कपिलवस्तुमा महिलाको नाममा भू–स्वामित्व बढ्दै

मेचीकाली संवाददाता

१७ श्रावण २०८०, बुधबार
406 shares

पार्वती आचार्य

कपिलवस्तु । पछिल्लो समय कपिलवस्तुमा महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको छ । मालपोत कार्यालय कपिलवस्तुबाट गत आर्थिक वर्षमा ५ हजार ८४ जना महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । रजिष्टेशन पासमा छुट पाउने प्रावधान आएपछि महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको मालपोत कार्यालय कपिलवस्तुले जनाएको छ ।

आ.व.०७९/०८० मा ५ हजार ८४ जना महिलाको नाममा जग्गा पास हुँदा १ करोड ८४ लाख १४ हजार १ सय ६ रुपैयाँ राजश्व छुट पाएका छन् । आ.व. ०७८/०७९ मा ५ हजार १ सय ५५ जना महिलाको नाममा जग्गा पास भई १ करोड ५८ लाख ६७ हजार ३ सय ६ रुपैयाँ छुट पाएका थिए । यस्तै आ.व. ०७७/०७८ मा ५ हजार ४ सय ३५ जना महिलाको नाममा जग्गा पास भएको थियो । सोबापत उनीहरुले १ करोड ८५ लाख ९८ हजार ९ सय ६० रुपैयाँ छुट पाएको भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख ऋषिराम पौडेलले बताए ।

यस्तै आर्थिक वर्ष ०७९/०८० मा ७ सय ५६ जना दलितको नाममा जग्गा रजिष्ट्रेसन पास भएको छ । दलितले जग्गा किन्दा रजिस्ट्रेशनको ५० प्रतिशत छुट पाउने प्रावधान छ । त्यसबापत दलितहरुले ४८ लाख ३२ हजार ३ सय ३५ रुपैयाँ छुट पाएका छन् । ७० वर्ष नाघेका ६७ ज्येष्ठ नागरिको नाममा समेत जग्गा पास भएको छ । जसमा २ लाख ३६ हजार ३ सय ४० रुपैयाँ राजस्व छुट (२५ प्रतिशत छुट) पाएका हुन् ।

२१ जना नाबालकको नाममा समेत जग्गा पास भएको छ । जसबाट २५ प्रतिशत छुट सहुलियत पाएका छन् । सोबापत उनीहरुले ५३ हजार ९ सय ७५ छुट पाए । यसैगरी ५१ वटा उद्योगले ७५ प्रतिशत छुट पाएका छन् । सोबापत १८ लाख ८९ हजार ८ सय १५ रुपैयाँ छुट पाएका हुन् । ३ जना अपाङ्गले २५ प्रतिशतबापतको ४० हजार ६ सय छुट पाएका छन् । अन्य १५ जनाले ६ लाख १६ हजार १ सय ८५ रुपैयाँ छुट पाएको मालपोत अधिकृत देवीलाल विकले बताए ।

सरकारले एक दशकभन्दा अगाडिदेखि महिलाको नाममा जग्गा रजिस्ट्रेशन पास गराउनेलाई राजश्वमा विशेष छुटको व्यवस्था गरेपछि जिल्लामा महिलाको नाममा उल्लेखनीय रुपमा भू–स्वामित्व बढेको हो । जग्गा किन्दा लाग्ने रजिष्ट्रेसन शुल्कमा सरकारले २५ प्रतिशत छुटको सहुलितय दिएपछि सोको लाभ लिन घरपरिवारले महिलाको नाममा धमाधम जग्गा पास गराउन थालेका हुन् ।

सरकारले २५ प्रतिशतको प्रावधान नदिँदासम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास गराइन्थ्यो । अहिले भने धमाधम महिला कै नाममा जग्गा पास भइरहेको छ र महिलाहरुकै बढी भिडभाड हुने भूमिसधार तथा मालपोत कार्यालय तौलिहवाका प्रमुख पौडेलले बताए । महिलाको नाममा राजश्व छुट दिएपछि महिलाहरुको नाममा जग्गाको स्वामित्व बढ्दै गएको उनको भनाइ छ ।

सरकारले दिएको पच्चिस प्रतिशत छुटको प्रावधानलाई वरिष्ट महिला मानव अधिकारकर्मी पुष्पा रेग्मीले सराहनीय र महिलाका लागि खुशीको कुरा भएको बताइन् । पहिला महिलाको नाममा जग्गा दर्ता गर्न पुरुषहरु एकदमै आनाकानी गर्थे तर छुटको व्यवस्था लागू भएपछि धमाधम महिलाको नाममा जग्गा दर्ता गराउन थालेको अधिकारकर्मी रेग्मीको भनाइ छ । महिलाको नाममा जग्गाको स्वामित्वत प्राप्त भए पनि किनबेचमा भने पुरुषहरुको नै हाबी हुने गरेको छ । कागजमा अधिकार पाएको देखिए पनि प्रयोगमा भने पुरुषहरुकै हावी रहेको वरिष्ठ महिला मानव अधिकारकर्मी रेग्मीको भनाइ छ ।

दलित महिला संघकी अध्यक्ष माया नेपालीले राजश्व छुटकालागि महिलाहरुलाई प्रयोग गरिन्छ महिलाको नाममा लालपुर्जा आए पनि महिलाहरुले पूर्ण रुपमा अधिकार प्राप्त गर्न नपाएको बताइन् । ‘उनीहरुले आफ्नो नाममा रहेको जग्गा जमिन बेचबिखन गर्ने अधिकारसमेत छैन, घरपरिवारले राजश्व छुट गराउनका लागि मात्र महिलालाई प्रयोग गरेका छन् । रजिष्ट्रेसन पास नहुँदासम्म महिलाको हातमा हुन्छ, त्यपछि पुरुषको झोलामा लालपुर्जा सुरक्षित रहन्छ, सोपश्चात महिलाले उक्त जग्गा बिक्री गर्नु परेमात्र देख्न पाउँछन,’ दलित महिला संघकी अध्यक्ष तथा महिला अधिकारकर्मी नेपालीले भनिन् ।

आर्थिक वर्ष ०७९/०८० मा भूमिसुधार तथा मालपोत कार्यालयमा कुल २२ करोड ५ लाख ३३ हजार ८ सय ११ रुपैयाँ राजस्व संकलन भएको छ । जसमध्ये पुँजीगत लाभकर ५ करोड ९५ लाख ३७ हजार ९८ रुपैया रहेको छ । आ.व. ०७९/०८० मा कुल ९ हजार ४ सय २९ राजीनामा पास भएको मालपोत अधिकृत विकले बताए ।