सर्पले डसेर दिदिबहिनीको मृत्यु

मेचीकाली संवाददाता

१८ आश्विन २०८०, बिहीबार
218 shares

बुटवल । सर्पले डसेर कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । बाणगंगा नगरपालिका–९ भलवाड जिनुवाका मोतिलाल क्षेत्रीका दुई छोरी ८ वर्षीया इशिका क्षेत्री र ३ वर्षीया रितिका क्षेत्रीको सर्पले डसेर मृत्यु भएको हो ।

वडाअध्यक्ष कमल पौडेलका अनुसार उनीहरुलाई मंगलबार राति सुतिरहेको समयमा सर्पले डसेको थियो । सर्पले डसेको थाहा पाएपछि दुवैलाई उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको थियो ।

दुबै दिदिबहिनीलाई मंगलबार राती चार बजेतिर लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको लागि ल्याएपनि रितिकाको बुधबार बिहान र इशिकाको बुधवार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. नेत्र बहादुर रानाले दुबै दिदिबहिनीलाई गम्भिर अवस्थामा अस्पतालमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।

वडा अध्यक्ष पौडेलले बालिकाहरुलाई खाटमा झुल टांगेर र कोठामा फिनाईल छर्किएर सुताएको भएपनि पहिले नै बिस्तारमा सर्प गएर बसेको कारण टोकेको हुन सक्ने बताए ।

बालिकाका हजुरबुवा दुर्गाबहादुर क्षेत्रीले विस्तारमा गुजुल्टिएर बसेको करेत सर्पलाई राती नै मारेको बताइएको छ । वडा अध्यक्ष पौडेलले करेत सर्पको विष ढिलो गरि चढ्ने भएकोले इशिकालाई बहिनीलाई भन्दा केहि ढिलो विष चढेको बताए ।

यसअघि गत असार २५ गते कपिलवस्तुकै बुद्धभुमी १ कपासिका दुई दाजुभाइ ११ वर्षीय दीपक र ९ वर्षीय प्रदीप भुसालको पनि राती सुतेको समयमा सर्पले डसेर मृत्यु भएको थियो ।