बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा

मेचीकाली संवाददाता

१४ श्रावण २०८०, आईतवार
316 shares

बुटवल । पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान ड्यामसाइड क्षेत्रमा ढुंगा र लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

पहिरोले सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फको प्रवेश विन्दुको रिबमा क्षतिसमेत पुर्याएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । सडकमा सवारीको लाइन लामो भएपछि केहिसमय अघिबाट एकतर्फी रुपमा सवारी सञ्चालन गरिएको दोभान प्रहरी चौकीले जनाएको छ । पहिरो हटाउने काम भने अझै बाँकी नै रहेको छ ।

सडक सुचारु भएसँगै बिच बाटोमै रोकिएका सवारी साधन गन्तव्यमा जान हिँडेका छन् । बुटवल–पाल्पा सडकखण्डको यो क्षेत्रमा हरेक वर्षायाममा निरन्तर पहिरो बग्दै आएको छ । पहिरो झरिरहने भएकाले बुटवलदेखि झुम्सासम्मको सडकलाई असुरक्षित मानिन्छ ।

यहाँ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । अहिलेपनि लगातार पानी परेकाले पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।