पार्टी निर्माणमा योगदान गर्न ओलीको आह्वान

मेचीकाली संवाददाता

१ भाद्र २०७८, मंगलवार
575 shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुशासित, एकतावद्ध एवम् गतिशील तुल्याउनका लागि भूमिका खेल्न सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुलाई आह्वान गरेका छन् । पार्टीका स्थायी कमिटी, केन्द्रीय कमिटी लगायत आफू सम्वद्ध कमिटीका बैठकमा सरिक हुन र आ–आफ्नो तहबाट पार्टी निर्माणमा योगदान गर्न ओलीले गएराति एक विज्ञप्तिमार्फत आह्वान गरेका हुन् ।

ओलीले ०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पनि नेपाल कम्युनिष्ट पार्टीलाई एकतावद्ध राख्न हरसम्भव कोसिस गरेको स्मरण गर्दै त्यो सम्भव नभएपछि एमालेलाई नेकपाको विरासत सहितको एकीकृत पार्टीका रुपमा विकास गर्न केन्द्रित रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । यस क्रममा पार्टीभित्र उत्पन्न समस्याको समाधानका लागि कार्यदल गठन गरिएको र कार्यदलले निकै लामो प्रयासपछि गत असार २७ गते १० बुँदे प्रस्ताव प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

ओलीले साउन १ गते सम्पन्न पार्टी स्थायी कमिटीको बैठक र साउन ४–७ मा सम्पन्न केन्द्रीय कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधानका लागि महत्वपूर्ण आधारका रुपमा रहेको उक्त प्रस्तावलाई ग्रहण र अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरिसकेको पनि बताएका छन् ।

‘सयौं सहिदहरुको बलिदान, हजारौं नेता तथा कार्यकर्ताको कष्टसाध्य संघर्ष, लाखौं सदस्यको मेहनत तथा जनसंख्याको अत्यधिक ठूलो हिस्साको समर्थनमा निर्माण र विकसित भएको यो पार्टी आफैंमा सामाजिक, न्याय र विकासको पर्याय बनेको छ । पार्टीभित्र लोकतान्त्रिक र न्यायपूर्ण प्रणाली आत्मसात गरेर मात्र सामाजिक न्याय र अग्रगतिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने मेरो विश्वास छ’, ओलीले भनेका छन्, ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरूप्रति विभेद र पूर्वाग्रहमा होइन, कमरेडली समभावमा विश्वास गर्दछु । सबैलाई सम्मानका साथ पार्टी कामका जुट्ने अनुकूल परिस्थिति निर्माण हुनु पर्दछ भन्ने मान्दछु ।’

पार्टीको सामु विधान, मुलुकको संविधान र कानुनी व्यवस्था बमोजिम विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन आयोजना गर्ने जिम्मेवारी रहेको बताउँदै ओलीले यस बीचमा विधान संशोधनका लागि पार्टीका सबै तहका कमिटी र सदस्यहरुलाई सुझाव पठाउन निर्देशन गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘मैले विधान संशोधनका सम्बन्धमा सबै तहका कमिटी र पार्टी सदस्यहरु माझ जीवन्त र रचनात्मक ढंगले छलफल हुने अपेक्षा गरेको छु । जनताको बहुदलीय जनवादको सिद्धान्त र पार्टी जीवनको लोकतन्त्रिकरणको मर्म अनुरुप विधान महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने छ । विधान संशोधनको प्रक्रियामा आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण कमरेडहरुलाई हार्दिक आग्रह गर्दछु ।’

ओलीले पार्टी सत्ता पक्षबाट प्रतिपक्षमा परिवर्तित भएको उल्लेख गर्दै पुनः राष्ट्रिय राजनीतिको नेतृत्वदायी शक्तिमा स्थापित हुनका लागि सक्रियतापूर्वक लाग्न पनि सबै नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।