दिवाकर स्मृति प्रतिष्ठानद्वारा ‘उज्यालो युरोप’ विमोचन तथा शिक्षा सेवा पुरस्कार प्रदान

मेचीकाली संवाददाता

१२ मंसिर २०८३, शुक्रबार
6 shares

बुटवल । दिवाकर स्मृति प्रतिष्ठान नेपालले स्वर्गीय केशव ज्ञवालीद्वारा लिखित नियात्रासंग्रह ‘उज्यालो युरोप’ विमोचन गर्नुका साथै दिवाकर स्मृति शिक्षा सेवा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । युगद्रष्टा दिवाकर ज्ञवालीको ४३ औँ स्मृति दिवसका अवसरमा शुक्रबार बुटवलमा आयोजित समारोहमा पुस्तक विमोचन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले ज्ञवाली दाजुभाइले शैक्षिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा पु¥याएको योगदान नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको बताए । उनीहरुले देखाएको सत्कर्मको बाटोमा नयाँ पुस्ता हिँड्नुपर्नेमा उनले जोड दिए । ‘आजका नयाँ पुस्ता उहाँहरूले देखाउनुभएको सत्कर्मको बाटोमा हिँड्न जरुरी छ । उहाँहरूले शैक्षिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा पु¥याएको योगदान बिर्सनु हुँदैन ।’ श्रेष्ठले भने ।

कार्यक्रममा लेखक हरि ज्ञवालीले विमोचित कृति ‘उज्यालो युरोप’ को समीक्षा गरेका थिए । उनका अनुसार १४४ पृष्ठको पुस्तकमा १५ अध्याय समेटिएका छन् । पुस्तकमा आधुनिक युरोपको विकास, राजनीति र समग्र जनजीवनलाई प्रस्तुत गर्दै युरोप र नेपालको अवस्थाबिच तुलना गरिएको छ । ‘उज्यालो युरोप’ युरोप भ्रमणको सामान्य विवरणमा मात्र सीमित नभई यात्रा, समाज, विकास, इतिहास र मानवीय सम्बन्धलाई संवेदनशील दृष्टिले प्रस्तुत गरिएको नियात्रासंग्रह हो । पुस्तकमा नर्वे, जर्मनी, चेक गणतन्त्र, फ्रान्स र बेल्जियमका दृश्यसँगै त्यहाँको सामाजिक संरचना, अनुशासन, विज्ञान तथा प्रविधि र नागरिक जीवनलाई नेपालको यथार्थसँग तुलना गरिएको छ ।

प्रतिष्ठानकी सदस्य तथा कृतिका लेखक ज्ञवालीकी जेठी छोरी डा.मञ्जु शर्माले वि.सं. २०६८ सालमा बुबाले तीन महिना नर्वे बसाइका क्रममा युरोपका विभिन्न देश तथा सहर घुम्दा दैनिक रूपमा देखेका र अनुभव गरेका विषयलाई पुस्तकमा समेटेको बताइन् । लेखक ज्ञवालीका छोरा डा.विदुर ज्ञवालीले बुबाको निधनपछि रोकिएको कृति विमोचनसँगै उहाँको एउटा सपना साकार भएको बताए ।

प्रतिष्ठानका संरक्षक तथा दिवाकर ज्ञवालीका जेठा छोरा डा.मेघराज ज्ञवालीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर प्रतिष्ठानमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । प्रतिष्ठानका अध्यक्ष भोजराज ज्ञवालीले प्रतिष्ठानको अभियानमा साथ र सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सामाजिक तथा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

सोही अवसरमा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको दिवाकर स्मृति शिक्षा सेवा पुरस्कारबाट गुल्मीको ग्वादी माध्यमिक विद्यालयका प्रधानाध्यापक चुरामणि बराल पुरस्कृत भए । शिक्षा तथा सामाजिक सेवामा योगदान पु¥याएको भन्दै शैक्षिक व्यक्तित्व बाबुराम खनाललाई सम्मान गरिएको थियो । यसैगरी रोल्पाको गंगादेव गाउँपालिकालाई तीन थान स्ट्रेचर प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव तथा ‘आरोग्य मार्ग’ पुस्तकका लेखक तीर्थराज ज्ञवाली, नेपाल औषधी व्यवसायी संघका पूर्वअध्यक्ष बाबुराम भट्टराई, ग्वादी माविका प्रअ चुरामणि बराललगायतले प्रतिष्ठानले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।
दिवाकर ज्ञवालीका पाँच छोरा डा.मेघराज, वेदराज, दिव्यराज, भोजराज र शिव तथा तीन छोरी बिन्दु, शान्ता र कोपिला छन् ।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको प्रतिष्ठानले गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले हरेक वर्ष विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर, निःशुल्क औषधी वितरण, दन्त सेवा, विद्यार्थीलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठानका सदस्य तथा दिवाकरका कान्छा छोरा शिव ज्ञवालीले बताए । कार्यक्रममा साहित्यकार रञ्जु गौतमले कविता प्रस्तुत गरेकी थिइन् । प्रतिष्ठानका सदस्य तथा साहित्यकार रुद्र ज्ञवालीले कार्यक्रम सञ्चालन गरेका थिए ।