हिरक जयन्तीको शुभारम्भमा वृहत ¥यालीसहित उजिरसिंहको प्रतिमा अनावरण

मेचीकाली संवाददाता

४ आश्विन २०८०, बिहीबार
337 shares

बुटवल। बुटवलको पुरानो मध्येको एक शैक्षिक संस्था उजिरसिंह माविको हिरक जयन्तीको शुभारम्भ तथा उजिरसिंहको अर्धकदको शालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक समारोहका बीच पश्चिम पृतना हेडक्वाटरका पृतनापती उपरथि यामप्रसाद ढकालले शालिक अनावरण गर्दै राष्ट्र जोगाउन कर्णेल उजिरसिंह थापाको योगदानको चर्चा गरे ।

विगत ६० वर्षअघि स्थापना भएको विद्यालयको ब्यवस्थापन समितिबाट नेपालको स्वाभिमान जोगाउने योद्दा कर्णेल उजिरसिंहको नाम राखेर योगदानको उच्च कदर गरेको उनले बताए । नेपालको हरेक युद्घमा नागरिक र सेनाको सामूहिक तालमेल भएको पाईने भन्दै उनले यो नै महत्वपूर्ण सहकार्यको उदाहरण भएको बताए । जितगढीको महत्व र उजिरसिंहको योगदानलाई प्रचारप्रसार गरी यहाँ आन्तरिक र बाह्य पर्यटक भित्र्याउने गरी योजना बनाउन जरुरी रहेको उनले बताए । यस क्षेत्रको गढी किल्लाहरुको संरक्षणमा सरकारको योजना अघि बढ्नु गौरवको विषय भएको उनले बताए । ‘अहिलेका विद्यार्थी भोलिका उजिरसिंह हुन जसले ईतिहास रच्ने छन्’ उनले भने ।

कार्यक्रममा उजिरसिह माविका अध्यक्ष विमलबहादुर शाक्यले नेपालको रक्षा गर्न नेपाली सेनाको योगदानलाई भुल्न नसकिने भन्दै प्रत्येक नेपालीको गर्वको विषय भएको बताए । नेपाली र नेपालको रक्षार्थ नेपाली सेना कहिल्यै सम्झौता नगरेको भन्दै नालापानी, जितगढी किल्लामा भएको युद्धको स्मरण गरे । विद्यालयको शैक्षिक गुणस्तर बढाउँदै पहिचान दिन अघि बढेको उनले बताए ।

कार्यक्रममा पुर्व जिल्ला शिक्षा अधिकारी तथा विद्यालयका सल्लाहकार टेकबहादुर थापाले बुटवलबासी हुनुमा गौरवगाथाका रुपमा जितगढी किल्ला सहित धेरै धार्मिक, पर्यटकीय क्षेत्रहरु रहेको भन्दै यसको संरक्षण गर्दै प्रचारप्रसारमा जोड दिन जरुरी रहेको बताए ।
कार्यक्रममा विद्यालय प्रधानाध्यापक पदमराज ज्ञवालीले नेपालको सामरिक महत्वसंग जोडिएको कर्णेल उजिरसिंह जस्ता महान ब्यक्तिको नामबाट स्थापित विद्यालयको गरिमा बढाउने गरी कार्यहरु भएको बताए । यस क्षेत्रमा २०२० सालमा स्थापना भएको विद्यालयले धेरै गुणस्तरीय विद्यार्थीहरुलाई जन्माउन सफल भएको उनको दाबी छ ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापा, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, वडा न.ं १ का वडाअध्यक्ष नरेन्द्र बस्नेत, विद्यालयका पुर्व प्रअ मित्रलाल भण्डारीले सफलताको शुभकामना दिए । विद्यालय परिसरबाट शुरु भएको र्याली पारी बुटवल, हाटबजार, जनबिनायक मन्दिर, निमचोक हुँदै पुनः विद्यालयमा पुगेर समापन गरिएको थियो । ¥यालीमा विद्यार्थी, टोल समिति, जातीगत संघसंस्थाहरुको समेत सहभागिता रहेको थियो ।