बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
नेता चौधरी लुम्बनीको चौथो मुख्यमन्त्री बनेका छन् । यसअघि प्रदेशको मन्त्री भएर काम गरिसकेका र अनुभवी नेता चौधरीलाई मुख्यमन्त्रीमा लुम्बिनी प्रदेशका आठ दलका ५२ र एकजना स्वतन्त्र सांसदहरुको समर्थन रहेको छ ।
नेपाली कांग्रसेका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, जनता समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एकएक जना र एकजना स्वतन्त्र सांसदसमेत गरी ५३ जना सांसदको समर्थनमा नेता चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
विश्वासको मत गुमाउँदै नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो । मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेता चौधरी दाङको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँमा २०२६ सालमा जन्मिएका हुन् । विभिन्न अध्ययन र अवलोकनका लागि ४३ देश पुगेका चौधरीले समाजशास्त्रमा स्नातक गरेका छन् ।
२०४२ सालदेखि नै राजनीति र सामानिक सेवामा सक्रिय रहेका चौधरी २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा दाङको क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित भएका थिए । २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका नेता चौधरी संस्थापक मुख्यमन्त्री तथा एमालेका महासचिव शंकर पोखरेलको पालामा लेखा समितिको सभापतिको जिम्मेवारी निर्वाह गरेका थिए । पोखरेलपछि मुख्यमन्त्री भएका माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा चौधरी ग्रामीण, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएर काम गरेका थिए ।
लुम्बिनीमा यसअघि गत २७ पुसमा ५८ जना सांसदको समर्थनसहित एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत १२ चैतमा माओवादी केन्द्रसहितका दलले समर्थन फिर्ता लिएपछि गिरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । गत ११ बैशाखमा पुनः बिस्वासको मत लिएका नेता गिरीले बिस्वासको मत नपाएपछि स्वतः पदमुक्त भएका थिए ।