बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घर बनाउने सपना साचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट लन्च गरेको छ । हरेक व्यक्तिको आफ्नै घर बनाउने सपना हुने तरसबैको घडेरी नहुने तथ्यलाई मध्यनजर गरेर बैंकले घडेरी कर्जा ल्याएको बैंकले जनाएको छ । घर बनाउने सपना साँचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी असोज १ गते लन्च भएको ‘शाइन घडेरी कर्जा’ योजनामा बैंकले एकजनालाई अधिकतम एक करोडसम्म कर्जा दिने भएको छ । २० वर्षे अवधिको यो कर्जाको ब्याजदर बेस रेटमा २ प्रतिशत रिस्क प्रिमियम जोडेर लिइने बैंकले जनाएको छ ।
कर्जा चुक्ता नहुन्जेलसम्म रिस्क प्रिमियममा कुनै परिवर्तन नहुने र खरिद गरेको घडेरीमा घर निर्माण गर्दा बैंकले थप कर्जा उपलब्ध गराउने बैंकका कर्जा प्रमुख किरण नेपालले बताए । सरकारी र गैरसरकारी कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योगी, व्यवसायी र नियमित आम्दानी भएका कुनै पनी पेशासँग सम्बन्धित व्यक्तिहरुलाई लक्षित गरेर ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट ल्याएको कर्जा प्रमुख नेपालले बताए ।
उक्त थप कर्जाको रिस्क प्रिमियमसमेत २ प्रतिशतमात्र हुने नेपालले बताए । यो योजनालाई बैंकले घर बनाउने सपना पूरा गराउने पहिलो पाइला भनेको छ । यो कर्जा प्राप्त गर्न थप अचल सम्पति धितो नचाहिने र कर्जा प्राप्तिपछि किनेको घडेरी नै धितो राख्न मिल्ने नेपालले बताए । ‘धेरैजसो बैंकहरुले घर कर्जामामात्र फोकस गरेको सन्दर्भमा हामीले घर बनाउन आफ्नो घडेरी हुनुपर्ने पहिलो शर्तलाई मध्यनजर गरेर ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट ल्याएका हौँ,’कर्जा प्रमुख नेपालले भने, ‘नेपाल सरकारले समेत जग्गाको कित्ताकाट खुला गरेको अवस्थामा यो कर्जा योजनाले धेरै नेपालीले घडेरी किन्न सक्ने र यसले अर्थतन्त्रलाई थप चलायमान बनाउन कोशेढुंगा सावित हुने विश्वास बैंकले लिएको छ ।’
यो कर्जामा रिस्क प्रिमियम न्यून दरमा रहेको र घडेरी किनेपछि घर बनाउन पनि बैंकले कर्जा दिने भएकाले पनि यो कर्जा सबैका लागि वरदान सावित हुने बैंकको विश्वास छ । कर्जा योजना सार्वजनिक भएको तीन दिनमै देशभरका शाखाहरुमा कर्जा लिन चाहनेहरुबाट धेरै राम्रो रेस्पोन्स आएको कर्जा प्रमुख नेपालले बताए ।
२०६५ साल फागुन ११ गते स्थापना भएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लुम्बिनी प्रदेशमा केन्द्रिय कार्यालय रहेको एकमात्र राष्ट्रियस्तरको विकास बैंक हो । बैंकको पाँच वटा प्रदेशका २० जिल्लामा ८८ वटा शाखा सञ्चालनमा रहेका छन् । बैंकले गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेण्ट बैंकको उपाधि जितेको थियो भने हालसालै इमर्जिङ एशिया डेभलपमेण्ट बैंकको उपाधि जितेको छ । बैंकले स्थापनाकालदेखि नै इथिकल बैकिङको अभ्यास र आर्थिक सुशासन कायम गर्दै अघि बढेकाले विकास बैंकहरुमा अग्रणी र सेवाग्राहीको रोजाइको बैंक बन्न सफल भएको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।