फेसबुक स्टाटसको उग्रताले नेपालगञ्जमा निम्तिएको तनाव

मेचीकाली संवाददाता

१७ आश्विन २०८०, बुधबार
212 shares

बुटवल । मुस्लिम समुदायलाई लक्षित गरी ‘फेसबुक’ मा लेखिएको गलत ‘स्टाटस्’ ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको गलत र उत्तेजनात्मक स्टाटस्ले नेपालगञ्जमा हिन्दू र मुस्लिमबीच धार्मिक द्वन्द्वको केन्द्र बनाउने प्रयास भएको देखिएको हो । सामाजिक सञ्जालको दुरूपयोगले केही समय अघि सुनसरीको धरानमा पनि यस्तै अवस्था सिर्जना भएको थियो । मुस्लिम धर्मावलम्बीको आस्थामा आँच पु¥याउने गरी ‘फेसबुक’ मा लेखिएको स्टाटस्माथि ‘कमेन्ट’ गरिएको भन्दै असोज १४ गते आइतबार नेपालगञ्जका मुस्लिम समुदायका युवाले जिल्ला प्रशासन कार्यालय, बाँकेमा अगाडि विरोध प्रदर्शन गरेका थिए ।

‘स्टाटस्’ र ‘कमेन्ट’ हेरेर त्यहाँका मुस्लिम समुदाय रूष्ट थिए । उनीहरूको रूष्टतालाई बाहिर निस्कनबाट रोक्न भनेर मंगलबार धार्मिक सद्भाव कायम गर्न बिहान ८ बजे नेपालगञ्जको बीपी चोकबाट ¥याली निकालियो । सामाजिक सद्भाव बलियो बनाउन निकालिएको उक्त ¥यालीपछि फेरि बिहान ११ बजेतिर ओमकार परिवारले अर्को ¥याली निकाल्यो ।

ओमकार परिवारको ¥यालीमा झडप र तनावग्रस्त अवस्था सिर्जजना भएपछि कफ्र्यू आदेश जारी गर्नुपरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए । ‘ओमकार परिवार हिन्दू समाजले निकालेको ¥यालीको क्रममा विवाद उत्पन्न भयो,’केसीले भने, ‘हामीले अहिले धेरै जना जम्मा भएका भीडहरू हटाइरहेका छौं । व्यापाक रूपमा प्रहरी परिचालन भएको छ । सम्भावित घटना हुन नदिने प्रशासन लागिरहेको छ ।’ सहायक प्रजिअले थपे,‘धर्ममाथि आक्षेप लगाएर सामाजिक सञ्जालमा लेख्ने व्यक्तिको प्रशासनले खोजी गरिरहेको छ । हामी त्यसबारे अनुसन्धान गर्दै छौंं ।’ लेख्ने व्यक्ति को हुन् र कहाँको हुन् भन्ने विषयमा प्रशासनले खुलाएको छैन । तर, उनी बाँकेको नरैनापुर गाउँपालिकाका युवा रहेको बताइएको छ ।
सम्भावित मुठभेड संकेत टार्न बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी छ । कफ्र्यू लगाइए पनि विभिन्न ठाउँमा मानिसहरु बाहिर निस्केका बताइएको छ । दिउँसो १ बजेदेखि कफ्र्यू जारी छ । हिन्दू र मुस्लिम समुदायबीच धार्मिक सदभाव बिग्रिने अवस्था मूल्याङ्कन गरेर निषेधाज्ञा जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए । अफ्ट्यारोस्थिति निम्तिन नदिन कफ्र्यू लगाइएको उनको भनाइ छ ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले शान्ति सुरक्षा कायम गर्ने दिशामा सबैसँग समन्वय भइरहेको बताए । ‘सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्शृंखल गतिविधिका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन सक्ने अवस्था आएपछि प्रशासनले कफ्र्यू लगाएको हो,’ एसपी राठौरले भने, ‘नेपालगञ्ज नगर क्षेत्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका किल्लाभित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस ¥याली गर्न, हुल हुज्जत गर्न र हिँडडुल गर्नसमेत पाइँदैन ।’

नेपालगञ्जमा बेला–बेला निम्तिने हिन्दू र मुस्लिमबीच टकरावको अवस्था आइरहन्छ । नेपालगञ्जमा गाई काटेको भन्दै हिन्दूहरुले बताउँदै आएका थिए । गाई काटेर खानेले प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान पनि गर्दै आएको पनि थियो । नेपालगञ्जमा जनसंख्याका हिसाबले हिन्दू र मुस्लिमको बराबर जस्तै छन् । नेपालगञ्ज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र तथा प्रमुख शहर पनि हो । अहिले बसाइसराइको केन्द्र पनि नेपालगञ्ज बनेको छ । नेपालगञ्जमा सद्भाव कायम गर्नुपर्ने अवस्था आएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले बताए ।

‘स्टाटस लेख्ने व्यक्ति नरैनापुर गाउँपालिका शिक्षकका छोरा रहेछन्,’राईले भने, ‘त्यसप्रति प्रशासनले चासो नदिँदा आज स्थिति तनावग्रस्त बन्न पुग्यो । ती व्यक्तिलाई छोपेर कारबाही गरेको भए आजको अवस्था आउने थिएन ।’ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सबै समुदाय संयमित हुनुपर्ने बताए । नेपालगञ्जलाई अशान्त पार्न खोजिएको भन्दै सदभाव कायम गर्न नगरपालिका प्रयन्तशील रहेको विष्टको भनाइ छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद डा.धवलशमशेर राणाले नेपालगञ्जमा सदभाव कायम गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै सांसद राणाले दुई समुदायबीच सद्भाव भड्किने भ्रामक सन्देश प्रवाह गरिएको भन्दै त्यस्तो गर्नेहरूलाई कारबाही गर्न माग गरे । मंगलबार साँझदेखि थप सक्ने आवश्यक पर्ने देखिएकोले नेपाली सेना परिचालन गरिएको छ । पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको प्रयोगले विभिन्न अफ्टयारो अवस्था र अशान्ति निम्ताउने काम भइरहेको छ ।