मासिँदै जलस्रोत, बढ्दै सङ्कट

पानी पुनर्भरण गरौँ, जलाशय संरक्षण गरौँ, जलस्रोत जोगाउँदै भविष्य बचाऔँ

मेचीकाली संवाददाता

८ मंसिर २०८३, सोमबार
1 shares

अमृत गिरी

कुनै समय माछाका विभिन्न प्रजातिले भरिभराउ हुने तिनाउ नदी अहिले आफ्नै अस्तित्व जोगाउने चुनौतीमा छ । नदीको प्राकृतिक बहाव खुम्चिँदै गएको छ, माछाका रैथाने प्रजाति घटेका छन् र पानीका मुहानसमेत संकटमा पर्दै गएका छन् । एकातिर जलवायु परिवर्तनको जोखिम बढ्दो छ भने अर्कोतिर नदीजन्य पदार्थको अनियन्त्रित दोहन, प्रदूषण र प्राकृतिक स्रोतको विनाशले तिनाउको भविष्यलाई थप जोखिममा पारेको छ । यो केवल एउटा नदीको सङ्कट होइन, बुटवल र आसपासका बस्तीको खानेपानी, कृषि, जैविक विविधता र समग्र पर्यावरणीय सुरक्षासँग जोडिएको गम्भीर प्रश्न हो ।

नदीको प्राकृतिक बहाव प्रभावित भएको छ,नदीजन्य पदार्थको दोहन बढेको छ र प्रदूषणका कारण जलचरको बासस्थान सङ्कटमा परेको छ । एकातिर जलवायु परिवर्तनका असरहरु गम्भी र डरलाग्दा बनिरहेका छन्, छिटो छिटो देखिने गरेका छन् भने अर्कोतिर मानवीय क्रियाकलापले पनि वातारणमा असर पारिरहेको छ । जलवायु परिवर्तनका असरकै कारण हिमाली क्षेत्रबाट सङ्कट सुरु भएको छ । त्यसका पछिल्ला घटना भोटेकोशी, त्रिशुली, कालीगण्डकी नदी क्षेत्रमा आएको प्रलयलाई लिन सकिन्छ । हिमाली भेगबाट बगेर आउने नदीमा जोखिम बढिरहेको छ ।
यताको यो तिनाउ नदी हिमाली भेगबाट बगेर आउने त होइन तर अग्ला अग्ला र भिराला पाखाहरुबाट बग्ने नदी कतै पहिरो गएर थुनिने र एकैपटक फुटेर बगेमा तल्लो तटमा क्षति भयानक हुनसक्छ । त्योभन्दा गम्भीर कुरा त यो नदीबाट सिर्सिने पानीका स्रोतहरु मासिने र भासिने भइरहेकाले भविष्यमा यसक्षेत्रमा पिउने पानीको चरम हाहाकार हुने निश्चित छ । यो जोखिमलाई कम गर्न बेलैमा सावधानीसहितका विशेष कार्यक्रमको खाँचो छ ।

तिनाउमा माछाका प्रजाति घट्दै जानु अर्को गम्भीर सङ्केत हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका मत्स्य विकास अधिकृत शेभाखर पाण्डेका अनुसार विगतमा तिनाउ खोलामा ३६ प्रकारका रैथाने माछा पाइन्थे । पछिल्लो अध्ययनले यो संख्या घटेर २४ प्रकारमा सीमित भएको देखाएको छ । अर्थात्, कुनै समय नदीमा पाइने माछाका १२ प्रजाति पछिल्लो अध्ययनमा भेटिएका छैनन् । यो तथ्यले तिनाउको जलीय जैविक विविधतामा आएको परिवर्तन र प्राकृतिक स्रोतको संरक्षणमा देखिएको कमजोरीलाई उजागर गर्छ ।

भुरा छोडेर मात्रै संरक्षण सम्भव छैन
विश्व मत्स्य दिवसको अवसरमा रुपन्देहीका नदी तथा पोखरीमा २५ हजार रौँ र नैनी जातका माछाका भुरा छोडिएको छ । तिनाउ खोलामा २२ हजार, सियारी गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयको पोखरीमा दुई हजार र पब्लिक माध्यमिक विद्यालयको पोखरीमा एक हजार भुरा छोडिएको हो । प्राकृतिक जलाशयमा माछाको संख्या बढाउने र जलीय जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम सकारात्मक छ । रुपन्देहीमा विगत ११ वर्षदेखि यस्तो कार्यक्रम सञ्चालन हुँदै आएको छ । यसले माछाको संरक्षणप्रति सरकारी निकाय र सरोकारवालाको चासो देखाउँछ तर माछाका भुरा छोड्नु संरक्षणको एउटा उपाय मात्रै हो । भुरा छोडिएका जलाशयमा पर्याप्त पानी, अनुकूल वातावरण, आहार र सुरक्षित बासस्थान भएन भने ती माछा हुर्कन र प्रजनन गर्न सक्दैनन् । त्यसैले भुरा छोड्ने कार्यक्रमसँगै नदी तथा पोखरीको प्राकृतिक अवस्था सुधार गर्नु आवश्यक छ । माछाको प्रजनन समय र क्षेत्रलाई संरक्षण गर्ने, अवैध तथा विनाशकारी माछा मार्ने प्रवृत्ति रोक्ने र जलाशयमा प्रदूषण हुन नदिने काम पनि उत्तिकै महत्वपूर्ण छन् ।

नदीको दोहन र प्रदूषणले बढाएको सङ्कट
तिनाउ नदीका बारेमा लामो समयदेखि अध्ययन गर्दै आएका इन्जिनियर डा.खेटराज दाहालले पानीका प्राकृतिक स्रोत जोगाउनलाई बुटवल क्षेत्रमा तिनाउ, सुखौरासहितका अरु ससाना खोल्सीहरुको संरक्षण जरुरी रहेकोमा जोड दिँदै आएका छन् । उनले यसबारेमा शृंखलाबद्ध लेखसमेत बनाएका थिए । अहिले तिनाउको जलचर क्षेत्र सङ्कटमा छ ।
मत्स्य शुद्ध नश्ल स्रोत कार्यालय रुपन्देहीका प्रमुख रमेश जैशवालका अनुसार बाढी, पहिरो, नदीजन्य पदार्थको अत्यधिक दोहन र पानीका स्रोत सुक्दै जानु माछाको संख्या घट्नुका प्रमुख कारण हुन् । त्यसमाथि बजार तथा उद्योगबाट निस्कने रासायनिक पदार्थ, ढल र प्लास्टिकजन्य फोहोर सिधै खोलामा मिसाउँदा जलचरको बासस्थान प्रभावित भइरहेको छ ।

नदीमा पानीको बहाव घट्नु, नदीको प्राकृतिक संरचना बिग्रनु र पानीमा प्रदूषक पदार्थ मिसिनुले माछाको प्रजनन चक्रमा असर पार्छ । जलचरका लागि आवश्यक अक्सिजन र उपयुक्त वातावरणमा समेत प्रतिकूल प्रभाव पर्छ । नदीमा माछा मात्रै होइन, अन्य सूक्ष्म जलचर र वनस्पतिसमेत एकअर्कामा निर्भर हुन्छन् । एउटा पक्षमा आएको असन्तुलनले समग्र जलीय पारिस्थितिक प्रणाली प्रभावित हुन्छ ।
यसैले नदीजन्य पदार्थको उत्खननलाई वैज्ञानिक र वातावरणमैत्री बनाउनुपर्छ । नदीको बहाव क्षेत्र, गहिराइ र प्राकृतिक संरचनालाई ध्यान नदिई गरिने दोहन तत्काल रोक्नुपर्छ । बजार र उद्योगबाट निस्कने ढल तथा रासायनिक फोहोर प्रशोधन नगरी नदीमा मिसाउन दिनुहुँदैन । स्थानीय तह, उद्योगी, व्यवसायी र समुदाय सबैले प्रदूषण नियन्त्रणको जिम्मेवारी लिनुपर्छ ।

तिनाउलाई सदुपयोगको आधार बनाऔँ
पाल्पाबाट उम्रेर र बग्दै आएको र बीचमा ससाना अरु धेरै खोल्सा, खोलाहरु मिसिएर तिनाउ नदी बनेको छ । यो नदीले बुटवललाई बीचबाट चिरेर बगेको छ र बग्दै बग्दै रुपन्देहीका अन्य पालिकाहरुसमेतलाई कनेक्ट गर्दै भारतिर पुगेको छ । यहाँको पानीलाई ऐतिहासिक नहरमार्फत सिँचाइ र परम्परागत तरिकाले पिउने पानीका रुपमा प्रयोग गरिएको छ भने नदीजन्य अन्य सामाग्रीको दोहन भइरहेको छ ।

