बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल विजयी

मेचीकाली संवाददाता

२३ आश्विन २०८०, मंगलवार
243 shares

बुटवल । यस क्षेत्रको पुरानो व्यवसायिक संस्था बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल विजयी भएका छन् । संघको ७० औं साधारणसभा तथा २५ औं अधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा प्रतिस्पर्धी दिनेश प्रसाद श्रेष्ठलाई ८७ मतान्तरले पराजित गर्दै अध्यक्षमा अर्याल निर्वाचित भएका हुन् । अर्यालले ७७६ मत ल्याउँदा श्रेष्ठले ६८८ मत मात्रै ल्याए । अर्याल नेपाली कांग्रेस रुपन्देहीको कोषाध्यक्ष समेत हुन् । निर्वाचनमा अर्याल र श्रेष्ठले छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैर निर्विरोध भएका थिए । त्यस्तै उद्योग उपाध्यक्षमा पनि अर्याल प्यानलकै सुरज भटटराई विजयी भएका छन् । भट्टराईले ७७८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नविन प्रसाद श्रेष्ठले ६७२ मत ल्याए । त्यस्तै वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई निर्विरोध भएका थिए । महासचिवमा मुक्ति प्रसाद अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ७६० मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी बाबुराम विकले ६८८ मत मात्र ल्याउन सके । त्यस्तै कोषाध्यक्षमा बसन्तप्रसाद ढकाल ८०८ मतका साथ विजयी भए । ढकालका प्रतिस्पर्धी प्रकाश कुमार श्रेष्ठले ६४४ मत मात्र ल्याउन सके ।

त्यस्तैगरी सचिव पदमा प्रतिक पोखरेल निर्वाचित भएका छन् । पोखरेलले ७२३ मत ल्याउँदा उनका प्रतिस्पर्धी भेषराज गैरेले ७०७ मत मात्र ल्याउन सके । त्यस्तै सह कोषाध्यक्षमा धनकुमारी खनाल (सविता) निर्वाचित भएकी छिन् । खनालले ८३० मत ल्याउँदा प्रतिस्पर्धी जाकिर हुसेनले ६३३ मत मात्र ल्याए । पदाधिकारी निर्वाचित भएकामध्ये सचिव पोखरेलबाहेक सबै अर्याल प्यानलका हुन् ।

त्यस्तै सदस्यमा बालकृष्ण पौडेल, दीपक प्रसाद चापागाई, कृष्णप्रसाद पाण्डेय, निर्मित कसजू, सुनिता शर्मा बञ्जाडे, गणेश प्रसाद भटटराई, रामबहादुर भण्डारी टिकाराम बञ्जाडे, विष्णु घिमिरे पन्त, विष्णु प्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए ।

अर्याल यस अघि संघको कार्यसमिति सदस्य, महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष भएका थिए । ७० वर्ष लामो इतिहास भएको संघमा हालसम्म दुई कार्यकाल वाहेक अन्य सबै अधिवेशनमा कांग्रेस निकट नेवार समुदायका व्यवसायीले मात्रै जित्दै आएका थिए । यसपटक अध्यक्षका दुवै उम्मेदवार नेपाली कांग्रेस निकट थिए । अर्याललाई पार्टीभित्रको संस्थापन पक्षको र श्रेष्ठलाई संस्थापनइतरको समर्थन रहेको थियो । अर्यालले नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीलगायतका दल निकट व्यवसायीलाई समेटेर प्यानल बनाएका थिए । संघमा एक हजार ७७८ मतदाता रहेका छन् ।

वि.स.२०२६ साल गुल्मीको सिर्सेनी गाविस–४ रियाले गाउँमा जन्मिएका हरिप्रसाद अर्यालले विद्यालय तहको शिक्षा स्थानीय मालिका माविबाट प्राप्त गरेका हुन् । काठमाडौंबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका अर्यालले स्नातक तहको पढाई बुटवल बहुमुखी क्याम्पसमा सुरू गरे पनि पूरा नहुँदै छाडे । कुनै बेला बुटवल नगरपालिकामा कर्मचारी रहेका उनी अहिले बुटवलको व्यवसायमा जमेका व्यक्तिमा परिचिति छन् । उनी व्यवसायीमाझ लोकप्रिय पनि छन् ।