बुटवल । दाङको लमहीस्थित जल उत्पन्न प्रकोप कार्यालयका इन्जिनियर रामबहादुर रानाभाटको स्रोत नखुलेको तीन करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा देखिएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । रानाभाटले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मितिदेखि हालसम्मको आयव्यय हेर्दा उक्त रकमको स्रोत नखुलेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
रानाभाटविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । रानाभाटको परिवारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा विभिन्न कम्पनीको शेयर खरिद, जग्गा खरिद, अध्ययन खर्च, घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा गरेको आयोगको अनुसन्धानबाट खुलेको छ । रानाभाटले सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि भएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूरमा बिगोबमोजिमको जरिवाना र कैद सजायको मागदावी लिएको छ ।
रानाभाटले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती राधा रानाभाटसमेतको नाममा जग्गाहरु खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खाताहरुमा रकम जम्मा गरेको आयोगको अनुसन्धानका क्रममा भेटिएको छ । आयोगका अनुसार खर्च लागत मूल्य बराबरको भागको सम्पत्ति बिगो जफत गर्ने प्रयोजनार्थ मात्र राधाविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम बिगो जफत गर्ने प्रयोजनको लागि प्रतिवादी कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पूर्वउपाध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रोल्पाको गंगादेव गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष रीता घर्ती र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सोलार पम्पिङको खानेपानी निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भ्रष्टाचारको आरोप लाग्नेहरूमा घर्ती र यादवसहित योजना अधिकृत कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नवीन डाँगी, सबइन्जिनियर रोशनी विष्ट, खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेत, उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी र कोषाध्यक्ष चन्द्रकुमारी डाँगी छन् ।
यस्तै वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष भुपाल दमाई, वडा सदस्य टिका विक, गनबहादुर भण्डारी र वडा सचिव कुलबहादुर योगीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको आयोगका प्रवक्ता दाहालले जानकारी दिए । उनीहरूले वास्तविक भएको कामभन्दा बढी काम गरेको भनी गलत प्रतिवेदन दिएर चार लाख ६६ हजार ४८८ रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ ।