कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा सम्पन्न दोस्रो ‘साइकल प्लाङक ब्यालेन्स’ (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) को उपाधि बुटवलका मनिक श्रेष्ठले जितेका छन् । गत वर्ष नेपालमै पहिलो पटक यस्तो खेल आयोजना गरेर ख्याती कमाएको लायन्स क्लव अफ कपिलवस्तुले उक्त प्रतियोगिताको दोस्रो संस्करण गरेको हो । जिल्लामा खेलकुद सङ्गै पर्यटनको विकास गर्नको लगि यस प्रतियोगितालाई निरन्तरता दिएको आयोजकले लुम्बिनी दर्पणलाई बताएको छ ।
विजेता श्रेष्ठले १ मिनेट ५६ सेकेण्डमा उक्त क्षेत्र पार गरेका थिए । बुटवल गोलपार्क निवासी एभरेष्ट स्कुलमा कक्षा ६ मा अध्ययनरत श्रेष्ठले सानो उमेरमा स्लो साईकल प्रतियोगितामा जित हात पारि साईकलनै प्राप्त गरेका थिए । विजेता श्रेष्ठका बुवा बसिन्द्र श्रेष्ठले आफ्नो छोरालाई सानो देखि साईकलमा रुची रहेको बताए ।
त्यस्तै उक्त प्रतियोगितामा धरानका अनिश तामाङ द्धितीय हुन सफल भएका छन् । उनले १ मिनेट २५ सेकेण्डमा पार गरेका थिए । त्यस्तै बनगाईका सुभम भट्राईले १ मिनेट ४ं० सेकेण्डमा पानी क्षेत्र पार गरेको प्रतियोगिताका संयोजक बिष्णु प्रसाद घिमिरेले लुम्बिनी दर्पणलाई जानकारी दिए । यस पटक ढिला पार गर्नेलाई उत्कृष्टको रुपमा मुल्यांकन गरिएको छ ।
प्रतियोगितालई थप रोचक बनाउनको लागि विश्व साइकलयात्री अजित बरालको पनि सहभागिता रहेको थियो ।
खेलको लागि आवश्यक टिसर्ट, हेलमेट, लाइफ ज्याकेट लगायतका सुरक्षाका सामाग्री, पिउने पानी, साइकल नहुनेका लागि साइकल क्लवले नै व्यवस्थापन गरेको क्लवका अध्यक्ष ओम प्रकाश घिमिरेले जानकारी दिए । खेलको क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सहभागीको सुरक्षाको लागि नेपाल प्रहरी, लायन्स र लियो क्लवका युवाहरुको टोली, एम्बुलेन्स, स्वास्थ्य सामाग्री लगायतको व्यवस्था पनि गरिएको थियो ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितिय हुनेले २५ हजार र तृतियले १५ हजार र सान्त्वना हुनेलेसम्मान स्वरुप पुरस्कार प्राप्त गरेका छन् ।