

सुनिल आचार्य
कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु देशकै अतिउत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको छ । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन मूल्याङ्कनको नतिजामा कपिलवस्तु प्रशासनले अतिउत्कृष्ट स्थान ल्याउन सफल भएको हो । गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा कपिलवस्तु जिल्ला प्रशासन कार्यालय ९२ अंक प्राप्त गरी देशकै २४ स्थानमा पर्न सफल भएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिए ।
गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरू बीच आर्थिक वर्ष ०७९/८० का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्यांकन समितिले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदन अनुसार कपिलवस्तु २४ औँ नम्बरमा रही अतिउत्कृष्ट हुँदै ‘ए ग्रेड’ हासिल गरेको हो । कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला भने प्रथम भएको छ ।
शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, मुद्दाको फर्छ्यौट लगायतका आधारमा कार्यसम्पादन मूल्यांकन गर्दा कपिलवस्तु अतिउत्कृष्ट जिल्ला भित्र पर्न सफल भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । असोज १८ गते जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सुरक्षा प्रमुख र क्रियासिल पत्रकारहरू संगको समन्वय बैठकमा उनले सो कुरा बताएका हुन् । कार्यक्रममा तीन वटै सुरक्षा निकायका प्रमुखहरू जिल्लामा क्रियाशिल पत्रकारहरूको सहभागितामा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा समन्वय बैठक सम्पन्न भएको हो ।
उक्त बैठकमा देशको शान्ति, सुब्यवस्था, अमन चयन खलबलिने किसिमको कुनै पनि सुचनाहरू संचार माध्यमहरूले प्रकाशन प्रशारण गर्न नहुने र बिभिन्न किसिमका सामाजिक संजालहरूमा पनि त्यस्ता कृयाकलाप गरेको पाइएमा कार्यवाही गर्ने निर्णय भएको हो ।