रुपन्देहीमा ४५ हजार घुस रकमसहित इन्जिनियर पक्राउ

मेचीकाली संवाददाता

२१ असार २०८०, बिहीबार
186 shares
सांकेतिक तस्वीर

बुटवल । रुपन्देहीमा ४५ हजार घुससहित एकजना इन्जिनियर रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्दकुमार यादव रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार यादवले कोटहीमाई गाउँपालिका वडा नम्बर ७ अन्तर्गतको सडक पिसिसि र ग्रावेल गर्ने कामको नापजाँचपश्चात भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस मागेका थिए ।

घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले इन्जिनियर यादवलाई सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।

घुससहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।