बुटवलमा गार्डियन लघु जीवन बीमाको नयाँ शाखा

मेचीकाली संवाददाता

२२ आश्विन २०८०, सोमबार
525 shares

बुटवल, असोज २२ । गार्डियन लघु जीवन बीमा कम्पनी लिमिटेडले बुटवलको राजमार्ग चौराहमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले बुटवल शाखाको उद्घाटन गरिन् ।

सोही अवसरमा उनले बीमा कम्पनीले स्थापनाको उद्देश्य अनुरूप निम्न तथा मध्यम वर्गीय समुदाय र लक्षित वर्गमा पुगेर बीमा सुविधा प्रदान गर्नुपर्ने बताइन् । कम्पनीसँगको सहकार्यमा नगरवासीमाझ बीमा सचेतना अभिवृद्धि गर्न तथा जीवन बीमा योजनाहरु लैजान नगरपालिकाले सकरात्मक भूमिका निर्वाह गर्ने उपप्रमुख अर्यालले बताइन् । लक्षित वर्ग, महिला तथा श्रमिक वर्गलाई प्राथमिकतामा राखेर काम गर्न उपप्रमुख अर्यालले सुझाव दिएकी थिइन् ।

कम्पनीका मार्केटिङ हेड कैलाश देवकोटाले बीमाको पहुँचबाट टाढा रहेका न्यून आय भएका व्यक्ती, गरीबीको रेखामुनी रहेका वर्ग, विपन्न वर्ग, श्रमिक वर्गलाई बीमाको सुविधा दिएर आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले कम्पनीको स्थापना गरिएको बताए । पेपरलेस तरिकाले डिजिटल प्रविधीको प्रयोग गरी बीमा सुविधा प्रदान गरिने देवकोटाले बताए । वार्षिक १३१ रूपैयाँमा १ लाख बराबरको बीमा सुरक्षा प्राप्त गर्न सकिने जानकारी दिदै देवकोटाले गरिब, सिमान्तकृत र न्यून आय भएका वर्गलाई आर्थिक सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको प्रष्ट पारे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले स्थानीय निकायसँग सहकार्य गर्दै न्यून आय भएका सबैलाई बीमाको सुविधा प्रदान गरिने जानकारी दिए । डिजिटल प्रविधिको गरी जनस्तरमा लघु जीवन बीमा सेवा प्रदान गर्नु कम्पनीको उद्देश्य रहेको बताउँदै भण्डारीले कम्पनीमा दाबी फर्छ्योट एवं भुक्तानी प्रक्रिया एकदमै सजिलो र झन्झटरहित रहेको दाबी गरे । उक्त शाखा कार्यालयले बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग पु¥याउने कम्पनीले विश्वास लिएको छ ।

नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्णबहादुर थापा, बुटवल–८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनी, कम्पनि सचिव रामप्रसाद पौडेल लगायतले कम्पनीलाई सफतताको शुभकामना दिँदै सहज र सरल किसिमले सेवा प्रदान गर्न आग्रह गरे । बुटवल शाखा इन्चार्ज कृष्णकुमार पुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।