बुटवल । बुटवलमा भोलि (शुक्रबार) देखि पाँचदिने खाना महोत्सव हुने भएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले बुटवलको देवीनगरस्थित रंगशाला (खुला मञ्च) मा महोत्सव आयोजना गर्न लागेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा विकास गर्नुका साथै नेपाली कला, संस्कृति र मौलिक खानाका परिकारको प्रचारप्रसार एवं बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष माधवकुमार खनालले बताए ।
उनका अनुसार मंसिर १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न प्रकृतिका ५० वटा स्टल रहनेछन् । तीमध्ये जातीय परिकारअन्तर्गत थारू समुदायका तीन, नेवारी परिकारका चार, मगर परिकारका चार र क्लब तथा समूहका छवटा स्टल रहनेछन् । त्यस्तै, विभिन्न रेस्टुरेन्ट, पार्टी प्यालेस, क्याफे तथा विद्यालय र कलेजका स्टलसमेत रहनेछन् । संघले बुटवलमा २०७६ सालदेखि हरेक वर्ष खाना महोत्सव आयोजना गर्दै आएको छ । यस वर्षको महोत्सवलाई विगतभन्दा फरक स्वरूप र शैलीमा सञ्चालन गर्न लागिएको अध्यक्ष खनालले बताए । व्यवसायी, स्थानीयवासी तथा सडक प्रयोगकर्तालाई कुनै समस्या नहुने गरी यस वर्ष खुला मञ्चमा महोत्सव आयोजना गरिएको उनले जानकारी दिए ।
महोत्सवमा सामान्य होटल तथा रेस्टुरेन्टदेखि पाँचतारे होटलसम्मका विभिन्न स्वाद, गुणस्तर र शैलीका खानाका परिकार एउटै स्थानमा उपलब्ध गराइने छ । सबै उमेर समूह तथा आर्थिक अवस्थाका उपभोक्ताको पहुँच सुनिश्चित गर्न परिकार सहुलियत दरमा उपलब्ध गराइने अध्यक्ष खनालले बताए । महोत्सवमा निःशुल्क प्रवेश तथा खानाका परिकारमा १० प्रतिशत छुटको व्यवस्था गरीएको छ ।
महोत्सवमा मौलिक खानाका परिकारको स्वादसँगै हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ । यस्तै विद्यालयस्तरीय नृत्य प्रतियोगिता र बाल उद्यानलगायत मनोरञ्जनात्मक गतिविधिसमेत सञ्चालन गरिने संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले जानकारी दिए । महोत्सव अवधिभर दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब एक करोड ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको संघका महासचिव केशवराज कँडेलले बताए ।
महोत्सव सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, टेन्ट तथा अस्थायी संरचना, विद्युत्, खानेपानी, शौचालय, सरसफाइ, सुरक्षा र सांस्कृतिक कार्यक्रम व्यवस्थापनमा ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको संघका कोषाध्यक्ष अर्जुन पोखरेलले बताए । महोत्सवको उद्घाटन शुक्रबार दिउँसो ४ बजे बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले गर्ने कार्यक्रम रहेको छ । उद्घाटनको पूर्वसन्ध्यामा संघको सचिवालय बुटवल–९ बाट विभिन्न जातजातिको सांस्कृतिक पहिचान झल्किने झाँकीसहित ¥याली निकालिने संघका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेले बताए ।
महोत्सवलाई सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न ३५ वटा विषयगत उपसमिति गठन गरिएको छ । महोत्सवको संरक्षक बुटवल उपमहानगरपालिका तथा प्रवद्र्धक वन, वातावरण तथा पर्यटन मन्त्रालय र पर्यटन विकास परिषद्, लुम्बिनी प्रदेश रहेका छन् । महोत्सवको मुख्य प्रायोजक एक्सट्रिम इनर्जी ड्रिंक्स रहेको छ भने विभिन्न कम्पनीले समेत सहकार्य गरेका छन् ।

