नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा

मेचीकाली संवाददाता

२६ भाद्र २०८०, मंगलवार
294 shares

काठमाडौं । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । श्रद्धाञ्जलीका लागि उनको शव त्रिवि शिक्षण अस्पतालबाट च्यासलस्थित एमाले पार्टी कार्यालय लगिएको छ ।

गएराति बालुवाटारस्थित निवासमा बेहोस भएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। अस्पताल लगिएको केही समयपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । विदेशमा रहेका नेम्वाङका छोराहरू स्वदेश फर्किएपछि उनको अन्त्येष्टि हुनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले अध्यक्ष नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिए । साथै सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।