने आपराधिक तत्वले एउटा उमेर समूह र अर्को उमेर समूहकै बिचमा ठूलो खाडल खनेर विध्वंसको ताण्डव हे¥यो । हामी सहन बाध्य भयौँ । यो बाहिरी खेल हो, हाम्रो संस्कार, संस्कृति, परम्परा, मूल्यमान्यता विरोधी भाष्य खडा गरेर उमेर समूहबिचको प्राकृतिक भिन्नता वा दूरीलाई वैरभावमा उभ्याउने प्रयत्न भइरहेको छ । यसबाट हामी सबै सावधान र सचेत रहनुपर्दछ र जोगिनु पर्दछ ।
सारमा भन्नुपर्दा टिकटक, इन्स्टाग्राम, फेसबुकजस्ता प्लेटफर्ममा छोटकरी जानकारी, छोटकरी मनोरञ्जन र छोटकरी प्रतिक्रिया दिने अभ्यासले यो पुस्तालाई द्रुत वा छिटो बनाएको छ । तर, यही छिटो बुझ्ने र छिटो प्रतिक्रिया दिने क्षमताले कहिलेकाहीँ गहिरो सोच, धैर्यता र दीर्घकालीन दृष्टिकोण कमजोर बनाइदिन्छ ।
यो पुस्ता सिर्जनाभन्दा पनि उपभोगमा बढी सहज हुने भएकाले सजिलै अरूको साधन र शक्तिबाट प्रयोगमा आउने खतरा पनि छ । उपभोक्तावादी प्रवृत्तिले व्यक्तिगत स्वतन्त्रता बढाएजस्तो देखाए पनि दीर्घकालीन रूपमा समाजलाई निर्भरता र कमजोर बनाउने जोखिम हुन्छ । यस पुस्तालाई हिजोको पुस्ताका सकारात्मकतासँग जोड्न सबै क्षेत्रका अगुवाहरूले ध्यान दिनु आवश्यक छ । यो पुस्तालाई हेप्नु, दुत्कार्नु वा फुर्काउनु, उपयोग गर्नु घातक हुनेछ ।
जेन–जी सचेत र छिटो प्रतिक्रिया दिने भए पनि सामाजिक जिम्मेवारी वहन गर्न भने अझै ढिलो र कमजोर देखिन्छ । उदासीनता, अकर्मण्यता र व्यक्तिगत आरामतर्फको आकर्षणले उनीहरूलाई लामो समयसम्म जिम्मेवार भूमिकामा देखिन कठिन बनाएको छ । तर, सही नेतृत्व, अवसर र वातावरण पाएमा यही पुस्ता समाजलाई नयाँ दिशा दिन सक्ने सम्भावना पनि प्रबल छ ।
के यो पुस्ता देखिने वा नदेखिने शक्तिको प्रभावबाट मुक्त रहन सक्छ ? सामाजिक सञ्जालका एल्गोरिदमदेखि लिएर राजनीतिक स्वार्थ, व्यापारिक प्रचार र अन्तर्राष्ट्रिय प्रभावसम्म, जेन–जी सजिलै प्रभावित हुने खतरा बोकेको छ । उनीहरूको सजगता र स्वतन्त्रता यिनै अदृश्य शक्तिबाट कसरी बचाइन्छ भन्ने कुरामा भविष्यको समाज निर्भर रहनेछ । उपभोक्तावाद, भावनात्मक अस्थिरता र अदृश्य र अज्ञात शक्तिको प्रभावमा पर्न सक्ने जोखिम पनि छ ।
जेनजीलाई मार्गदर्शन दिने, अवसर दिने र जिम्मेवारी दिलाउने दायित्व पाका पुस्ता, नेतृत्व र समाजकै काँधमा छ । यदि यो पुस्ता भूमिकासहित अगाडि बढ्न सक्यो भने, नेपालको भविष्य परिवर्तनको दिशातर्फ अघि बढ्नेछ । आफ्नै परिवारका पछिल्लो पुस्ताबारे केही नजानेझैँ कुहिराको काग नबनौँ । अरुले होइन, आफ्ना सन्तानबारे जानकारी राखौँ । पुस्तापुस्ताबिचको वैमनस्यता हुर्काउने दुष्प्रयासबाट बचौँ र बचाऔँ ।
