पार्वती आचार्य
कपिलवस्तु । अन्तरपुस्ता सिकाई आदान प्रदानकालागि अन्तरपुस्तासँग संवाद कार्यक्रम कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । कार्यक्रममा किशोरीहरुले पुराना पुस्ताहरुबाट नयाँ पुस्ताहरुलाई सहयोग नभएको गुनासो गरेका छन् । पुराना पुस्ताहरुले आयोजना गर्ने कुनै पनि कार्यक्रममा नयाँ पुस्तालाई सहभागिता नगराउँदा पुराना पुस्ताहरुबाट कुनै सिकाई प्राप्त गर्न नपाएको अन्तर संवादमा किशोरीहरुले गुनासो गरेका हुन ।
हरेक कार्यक्रममा किशोरीहरुको अधिकारको कुरा उठान भए पनि खासै कार्यान्वयन नभएको किशोरी अधिकार मञ्च कपिलवस्तुकी अध्यक्ष अक्षिता शुक्लाले बताईन् । पुराना पुस्ताले संचालन गर्ने जुनसुकै कार्यक्रममा सहभागिता गराउन आग्रह गरिन । तिसौं बर्ष भन्दा धेरै महिला बालबालिका र किशोरीहरुको बिषयमा अनुभव प्राप्त पुस्तहरुसंग संगै बसेर छलफल गर्न पाउँदा र फरक फरक अनुभवहरु आदान प्रदान गर्न पाउँदा खुशी व्यक्त गरिन् ।
तर मधेशका हामी छोरीहरु उच्च शिक्षा हासिल भारत देखि गर्नुपर्दा आफू दुखी भएको बताईन् । नेपालको बिद्यालयहरुमा उच्च शिक्षा अध्ययन गर्न नजिक त्यस्ता बिद्यालय छैनन् घरदेखि अलि टाढा जान घरको अनुमती छैन अध्यक्ष शुक्लाले भनिन् ।
यस्तै किशोरी अधिकार मञ्चकी पालिका स्तरिय अध्यक्ष शेषमती मल्लाहले हामी मधेशका छोरी किशोरीहरुलाई घरदेखि बाहिर निस्कन धेरै कठिनाई भएको बताईन् । सही कामको लागि घरबाहिर जानका लागि आफ्नो घर र छिमेकीलाई बिश्वास दिलाउन गाह्रो छ शेषमतीले भनिन् । राज्यले दिएको अधिकार प्राप्त गर्नकालागि स्थानिय तहसंग कार्यक्रमहरु माग गर्न जाँदा स्थानियतहले किशोरीहरुलाई बिश्वास नगरेको गुनासो गरिन् ।
महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष पुष्पा रेग्मीले महिला बालबालिका र किशोरी माथि हुने बिभिन्न हिंसाहरुको बिषयमा बिगत तिन दशक देखि अभियानको रुपमा काम गर्दाको लडाई संघर्षको बिषयमा आफूले भोगेका समस्याहरु सुनाएकी थिईन् । एकजना किशोरीले बाटो बिराउँदा सयौं किशोरीहरुले समस्या भोग्नु पर्ने भएको हुँदा किशोरीहरु सचेत आग्रह गरिन् ।
महिला अधिकारकर्मी मायाँ ज्ञवालीले आर्थिक अभावका कारण किशोरीहरुलाई कार्यक्रममा सहभागि गराउन नसकिएको बताईन् । पछिल्लो समयमा महिला बालबालिका माथि हिंसाका बिकृतिहरु फैलिंदै गएको हुँदा त्यस्ता समस्या देखि टाढा रहन आग्रह गर्दै आफ्नो अधिकारको लागि क्षमता अभिबृद्धि गर्न स्थानियतह संग पनि समन्वय सहकार्य गर्न आग्रह गरिन् ।
यस्तै साथी संस्था कपिलवस्तुका प्रमुख बिमला घिमिरेले तिन पुस्ता संगको अनुभव आदान प्रदानले नयाँ पुस्तालाई सिकाई हुने बिश्वास व्यक्त गरिन् । पछिल्लो समयमा लैंगिक हिंसाका घटनाहरु बढ्दै गएको र त्यसमा किशोरीहरु पनि हिंसा परेको हुँदा सचेत हुनुपर्नेमा जोड दिईन् । संचारिका समूह कपिलवस्तुका अध्यक्ष पार्वती आचार्यले किशोरीहरुले अधिकारसंगै कर्तव्यको समेत पालना गर्नुपर्ने बताईन् । आफ्नो हक अधिकारको लागि अगाडी बढ्न अनुरोध गर्दै बढ्दो लैंगिक हिंसाबाट जोगिनका लागि कसैको प्रलोभनमा नपर्न किशोरीहरुलाई आग्रह गरिन् ।
ओरेक नेपालका सामाजिक मनोबिमर्शकर्ता सुस्मा आचार्यले सामाजिक संजालबाट हिंसाको दायरा बढ्दै गएको हुँदा मुवाईलको महत्वकांक्षी बुझेर मात्र मुवाईलको प्रयोग गर्न किशोरीहरुलाई सुझाईन् । किशोरी अधिकार मञ्च कपिलवस्तुको आयोजना , ओरेक नेपालको सहयोग तथा माहुरी होम कपिलवस्तुको समन्वयमा भएको संवाद कार्यक्रममा ओरेक नेपाल काठमाडौंका पीसी प्रभा पौड्यालले सहजीकरण गरेकी थिईन् ।
कार्यक्रममा बिस वर्ष मुनि, बिस देखि तिस वर्षसम्म र तिस वर्ष माथिका पुस्तासँगको अनुभव आदान प्रदान संवादमा पुरानो पुस्ताबाट केही सिक्ने अवसर भएको भन्दै किशोरीहरुले खुशी व्यक्त गरेका छन् ।