बाल अधिकार चेतना समूहद्वारा बालबिवाह सम्बन्धी सडक नाटक प्रदर्शन

मेचीकाली संवाददाता

१४ बैशाख २०८०, बिहीबार
321 shares

सुनिल आचार्य

कपिलवस्तु । कपिलवस्तु नगरपालिका– ३ स्थित यशोधरा माविमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना तथा इन्सेकको सहयोग र वडा नम्बर ३ को समन्वयमा शिक्षा , स्वास्थ्य , वातावरण, बाल विवाह, तथा लैंगिक विभेदविरूद्ध सडक नाटक ०८० बैशाख १४ गते कपिलवस्तु नगरपालिका वडा नं. ३ को जमोहरामा सडक नाटक प्रदर्शन गरिएको छ ।

नाटकमा बाल बिवाह , शिक्षाको अधिकार , लैंगिक विभेद , जातिय विभेद , स्वास्थ्य र वातावरण लगाएतको विषयमा नाटक प्रस्तुत गरिएको थियो । उक्त नाटकमा सानो उमेरमा विवाह गर्दा बालिका शिक्षाबाट गर्न नहुने , छोरीलाई दाईजो होईन शिक्षा दिनु पर्छ लगाएतका बिषयमा समूहले नाटक मार्फत प्रस्तुत गरेका थिए ।

सडक नाटकलाई अवलोकन गर्दै कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरेले बाल बिवाह गर्नु हुँदैन छोरीलाई छोरा बराबर शिक्षा दिनु पर्नेमा जोड दिनु भयो । अभिभावकहरुले शिक्षालाई प्राथमिकता दिए बालिकाहरु बाल बिवाहको जोखिममा नपर्ने बताउनु भयो ।

समाजमा जनचेतना फैलाउने बिषयबस्तुलाई समेटेर बनाएको सडक नाटक मार्मिक भएको बताउनँदै उहाँले बाल बिवाह कुनै पनि अभिभावकले गरिदिन नहुने , शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने, जातिय विभेद , स्वास्थ्य , लैंगिक विभेद , वातावरण लगायतका बिषयमा अभियान सञ्चालन गर्दै आएको इन्सेकले विभिन्न सञ्जालहरू गठन गर्दै समाजलाई सचेतीकरण गर्नु अफैंमा महत्वपूर्ण भएको बताउनु भयो ।

अहिले पनि समाजमा बालबालिकाहरुलाई शिक्षामा विभेद गर्दै आईरहेको हुँदा यस्ता सन्देश मूलक नाटक ग्रामिण क्षेत्रमा प्रदर्शन गर्दा समाज परिवर्तनमा टेवा पुग्ने बिश्वास व्यक्त गर्नु भयो । यस्ता जनचेतना र सन्देश प्रवाह गर्ने अभियानका लागि आगामी दिनमा वडाको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

यसैगरी विद्यालयका बाल संरक्षक शिक्षक बिकास कुमार बञ्जाडेले बाल अधिकार चेतना समूहका बालबालिकाहरूले प्रदर्शन गरेको सडक नाटकले स्थानीय तथा अभिभावकहरू सचेत हुने विश्वास व्यक्त गर्नुभयो । यस्तै मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले बाल बिवाह देख्दा सामान्य देखिएता पनि यसले ठुलो रुप लिएको बताउनु भयो । परिपक्क उमेर नभई बिवाह गर्दा शारिरीक , मानसिक र शिक्षामा असर पर्ने भएको हुँदा छोरीहरुलाई शिक्षामा जोड दिन आग्रह गर्नु भयो ।

छोरा र छोरीलाई हेर्ने दृष्टिलाई परिवर्तन गर्ने लगाएतका अभियानहरुमा इन्सेकले बिभिन्न शिक्षा , स्वास्थ्य , बाल बिवाह , बहुविबाह ,जातिय विभेद , लैगिंक विभेद र वातावरण लगाएतको बिषयमा अभियानहरु संचालन हुँदै आएको बताउनु भयो ।

इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्यले इन्सेकले गर्दै आएको अभियानहरुको विषयमा जानकारी दिंदै बिद्यालय स्तरिय वाल अधिकार चेतना समूह मार्फत गरिने विभिन्न सन्देश मुलक कार्यक्रमहरुबाट सकारात्मक सन्देश जाने बताउनु भयो । यस्तै सडक नाटक अवलोकन गर्दै दर्शकहरुले यस्ता सन्देश मूलक नाटकहरुबाट समाज पविर्तन गर्न सहज हुने बताएका छन् ।

बाल अधिकार चेतना समूहका अध्यक्ष पिंकी कुर्मीको संयोजकत्वमा १२ जना समूहका टोलीले नाटक प्रदर्शनमा भाग लिएका थिए । नाटकमा म बाल बिवाह गर्दिन , बाल विवाह हुन दिंदिन र भएमा सहेर बस्दिन , शिक्षामा प्राथमिकता दिनु पर्छ भन्ने बिषयमा समूहले प्रतिवद्धता जनाएका छन् ।