![](https://mechikalinews.com/wp-content/uploads/2023/01/eye-1.gif)
![](https://mechikalinews.com/wp-content/uploads/2022/08/Technical-educations-photo-1.jpg)
रमेश पराजुली
बुटवल, भदौ १ । प्रविधिबिनाको दैनिकीको अहिले कल्पना पनि गर्न नसकिने भइसकेको छ । यसमा पनि पछिल्ला केही वर्षयता डिजिटल शिक्षा अर्थात् प्राविधिक शिक्षाका अभियान समेत निर्विकल्प बनेको अवस्था छ । डिजिटल शिक्षा अर्थात् प्राविधिक ज्ञान तथा त्यसको व्यवहारिक उपयोगका बारेमा यस क्षेत्रका केही युवाहरुले सञ्चालनमा ल्याएको कम्प्युटर शिक्षा साक्षरता अभियान अहिले देशव्यापी बनिरहेको छ । कपिलवस्तुका केही युवाहरुले राइट स्टेप एजुकेशन एकेडेमीमार्फत सुरु गरेको कम्प्युटर शिक्षा साक्षरता कार्यक्रम अहिले मुलुकका झण्डै ६० जिल्लामा विस्तार भएको छ ।
हालै बुटवलमा सुरु भएको सोही अभियानअन्तर्गत कम्प्युटर शिक्षा साक्षरताका लागि विद्यार्थीहरुले प्रवेश परीक्षा दिएका थिए । करिब ४ सय जना विद्यार्थीहरुले यस अभियान अन्तर्गतको कम्प्युटर शिक्षा अध्ययन गर्नेगरी उक्त अभियानको शुभारम्भ गरिएको छ । उनीहरुलाई भर्ना अघि प्रवेश परीक्षा लिइएको हो । उनीहरुले डिजिटल शिक्षा अर्थात् कम्प्युटर साक्षरतासम्बन्धी एक वर्षे कोर्षको अध्ययन गर्नेछन् ।
स्कुले किशोर किशोरीहरुदेखि सामान्य साक्षर मानिसलाई कम्प्युटर शिक्षा सिकाउने उद्देश्यले २०६८ सालमा स्थापना भएको यो अभियान अहिले मुलुकका ६० जिल्लामा विस्तार भएको छ । राइट स्टेप एजुकेशन एकेडेमीका संस्थापक तथा युवा अभियन्ता दीपेन्द्र शर्मा पौडेलका अनुसार ५८ जिल्लाका झण्डै ७० वटा सूचिकृत कम्प्युटर इन्ष्टिच्यूटहरुमार्फत डिजिटल शिक्षा अर्थात् कम्प्युटर शिक्षा साक्षरता अभियान सञ्चालन भइरहेको छ ।
![](https://mechikalinews.com/wp-content/uploads/2022/08/Technical-educations-photo-6.jpg)
एक वर्षे प्रोफेस्नल डिप्लोमा इन कम्प्युटर एप्लीकेशन कोर्षमा अहिले एकै साथ २५ हजारभन्दा धेरै विद्यार्थीले कम्प्युटर शिक्षा लिइरहेको अभियान्ता पौडेलको भनाइ छ । दुर्गमको जुम्ला देखि लुम्बिनी र बुटवलसम्मका विभिन्न इन्ष्टिच्यूटहरुमार्फत यो कार्यक्रम विस्तार भइरहेको र हजारौंले एक साथ कम्प्युटर शिक्षा लिइरहेको पौडेलले बताए ।
डिजिटल शिक्षाको माग र महत्व बढ्दै गइरहेका बेला स्कुले किशोर किशोरीदेखि मावि तह पास गरेका विद्यार्थीहरुलाई कम्प्युटर शिक्षामा जोड्ने उद्देश्यले राइट स्टेप एजुकेशन एकेडेमीले देशव्यापी रुपमा यसप्रकारको अभियान सञ्चालन गर्दै आएको अर्का अभियन्ता तथा मेघाटेक इन्ष्टिच्यूटका सञ्चालक यमलाल खरेलले बताए ।
![](https://mechikalinews.com/wp-content/uploads/2022/08/Technical-educations-photo-5-1024x472.jpg)
युवा जनशक्तिलाई लक्षित गर्दै कम्प्युटर कोर्षमार्फत उनीहरुलाई सीपमूलक एवम् व्यवसायीक तालिम प्रदान गरी प्रविधिको सदुपयोग गर्दै शिक्षा हासिल गर्ने बनाउने अभियानको उद्देश्य हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारीका लागि दक्ष तथा योग्य शक्ति तयार गर्न समेत यस अभियानले सघाउ पु¥याउने अभियन्ताहरुको दाबी छ । स्वीकृत पाठ्यक्रम नै तयार पारेर कम्प्युटर साक्षरता शिक्षा कार्यक्रम सञ्चालन गरिएको पौडेलले जानकारी दिए ।
किसोर किसोरीहरुको कम्प्युटर सम्बन्धी सीप र मेहनतको आधारमा थुप्रै ठाउँमा अवसर समेत पाएको र सर्टिफिकेट नै मान्यताप्राप्त स्तरको रहेको पौडेलले उल्लेख गरे । राष्ट्रिय स्तरमा रहेका अवसर तथा प्रतिस्पर्धाहरुमा यहीँ अभियानका उत्पादन अब्बल सावित भएको उनको दाबी छ । ‘दक्ष जनशक्ति र प्रविधिको उचित सदुपयोग नै आजको आवश्यकतका हो’ पौडेल भन्छन्–‘प्रविधिको क्षेत्रलाई अझै सशक्त बनाउन प्रविधिकै ज्यादा प्रयोगको खाँचो छ ।’
![](https://mechikalinews.com/wp-content/uploads/2022/08/Technical-educations-photo-3-1024x472.jpg)
राइट स्टेपले सञ्चालन गरिरहेको कम्प्युटर साक्षरता शिक्षा अभियानअन्तर्गत विद्यार्थीलाई कम्प्युटरसम्बन्धी एक वर्षे कोर्ष गराइन्छ । यसको अलग्गै पाठ्यक्रम तयार गरिएको छ । उक्त पाठ्यक्रमलाई नेपाल सरकारले मान्यता दिएको छ भने अभियान चलाइरहेको संस्था आइएसओ सर्टिफाइट प्राप्त प्रतिष्ठित संस्थाका रुपमा स्थापित भएको छ ।
यसले तयार पारेका कोर्षका आधारमा सामान्य कार्यालयमा प्रायोजनमा आउने कम्प्युटरको प्रयोगदेखि विभिन्न बेसिक प्रोगाम, हार्डवेयर, इन्टरनेटमार्फत खोज तथा अध्ययनसम्मको विषयमा पठन पाठन गराइँदै आएको छ । अभियन्ताहरुले सामाजिक उत्तरदायित्वसमेत वहन गर्दै प्रत्येक आबद्ध शाखाहरुमार्फत गरिब, अपाङ्गता भएका विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर अध्ययन गराइरहेका छन् । यस अन्तर्गत झण्डै तीन हजार जनाले निशुल्क शिक्षा लिएका छन् ।