महिलाको आवाज र नेतृत्वको सवालमा अन्तरक्रिया

मेचीकाली संवाददाता

१८ भाद्र २०८०, सोमबार
258 shares

पार्वती आचार्य

कपिलवस्तु । मानविय संकटको अवस्थामा महिलाको आवाज र नेतृत्वको सवालमा जिल्लाका सरोकारवालाहरु विच अन्तरक्रिया तथा छलफल सम्पन्न गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितीका संयोजक प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा उक्त कार्यक्रम तौलिहवामा सम्पन्न गरिएको हो ।

कार्यक्रममा मानव अधिकार र सामाजिक न्यायको बिषयमा बृहत छलफल तथा अन्तरक्रिया गर्दै विपद भन्नाले वाढीभेल देखि हुने अन्नपात , लतकपडा र घरवास डुवान मात्र नभएर सो समयमा महिला बालबालिकाहरु र जेष्ठ नागरिक माथि हुने बिभिन्न समस्याहरु र समय समयमा आउने बिभिन्न महामारीहरु पनि एक प्रकारको विपद भएको वक्ताहरुले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले किशोर अवस्थामा नै आत्महत्याका घटनाहरु बढ्दै गएको हुँदा त्यसलाई न्युनिकरण गर्न किशोरीहरुका लागि बिभिन्न सचेतना मूलक कार्यक्रमहरु गर्ने बताउनु भयो । ओरेक नेपालले जिल्लाको २ पालिकामा मात्र होईन दश वटै पालिकामा कार्यक्रम संचालन गरी उनिहरुको हक अधिकारको बिषयमा शसक्तिकरण गराउनु पर्नेमा जोडदिनु भयो । प्रमुख अतिथी पौडेलले जुनसुकै विपद पर्दा नगरपालिका जतिबेला पनि तयार रहेको प्रतिवद्धता जनाउनु भयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले ओरेक नेपालले मानविय संकटको अवस्थामा महिलाको आवाज र नेतृत्वको सवाललाई स्थापित गर्न कार्यक्षेत्रको बिस्तार गर्न आग्रह गर्नुभयो । जलवायु परिवर्तन अनुकुलनका कारण तराई क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा महिला बालबालिकाहरु धेरै विपदमा पर्दै आएको बताउनु भयो । सो क्रममा छाडाचौपायाको बिकराल समस्या समाधानकालागि स्थानियतहलाई कठिनाइ भए पनि स्थानियतह नै सक्रिय हुनुपर्ने बताउनु भयो ।

शसस्त्र प्रहरी प्रमुख जिवन केसीले विपद आई पर्दा तत्काल उद्गार गर्नका लागि समूदायलाई लक्षित गरेर काम गर्दै आएको बताउनु भयो ।
गैर सरकारी सस्था महासंघका अध्यक्ष जय प्रकाश पाण्डेयले विपद व्यवस्थापनका लागि आपतकालिन समस्या समाधान गर्न गैर सरकारी संस्था महासंघ प्रतिवद्ध रहेको बताउनु भयो । यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यले विपदबाट धेरै महिला बालबालिका र जेष्ठ नागरिक जोखिममा परेको बताउनु भयो ।

कार्यक्रममा सहभागि प्रेमलता भट्ट र मायाँ कोरीले यशोधरा गाउँपालिकाको सिहोंखोर , खोरिया , सोमडिह र महाराजगंज नगरपालिकाका क्षेत्रहरुमा धेरै समस्या भएको बताउनु भयो । वर्षात हुँदा डुवान हुने र नदीले कटान बढाउँदै आउँदा रातभर त्यसक्षेत्रमा नागरिहरु जाग्राम बस्ने गरेको बताउनु भयो । पालिका स्तरिय विपद व्यवस्थापन समिती गठन भए पनि विपदमा परेका महिला बालबालिका तथा जेष्ठ नागरिकले सहज रुपमा राहात प्राप्त गर्न नसकेको उनिहरुको भनाई छ ।