कोइलीचौर सामुदायिक वनको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२ कार्तिक २०८०, बिहीबार
334 shares

कपिलवस्तु । बाणगंगा नगरपालिका–९ भलवाड स्थित कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहको चौविसौ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा डिभिजन वन कार्यालय तौलिहवाका डिभिजनल वन अधिकृत विजयराज सुवेदीले सामुदायिक वनको विकासका लागि वन कार्यसमिति सँगै वन उपभोक्ताहरुको महत्वपूर्ण भुमिका रहेकाले वनको आम्दानीलाई सहि सदुपयोग गर्नुपर्ने बताए । साथै एक वन एक उपभोक्ता कार्यान्वय हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कोईलीचौर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुन्तामणी भुषालले आर्थिक वर्ष २०८०÷०८१ का लागि १ करोड २२ लाख ८५ हजार ६४ रुपैँया बराबरको अनुमानित बजेट पेश गरेका थिए । उनले सोही बजेटमा आधारित १६ बुँदे निति तथा कार्यक्रम समेत सार्वजनिक गरे ।

यस्तै समूहका सचिव शुष्मा थापाले समुहको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २०४५ सालमा स्थापना भएको सामुदायिक वनले लामो समय वन संरक्षण र दिगो वन विकासका लागि काम गरेको बताउँर्दै रुख रोपौँ वन जोगाऔँ भन्ने अभियानको अगुवाई समेत गर्दै आएको बताइन् । सचिव थापाले हाल २ हजार ५ सय ३० जनसंख्या प्रत्यक्ष जोडिएको जानकारी दिंदै यस वनमा ४ सय ८० घरधुरी सदस्य आबद्ध रहेको बताइन् ।

यस्तै कार्यक्रममा समुहका कोषाध्यक्ष माधुरी सेन ओलीले आर्थिक वर्ष २०७९÷०८० को आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै समुहले एक आर्थिक वर्षको अवधिमा कुल १ करोड ८१ लाख ३१ हजार ३ सय ६३ रुपैँया ९२ पैसा सहितको आयव्यय प्रस्तुत गरिन ।

यस्तै लेखा समिति संयोजक नेत्र प्रसाद बुढाथोकीले कोइलीचौर साना किसान सामुदायिक वनले कोषको रकम लाई खर्च गर्दा मित व्ययिता अपनाइएको उल्लेख गर्दै पाँच बुँदे सुझाव समेत पेश गरेका थिए । उनले सामुदायिक वनले सामुदायिक विकासका कार्यक्रमहरु संचालन गर्दा सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरि लागत साझेदारीका कार्यक्रमहरुलाई प्राथामिकतामा राख्नुपर्ने लगाएतका सुझाव दिए ।

यस्तै कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेल, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत खिल तामाङ, सव डिभिजन वन कार्यालय गोरुसिँगेका प्रमूख बसन्त थापा, वनका सल्लाहकार हरिराज घिमिरे, नारायण खनाल, खुतखुते सामुदायिक वनका अध्यक्ष भिमबहदुर पुन, अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेल लगाएतको उपस्थित रहेको थियो ।
कार्यक्रमा भर्तापुर र भर्लावास स्थित बालविकास कक्षामा अध्ययनत बालवालिकाहरुलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरिएको थियो । भने वन हेरालुलाई नगद र पोषाक सहित सम्मान गरिएको थियो । यसैगरी सो अवसरमा भर्तापुर गोल्डेन युवा क्लवलाइ १५ हजार रुपैंया खेलको लागि हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम सममूहका अध्यक्ष कुन्तामणि भुषालको अध्यक्षतामा समूहका बरिष्ठ उपाध्यक्ष देव बहादुर श्रीसको स्वागत तथा सचिव सुस्मा थापाको संचालनमा सम्पन्न भएको थियो ।