सहाराविहीनको सहारा बन्दै वृद्धाश्रम

मेचीकाली संवाददाता

६ भाद्र २०७९, सोमबार
56 shares

रन्जीता अधिकारी
देउखुरी। तल सेवार खोला बगिरहेको छ । खोलाकोमाथि डिलमा ठूलो गेट छ । मूल गेटमा लेखिएको छः ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित द्रोपदाकुमारी लोहनी लक्ष्मीनारायण वृद्धाश्रम । मूल गेटबाटभित्र पसेपछि शान्त र आनन्ददायी वातावरणमा पुगेझैँ लाग्छ । थरीथरिका फलफूलका बिरुवा र देवदेवीका मन्दिर देखिन्छन् ।

दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेको वृद्धाश्रममा अहिले १८ वृद्धवृद्धा छन् । नौ महिला र नौ पुरुष । उनीहरूको लालनपालन, रेखदेख, स्याहारसुसार र स्वास्थ्य उपचारको व्यवस्था वृद्धाश्रमले गरिरहेको छ । वृद्धाश्रममा बस्ने अधिकांश परिवारविहीन र सहाराविहीन छन् ।
प्यूठानको खलङ्गा घर भएकी ७९ वर्षीया दिलकुमारी क्षेत्री १० वर्षदेखि वृद्धाश्रममा बस्दै आएकी छन् । अहिले उनको शरीर कमजोर भएको छ । श्रीमान् हुँदासम्म कुनै कुराको समस्या थिएन । श्रीमान्को कमाइबाट घर चलेको थियो । श्रीमान्को मृत्युपछि पनि उनलाई पेन्सन आउँछ । घर खर्चलाई पैसा छ । तर शरीरमा भएको तागत घट्दै गयो । घरको आँगन बिरानो हुन थाल्यो ।
एक्लो भएपछि गाउँलेको सहायताबाट वृद्धाश्रममा आएको उनको भनाइ छ । ‘यहाँ आफ्नै उमेरका साथी भेटिएका छन् । कुराकानी गर्ने, मन भुलाउने बाटो भएकाले खुसी छु,’उनी भन्छिन् ।

घोराही उपमहानगरपालिका–१३ कलमघारीका ७४ वर्षीय श्रीधर सुनार पनि सोही आश्रममा एक वर्षदेखि बस्दै आएका छन् । खुट्टाको समस्याले उनी बैसाखीको सहाराले भित्र बाहिर गर्छन् । उनका आँखामा मोतीबिन्दु भएको थियो । गएको असार चार गते शल्यक्रिया गरेर आँखाले देख्न सक्ने भएको उनको भनाइ छ । उनी भन्छन्,‘छोराछोरी छैनन् । श्रीमतीको मृत्यु भयो । काम गर्न सक्ने हुँदासम्म घरमा एक्लै गाईबाख्रा पालेर बसियो ।’ उनले काम गर्न नसकेर थला पर्ने अवस्था आएपछि घरमा भएका गाईवस्तु पनि बिक्री गरे । सानो झुपडी घर थियो । त्यो गाउँलेलाई हेरिदिन आग्रह गरेर आश्रय लिन आएको उनी बताउँछन् । उनका अनुसार, घरको याद गरेर मन दुखाउनुभन्दा वृद्धाश्रमका दाजुभाइसँग भलाकुसारी गरेर दिन बिताउन सजिलो भएको छ ।

रोल्पाको जुरमसिना घर भएकी ७५ वर्षीया रामकली क्षेत्री पनि सोही वृद्धाश्रममा बस्छिन् । उनी बस्न थालेको डेढवर्ष भयो । पाँच छोराछोरी जन्मेका थिए तर पखाला लागेर चार जना मरे । एक छोरी मात्र बाँचिन् । श्रीमान्को मृत्यु भयो । भन्छिन्,‘धनसम्पत्ति खासै थिएन । दुःखसुख गरेर छोरी हुर्काएँ । ठूली भएपछि रोल्पाकै गाउँमा बिहे गरिदिएँ ।’ अहिले छोरीले सोधखोज नगरेको उनको भनाइ छ ।
‘भन्छन् नि, बाबुआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि भनेझैँ भयो,’ आँखाभरिका आँसु पुछ्दै रामकली भन्छिन्,‘अहिलेसम्म ठूलो रोग केही लागेको छैन । कहिलेकाहीँ ग्यास्ट्रिकले सताउँछ ।’ तैपनि उनलाई आश्रमको बसाइँ राम्रो भएको छ । भन्छिन्,‘आफूजस्तै दिदीबहिनीसँग कुराकानी गर्न पाइएको छ । शान्त वातावरणमा बस्ने व्यवस्था छ । मन भुलेको छ ।’
ज्येष्ठ नागरिक सरोकार केन्द्रका सचिव हीरा शाहका अनुसार ६० जना दाताको सहयोगमा अक्षय कोष स्थापना भएको छ । दाताले पाँच हजारदेखि पाँच लाख रुपैयाँसम्म दिएको शाहले बताए ।

