शान्ति सुरक्षा र अपराधमा कुनैपनि सम्झौता हुँदैनः प्रहरी उपरीक्षक पौडेल

मेचीकाली संवाददाता

२५ भाद्र २०८०, सोमबार
505 shares

पार्वती आचार्य

कपिलवस्तु । कपिलवस्तुमा हालै सरुवा भएर आउनुभएका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जिल्लाका नागरिकहरुका लागि शान्ति सुरक्षाको ग्यारेन्टीका साथ कार्य गर्ने बताउनु भएको छ । पत्रकारहरुसंगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । पत्रकारहरुसंगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा शान्ति सुरक्षा र अपराधमा कुनै पनि सम्झौता नहुने प्रहरी उपरीक्षक पौडेलले दाबि गर्नुभयो ।

कार्यक्रममा उहाँले नागरिकको शान्ति सुरक्षा अमन चयन कायम गर्ने र अपराध नियन्त्रण गर्ने प्रमुख दायित्व भएको बताउनु भयो । पत्रकारहरुले उठान गरेका बिषयबस्तुहरुको जवाफ दिंदै जनता र नागरिककालागि शान्ति सुरक्षा दिन सदैव तत्पर रहेको बताउनु भयो । प्रहरी उपरीक्षक पौडेलले पत्रकारहरूको सुरक्षामा आफूहरू संवेदनशील रहेको बताउँदै पत्रकारहरूसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

प्रहरीले पत्रकारलाई समयमै सूचना दिन तयार छ तर घटनाको बिषयमा प्रहरीसँग समन्वय गरेर मात्र सूचना संप्रशेषण गर्न पत्रकारहरुलाई आग्रह गर्नु भयो । साथै लागु औषध तस्करी नियन्त्रण , सीमा अपराध लगायतका सवालमा ध्यान केन्द्रित रहने प्रहरी उपरीक्षक पौडेलले भन्नुभयो ।

यसैगरी नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले नागरिकको शान्ति सुरक्षा, तस्करी र लागु औषध नियन्त्रण, सीमा अपराधमा प्रहरीले विशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो । साथै पत्रकारहरुले आफ्नो आचारसंहितामा रहेर सूचनाहरु संम्प्रेषण गर्दै आएको बताउनु भयो । संचारकर्मीलाई समयमा नै सूचना दिन आग्रह गर्दै प्रहरीले गर्ने सकारात्मक काममा पत्रकारको पूर्ण साथ रहने प्रतिवद्धता जनाउनु भयो ।

यस्तै नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष डिलाराम भुसालले प्रहरी र पत्रकारहरु समन्वय गरेर अघि बढ्नु पर्ने बताउनु भयो । संचारिका समूहका जिल्ला अध्यक्ष तथा मेचीकाली राष्ट्रिय दैनिकका पार्वती आचार्यले महिला र बालबालिका माथि बढदो यौन हिंसा र घरेलु हिंसालाई न्यूनिकरण गर्न प्रहरीले बिशेष कदम चाल्नु पर्ने बतउनु भयो ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापा, प्रहरी निरीक्षकहरु र जिल्लाका क्रियासिल पत्रकारहरुको सहभागिता थियो । सहभागि सञ्चारकर्मीहरुले सिमा सुरक्षा, चोरी तस्करी नियन्त्रण, लागु औषध , लैंगिक हिंसा , छाडा चौपाया लगायतको विषयमा प्रहरीले विशेष ध्यान दिनु पर्ने सुझाव दिएका थिए । भने पत्रकारहरु संग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमका साथै अपराध अनुसन्धान नियन्त्रण, सिमा सुरक्षा लगायत समसामयिक विषयमा बृहत छलफल गरिएको थियो ।