टोपलाल अर्याल
गुल्मी । रेसुंगा नगरपालिका–१४ रातामाटाका ५९ वर्षीय दोलकराज पन्थीले खैजडी र मजुरा दुवै बजाउँछन् । उनी गाउँका पुराना भजन कलाकार हुन् । उनका बुवा ९३ वर्षीय तारापती पन्थी अझै छन् । उमेर हुने बेलासम्म तारापती समूह लिएर विभिन्न गाउँ पुग्थे । उनीसँगै हिँडेका छोरा दोलकराजले अहिले बुबाको पिणा थामेका छन् । भजन विशेष गरेर धार्मिक उत्सवहरुमा गाउने र नाच्ने गरिन्छ । पहाडी जिल्लाहरुका प्राय गाउँमा भजन संस्कृति छ । तर, नयाँ पुस्ताको आकर्षण कम हुँदा खैजडी भजन पुराना पुस्तामै मात्र सीमित बनिरहेको छ ।
१५ वर्षपछि भजन फर्काउँदै पराल्मी
रेसुंगा नगरपालिका–१४ खैजडी भजनको लागि प्रख्यात गाउँ हो । पुरानापुस्तासंगै करिव १५ वर्ष भजन गाउँने गाउँमा कोही भएनन् । गाउँकै बिबाह, ब्रतबन्ध र उत्सबसँगै रेसुंगा तथा गौशालामा पराल्मीको उपस्थिति शून्य बन्यो । तर, अहिले भजन फर्काउने जोँसमा नयाँ पुराना पुस्ता कस्सिएर लागेका छन् । पराल्मीका ५९ वर्षीय युवराज आचार्य भजन गाउँदै आएका पुराना कलाकार हुन् । उनले अस्ताएको भजन फर्काउन नयाँ युवा बोकेर समूहमा गाउने र नाच्ने गरेका छन् ।
भजनमा नृत्य गर्नेसहित नौ जना चाहिन्छ । उनले कम पुराना र धेरै नयाँ युवाहरुलाई भजनसंग जोडेका छन् । बुबाहरुसंग ११ वर्षको उमेरदेखि भजन गाउने र नाच्ने गर्न थालेका आचार्यले सबै बाजा बजाउँछन् । ‘भजन अर्थसँग नजोडेर संस्कृतिको हिसावले जोगाउने अभियानमा छौँ । नयाँले नसोचे भजन अब सकियो,’उनले भने,‘मैले काठमाण्डौसम्म पुगेर पनि भजन गाएँ ।’
बाध्यबाधनका सामग्रीको जोहो
मौलिक भजनका गीत उस्तै छन् । पुस्तान्तरणसँगै बाध्यबाधनमा मादल र हार्मोनियम थपिएकोे छ । मौलिक भजनसँग रामायण, कृष्ण चरित्र, महाभरात, ब्यासहरु कथाहरुका चुट्का गाइन्छ । मेलो र प्रसंगअनुसार गाउनुपर्ने भएकाले भजन गाउनेहरुलाई सजिलो छैन । जसका कारण युवाहरुलाई मौलिकता छोप्न मुस्किल पर्ने पराल्मी भजन समूहकै ३१ वर्षीय युवा नरिश्वर आचार्यले जानकारी दिए । आचार्यले मादल बजाउँछन् । पुराना कलाकारको भाका समाउँछन् ।
गाउँका पुुराना कलाकार र सामग्रीसमेत नभएकाले करिब दुई लाखमा खैजडी, मजुरा, हार्मोनियम, मादल र साउण्डसिस्टम खरिद गरेर भजन संरक्षणमा जुटेको नरिश्चर गौतमले बताए । उनले आफूहरुले कही पनि पैसा तोकेर भजन गाउने नगरेको बताए । ‘सबै युवा भजनको लागि तयार छैनन् । पुराना लय र गीत छोप्न, रातमा हिँड्न खोज्दैनन,’उनले भने,‘स्थानीय तहहरुले प्रोत्साहन गरेर मौलिक संस्कृति जोगाउनुपर्छ ।’ उनले नयाँ पुस्ता डयाग बजाएर युटुवका भजनमा रमाउन थालेपछि मौलिक भजन लोप हुन थालेको बताए ।
भजन गाउँदा–गाउँदै उज्यालो हुन्थ्यो
रेसुंगा नगरपालिका–४ अर्खलेका ६० वर्षीय हरि पन्थीले रेसुंगामा गएर भजन गाउन थालेका तीन दशक हुन थाले । उनका पुर्खाले पनि भजन गाउँथे । यो समूह भजन गाउन नपुगेका जिल्लाका कुनै स्थान बाँकी छैनन् । तर, पुस्ता निकै पुराना छन् । जमना फेरियो, उमेर घर्कियो । गाउने ६ जना र दुई जना नाच्ने समूहमा छन् । पहिले–पहिले पुजाहरुमा भजन गाएर रात बिताएको अनुभव पन्थीसंग छ । तर, अहिले मान्छे सौखिन भएपछि लामो भजन नरुचाउने उनले बताए । भजन गाएको मुल्य नहुनु र नयाँ पुस्ता दोहरी र पपसँग रमाउन थालेकाले भजन संस्कृति आफूपछि बिलाएरै जानेका पन्थी विश्वस्त छन् ।
वर्षेनी रेसुंगाको साउने मेलामा भजन
रेसुंगा संरक्षण समितिले बिगत लामो समयदेखि रेसुंगामा भक्तिसंगीत प्रतियोगीता गर्दै आएको छ । गाउँको मौलिक भजन लोप हुने अवस्थामा पुगेपछि समितिले साउने मेलाको अवसरमा भक्तिसंगीत प्रतियोगिता गर्दै आएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । शनिबार आयोजना गरिएको प्रतियोगीता रेसुंगा–१४ पराल्मीको भजन समूह पहिलो, रेसुंगा नगरपालिका–४ अर्खलेको भजन समूह द्वितीय र मदानेका–४ राज भजन समूह तृतीय तथा र मुसिकोट नगरपालिका–१ पौदीको भजन समूह सान्तोना भएको संरक्षण समिति जनाएको छ । संरक्षण समिति अध्यक्ष भुसालले जिल्लाका धेरै भजन समूहहरुलाई रेसुंगामा उपस्थित गराउन खोजिएपनि नसकिएको बताउँदै स्थानीय तहहरुलाई समन्वय गर्नुपर्नेमा जोड दिए ।