शाह भन्छन्,‘प्यूठान, रोल्पा र सल्यानबाट सहाराविहीन ज्येष्ठ नागरिक आउनुभएको छ । जुम्लाबाट पनि एक जना पुरुष आउनुभएको थियो । २०७८ चैत महिनामा बित्नुभयो ।’ घोराही उपमहानगरपालिका– १५ का मधुसुदन र मोनिका जोशीले पितामाता कोमानन्द र गिराको स्मृतिमा एक लाख एघार हजार एक सय ११ रूपैयाँको अक्षय कोष स्थापना गरेको केन्द्रका कोषाध्यक्ष श्यामप्रकाश आचार्यले जानकारी दिए । सम्बन्धित वडा कार्यालयको सिफारिसमा आश्रममा राख्ने गरेको शाह बताउँछन् । भन्छन्,‘पहिलो प्राथिमकता असहायलाई दिने गरेका छौँ ।’ घोराहीका समाजसेवी खगराज लोहनीले तीन बिघा जमिन दान गरेर ज्येष्ठ नागरिक सरोकार केन्द्र स्थापना गरेका हुन् ।

केन्द्रको कार्यसमिति अध्यक्ष भूपाल गिरी आश्रममा वृद्धवृद्धाको सेवाका लागि पाँच जना कर्मचारी राखिएको बताउँछन् । वृद्धवृद्धाको खानपानमा मासिक रु.५० हजार खर्च भइरहेको छ । आफ्नै तीन बिघा जमिनबाट आउने अन्नपात र दाताको सहयोगबाट आश्रम चलिरहेको छ । केन्द्रमा ६० वर्ष उमेर पुगेका असहाय तथा परिवारविहीन ज्येष्ठ नागरिकलाई प्रक्रिया पु¥याएर आश्रममा आश्रय दिने गरिएको छ । धेरैजसोले आफैँ खाना खाने र सरसफाइ गर्छन् । एक जना अशक्तले आफ्नो काम आफैँ गर्न सक्दैनन् । उनको स्याहार गर्नुपर्छ । पक्षघात भएका दुई र बाथका रोगी एक जना छन् ।

घोराही उपमहानगरपालिकाले आश्रममा दैनिक स्वास्थ्यकर्मी पठाउने गरेको छ । सबै औषधि निःशुल्क दिने व्यवस्था पनि गरेको बताइएको छ । ‘जतिसुकै सुखसुविधा भए पनि जिन्दगी केही होइन रहेछ । जे आपूmसँग छ, त्यसैमा सन्तोष हुनुपर्ने रहेछ । विलासिता भन्दा आवश्यकतामा जानुपर्ने रहेछ,’उनी भन्छन् ।
उपमहानगरपालिकाले आश्रम सञ्चालनमा सहयोग गर्दै आएको पालिकाको महिला, बालबालिका तथा सामाजिक विकास अधिकृत मोतीकुमारी विश्वकर्मा बताउँछिन् । उनका अनुसार, स्वास्थ्य शाखाले स्वास्थ्यमा सहयोग गरेको छ भने महिला, बालबालिका तथा सामाजिक विकास शाखाले न्यानो कपडा वितरण तथा खाद्यान्नमा सहयोग गर्दै आएको छ ।

पछिल्लो समयका मानिस एकल परिवारमा रमाउने संस्कारको विकासले वृद्धवृद्धा हेलामा पर्ने गरेको विश्वकर्माको भनाइ छ । दाङमा हाल घोराहीको तेरौटे, देउखुरीको सुनडवरी र तुलसीपुर गरी तीन स्थानमा वृद्धाश्रम खोलिएका छन् । रासस