पार्वती आचार्य
कपिलवस्तु । प्रहरीले कपिलवस्तुबाट स्रोत नखुलेको ४८ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
कपिलवस्तु नगरपालिकास्थित नयाँ टोलबाट मंगलबार साँझ सुनिलकुमार गुप्तालाई २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार ९२० भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।
गुप्ताको साथबाट कुल ४८ लाख ५ हजार १२७ रुपैयाँ बरामद गरिएको हो । स्थानीय रामदेव बर्माको घर भाडामा लिएर अबैध रुपमा भारतीय रुपैयाँको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेर खानतलासी गर्दा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी प्रमुख उप बस्नेतले बताए ।
पक्राउ परेका गुप्तालाई थप अनुसन्धान गर्न रकमसहित बुधबार राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने प्रहरीले जनाएको छ ।