तिनाउ नदी रुपन्देहीको महत्वपूर्ण प्राकृतिक सम्पदा हो तर यसको उपयोग र संरक्षणबिच सन्तुलन कायम हुन सकेको छैन । नदीजन्य पदार्थको दोहनबाट आर्थिक गतिविधि त बढेको हुन सक्छ, तर त्यसको दीर्घकालीन वातावरणीय मूल्यबारे पर्याप्त ध्यान दिइएको छैन । नदी भासिँदै जाने, पानीको सतह घट्दै जाने र प्राकृतिक बहाव प्रभावित हुने अवस्था कुनै पनि हिसाबले दिगो विकासको संकेत होइन ।

तिनाउलाई संरक्षण गर्दै सदुपयोग गर्ने नीति आवश्यक छ । नदीको प्राकृतिक बहाव कायम राख्ने, उत्खननका संवेदनशील क्षेत्र पहिचान गर्ने, नदी किनारको संरक्षण गर्ने र जलचरका लागि सुरक्षित क्षेत्र निर्धारण गर्ने काम योजनाबद्ध रूपमा गर्नुपर्छ । नदीमा आश्रित समुदायको जीविकोपार्जनलाई समेत संरक्षण योजनासँग जोड्नुपर्छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ रुपन्देहीका प्रमुख शालिकराम पौडेलका अनुसार माछाको संख्या घट्दा नदीमा माछा मारेर जीविकोपार्जन गर्ने समुदायसमेत प्रभावित भएका छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै माछा भएकाले प्राकृतिक जलाशयको संरक्षण उनीहरूको जीवनसँग जोडिएको छ । यसले वातावरण संरक्षण केवल प्राकृतिक सम्पदा जोगाउने विषय मात्र नभई सामाजिक न्याय र आर्थिक सुरक्षाको विषय पनि हो भन्ने देखाउँछ ।

पानीका प्राकृतिक स्रोत जोगाऔं
प्राकृतिक जलाशय र पानीका स्रोतको संरक्षणलाई माछा उत्पादनमा मात्र सीमित गरेर हेर्न मिल्दैन । यसको प्रत्यक्ष सम्बन्ध कृषि उत्पादन, खाद्य सुरक्षा र स्थानीय अर्थतन्त्रसँग छ । नेपालमा ताजा पानीका प्राकृतिक स्रोतहरू विभिन्न कारणले नासिँदै, मासिँदै र भासिँदै गएका छन् । कतिपय क्षेत्रमा भूमिगत पानीको सतह घटिरहेको छ भने कतिपय स्थानमा वर्षाको पानी सञ्चय गर्ने प्राकृतिक संरचना नष्ट भइरहेका छन् ।

यसलाई रोक्न राज्यले जलाशय संरक्षण तथा विस्तारका लागि एकीकृत योजना बनाउनुपर्छ । पानीका प्राकृतिक स्रोतको पहिचान र संरक्षण गर्ने, भूमिगत जलभण्डार पुनर्भरण गर्ने, वर्षाको पानी संकलन गर्ने, सिमसार क्षेत्र जोगाउने र सिँचाइको पहुँच विस्तार गर्ने कामलाई प्राथमिकतामा राख्नुपर्छ । नदी तथा खोलाको प्राकृतिक बहाव कायम राख्दै पानीको बहुउपयोग गर्न सक्ने संरचना विकास गर्नुपर्छ ।
विशेषगरी तराई क्षेत्रमा भूमिगत पानीको पुनर्भरण र सिँचाइ व्यवस्थापन महत्वपूर्ण छ । पानीको उपलब्धता बढाउन सके वर्षमा एकभन्दा बढी बाली लगाउन सकिन्छ । बाँझो खेतबारीलाई उत्पादनमा जोड्न सकिन्छ । कृषि उत्पादन बढेपछि आयातमा निर्भरता घटाउन र किसानको आम्दानी बढाउन मद्दत पुग्छ । त्यसैले जलाशय संरक्षणलाई कृषि विकास र आयात प्रतिस्थापनको राष्ट्रिय रणनीतिसँग जोड्नुपर्छ ।

