शान्तिको अपिल गर्दै रुपन्देहीमा शान्ति समाजको प्रदर्शन

मेचीकाली संवाददाता

४ आश्विन २०८०, बिहीबार
357 shares

बुटवल । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजना र स्थानीय संघसंस्थाको सहयोगमा रुपन्देहीमा प्रदर्शन गरिएको छन् । सैनामैना नगरपालिकाको रामापुर कलोनीमा शान्तिको अपिल गर्दै प्रदर्शन भएको हो ।

प्रदर्शनका सहभागीहरूले ‘हिंसाको भविष्य छैन,शान्तिको विकल्प छैन, सङ्क्रमणकालीन न्याय पीडितमैत्री र मानवअधिकारमैत्री बनाऊ,मानवताविरुद्धको अपराधमा संलग्नलाई उन्मुक्ति नदेऊ, सत्य निरुपण गरी पीडितलाई न्याय देऊ’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै मानव अधिकार तथा शान्ति समाजका निवर्तमान अध्यक्ष गोविन्द खनालले माओवादी द्वन्द्वमा बाल सैन्य प्रयोग र गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनाहरू भएका प्रमाणित भइसकेकाले ती घटनाका दोषीलाई उन्मुक्ति दिन नहुने बताए ।

अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार बाल सैन्य प्रयोग युद्ध अपराध भएकाले सरकारले उन्मुक्ति दिएमा अन्तर्राष्ट्रिय जगतले अस्वीकार गरी हस्तक्षेप गर्ने खनालले चेतावनी दिए । सङ्क्रमणकालीन न्यायलाई निष्कर्ष दिने भनी सरकारले ल्याएको अध्यादेशले गम्भीर प्रकृतिका मानवताविरुद्धका अपराधमा संलग्नलाई आम माफी दिने र पीडितले न्याय नपाउने अवस्था रहेकाले यो स्वीकार्य र कार्यान्वयन हुन नसक्ने उनले बताए ।

विश्वमा दिगो शान्ति कायम गर्न मुलुकमा विद्यमान गरिबी, बेरोजगारी र असमानता र विभेद अन्त्य तथा युवा शक्तिलाई स्वदेशमै रोजगारी दिन सरकार, राजनीतिक दल सक्षम बन्नुपर्ने खनालले सुझाए । सो अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष कृष्ण भट्टराई, सैनामैना नगरपालिका ६ का वडाध्यक्ष गोपाल पोखरेललगायतले विश्वमा शान्ति कायम गर्न युवाहरूको भूमिका सशक्त हुनुपर्नेमा जोड दिए ।