‘अब मलाई नखोज्नू’ भन्ने सन्देश पठाएर सम्पर्कविहीन भए बुटवलका औषधि व्यवसायी ढकाल

मेचीकाली संवाददाता

६ भाद्र २०८०, बुधबार
632 shares

बुटवल । बुटवलका औषधि व्यवसायी गंगाप्रसाद ढकाल गत आइतवारदेखि सम्पर्कविहीन भएका छन् । लामो समयदेखि बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरिरहेका ५३ वर्षीय ढकाल शनिबार दिउँसो घरबारबाट हिँडेका थिए ।

मोबाइल र घडी समेत घरमा छाडेर गएका ढकाल सम्पर्कविहिन भएपछि परिवारले प्रहरीमा खबर गरेका थिए । शनिबार साँझ चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसेको खुलेपनि त्यसपछि ढकाल कहाँ गए केही पत्तो नभएको परिवारले जनाएको छ ।

आइतवार बिहान आफूलाई अब नखोज्नू भन्ने सन्देश पठाएको उनका आफन्त बताउँछन् । ढकाल आइतबार साँझ पछिल्लो पटक नारायणी नदीको पुलमा देखिएको प्रहरीले जनाएको छ । त्यसपछि भने उनी कहाँ गए सीसीटीभीले समेत देखाएको छैन । त्यही समय आसपास पुलबाट एक जनाले हाम फालेको सूचना गैंडाकोट प्रहरीमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले २ जना युवतीले एक जना पुरुष पुलबाट हाम फालेको भनी गैंडाकोट प्रहरीमा सूचना दिएको र त्यही सूचनाका आधारमा अहिले हाम फाल्ने व्यक्तिको खोजी भइरहेको बताए ।

नदीमा हाम फाल्ने व्यक्ति ढकाल नै हुन भन्ने पुष्टि नभए पनि नारायणगढबाट गैंडाकोटतर्फ गएका ढकाल गैंडाकोट पुगेको नदेखिएकोले उनै हुन सक्ने अनुमान गरिएको कार्कीले बताए ।