निजामती कर्मचारी संगठनद्धारा भित्तेपात्रो विमोचन

मेचीकाली संवाददाता

८ बैशाख २०८०, शुक्रबार
496 shares

बुटवल । नेपाल निजामति कर्मचारी संगठनको ३३ औं स्थापना दिवसको अवसरमा नवबर्ष २०८० सालको भित्तेपात्रो विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

संगठनका रुपन्देही जिल्ला अध्यक्ष प्रेमप्रसाद खनालको अध्यक्षता तथा ने.क.पा.एमालेका सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले कर्मचारीहरुले नागरिक सेवालाई थप सहज र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।

संघीयता कार्यान्वयनसँगै अधिकार र सेवा विकेन्द्रित भएको अवस्थामा नागरिकले पाउने सेवालाई थप प्रभावकारी बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने उनीहरुको जोड थियो । लामो इतिहास भएको नेपाल निजामति कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुको देशका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै प्रमुख अतिथि विश्वकर्माले जनताले अनुभुत हुनेगरी सहज सेवा प्रवाह गर्न कर्मचारीहरुलाई सुझाव दिए ।

संगठनका केन्द्रीय सदस्यहरु दिपक शर्मा पौडैल, काशिराम आचार्य, नारायण प्रसाद भण्डारी लगायतले देश संघीयतामा गईसकेको करिब एक दशक पुग्नै लाग्दा समेत प्रशासनिक संघीयता कार्यान्वयन गर्ने संघीय निजामती सेवा ऐन जारी नहुँदा कर्मचारीहरुले बदलिदो परिस्थितिमा कहाँ पुग्ने र कसरी काम गर्ने भन्ने विषयमा अन्यौलता सिर्जना भएको भन्दै पेशागत अधिकारका लागि पनि एकजुट हुनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा बोल्दै पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य रमेश प्रसाद पाण्डेले अहिलेसम्मका आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिको रक्षा गर्न कर्मचारीलगायत सबै एकजुट हुनुपर्ने बताएका थिए । कर्मचारीका पेशागत सुरक्षाका विषयमा देखिएका अन्यौलता हटाउने गरी कानुन निर्माण गर्ने उल्लेख गर्दै उहाँले आवस्यक सुझावका लागि सबै कर्मचारीहरुलाई आग्रह गरेका थिए ।

नेकपा एमालेका रुपन्देहीका जिल्ला कमिटी सदस्य मेघदेव पन्त आधिकारीक ट्रेड युनियन रुपन्देहीका अध्यक्ष हरिप्रसाद खनाल, नेपाल निजामती कर्मचारी संगठन लुम्विनी प्रदेशका महासचिव नेत्रप्रसाद आचार्य, स्वास्थ्यकर्मी महासंघ रुपन्देहीका अध्यक्ष रामेश्वर ढकाल राष्ट्रसेवक बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष शालिकराम पाण्डे लगायतले बोलेका थिए ।

स्थापना दिवसको अवसरमा नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति रुपन्देहीले प्रकाशन गरेको २०८० सालको भित्तपात्रो विमोचन गरीएको थियो । उपाध्यक्ष ठानेश्वर वस्यालको स्वागत तथा सचिव जीवन पौडेलको सञ्चालनमा कार्यक्रममा सम्पन्न भएको थियो ।