विषादी नियन्त्रणमा भारत र किसानसँग सहकार्य आवश्यक
जलाशय र प्राकृतिक स्रोतको संरक्षणको अर्को महत्वपूर्ण पक्ष रासायनिक प्रदूषण नियन्त्रण हो । कृषि उत्पादन बढाउने नाममा विषादी र रासायनिक पदार्थको जथाभावी प्रयोगले माटो, पानी, मानव स्वास्थ्य र पर्यावरणमा असर पारिरहेको छ । खेतबारीमा प्रयोग गरिएका विषादी वर्षाको पानीसँगै बगेर खोला, नदी र जलाशयमा पुग्न सक्छन् । यसले जलचरको जीवनचक्रमा समेत प्रतिकूल असर पार्छ । यहीँ पनि धेरै ठाउँमा किसानले उत्पादन बढाउने भन्दै जभावी रसायनिक मल र विषादीको प्रयोग गरिरहेका छन् । यसलाई पनि नियमन र नियन्त्रणका कार्यक्रम बनाउन जरुरी छ ।

अर्कोतर्फ, नेपालमा भारतबाट ठुलो परिमाणमा तरकारी तथा फलफूल आयात हुने गरेको छ । आयातीत खाद्यवस्तुमा विषादीको अवशेष परीक्षण प्रभावकारी बनाउनु खाद्य सुरक्षाको अनिवार्य सर्त हो । विषादीको अवशेष धेरै भएका खाद्यवस्तु बजारमा प्रवेश गर्न नदिन सीमा नाकामा परीक्षण प्रयोगशालाको क्षमता र जनशक्ति बढाउनुपर्छ । जोखिममा आधारित नमुना परीक्षण, नियमित अनुगमन र मापदण्डविपरीत भेटिएका वस्तुको आयात रोक्ने व्यवस्था प्रभावकारी बनाउनुपर्छ ।

भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले पनि द्विपक्षीय संवादमा यो विषयलाई प्राथमिकता दिनु आवश्यक छ । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादीको सुरक्षित प्रयोग र अवशेषको मापदण्ड पालना गराउन दुवै देशबीच सहकार्य हुनुपर्छ । यो कुनै एक देशको व्यापारिक स्वार्थको विषय मात्र होइन, दुवै देशका नागरिकको स्वास्थ्य र वातावरणीय सुरक्षासँग जोडिएको विषय हो ।

नेपालले आफ्नै कृषि उत्पादनमा पनि विषादीको सुरक्षित प्रयोग सुनिश्चित गर्नुपर्छ । किसानलाई जैविक तथा एकीकृत शत्रुजीव व्यवस्थापनबारे तालिम दिने, विषादी प्रयोगको मात्रा र समयबारे जानकारी गराउने तथा उत्पादनको नियमित परीक्षण गर्ने व्यवस्था आवश्यक छ । स्वदेशी उत्पादनलाई सुरक्षित र गुणस्तरीय बनाउँदै आयातीत खाद्यवस्तुको गुणस्तरमा पनि समान मापदण्ड लागू गर्नुपर्छ ।

जनसहभागिताको आवश्यकता
प्राकृतिक स्रोतको संरक्षण सरकारको मात्रै जिम्मेवारी होइन । स्थानीय तह, उपभोक्ता, उद्योगी, किसान, व्यवसायी र समुदाय सबैको भूमिका महत्वपूर्ण हुन्छ । नदी सफाइ अभियान चलाउने, फोहोर व्यवस्थापन गर्ने, नदी किनारमा अतिक्रमण रोक्ने र जलचर संरक्षणबारे जनचेतना फैलाउने काम स्थानीयस्तरबाटै सुरु हुनुपर्छ । सरकारले भने यस्ता अभियानलाई नीतिगत, कानुनी र आर्थिक आधार दिनुपर्छ । प्राकृतिक जलाशयको नियमित अध्ययन, माछाका प्रजातिको अभिलेखीकरण, प्रदूषणको अवस्था परीक्षण र संरक्षणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्छ । नदीको अवस्था र जलचरको संख्या कस्तो छ भन्ने तथ्यांक नियमित रूपमा संकलन गर्न सके संरक्षणका कार्यक्रमलाई परिणाममुखी बनाउन सकिन्छ ।