बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको आर्थिक संकट समाधान हुँदै अर्थतन्त्रले नयाँ गति लिएको बताएका छन् । बिहीबार बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा नेपाल) को २५औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले प्रचण्डले देश आर्थिकरूपमा दबाबमा भए पनि आफूले सरकारको नेतृत्व गर्दाजस्तो अफ्ठ्यारो अहिले नभएको बताएका हुन् ।
‘मैले सरकारको नेतृत्व गर्दा जस्तो संकट अहिले छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘रेमिट्यान्स २३ प्रतिशतले बढेको छ । मुलुकको सञ्चित पूँजी दश महिनालाई पुग्ने छ । पर्यटन क्षेत्र फस्टाएर सबैभन्दा धेरै पर्यटक नेपालमा आएका छन् । राजस्व वृद्धि भएको छ । घरजग्गाको कारोबार फस्टाउँदो छ, अब देशको अर्थतन्त्रले गति लिँदैछ ।’ अर्थतन्त्रमा देखा परेको दबाब समाधान गर्न प्रधानमन्त्रीकै अध्यक्षतामा बृहत् समीक्षात्मक कार्यक्रम गरी विशेष कार्ययोजना लिएर ल्याउने गरी सरकार अघि बढेको समेत उनले बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सरकार बैंकको ब्याजदर एक (बढीमा ९ प्रतिशत) अंकमा झार्ने तयारीमा लागेको समेत जानकारी दिए । लोकतन्त्रमाथि प्रश्न उठाउने ठाउँ कसैलाई नभएको पनि उनले बताए । ‘आर्थिक समृद्धितर्फ लैजाने योजनामा सबै लागौं । कोही निराश हुनुपर्ने अवस्था छैन । आ–आफ्ना ठाउँबाट मेहनत गरौं । देशलाई समृद्धितर्फ हामीले लैजाने हो,’ उनले भने ।
सो अवसरमा प्रधानमन्त्री दाहालले बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा थप २०० शैया भवनको शिलान्यास गरेका छन् । हाल एक सय शैयाको क्षमतामा सञ्चालित अस्पतालमा बिरामीहरुको चाप र आवश्यकतालाई मध्यनजर गरी तीन सय शैयाको अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो ।
कार्यक्रमम लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले रुपन्देहीमा अबरुद्ध विकास योजनाहरु बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । गिरीले बेलहिया–बुटवल ६ लेन सडक निर्माण सुरु भएको १२ वर्षसम्म पनि सम्पन्न नभएको, बुटवल–नारायणगढ सडक बिस्तार ३ वर्षमा सम्पन्न गर्न भने पनि सम्पन्न भएको तथा भैरहवामा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय विमान स्थल सञ्चालनमा नआएको लगायतका विषयमा ध्यानाकर्षण गराएका हुन् । ‘हाम्रा योजनाहरु बेलैमा सम्पन्न भएका छैनन्, व्यापार घटिरहेको छ, व्यवसायीहरु निरास छन् ।’ गिरीले भने, ‘कुनै राजनीतिक अभिप्रायले मैले यी विषयहरु उठाएको छैन । जनता दुःखी छन्, आत्तिएका छन् ।’
आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामीले आफू बुद्ध धर्मालम्बी भएको र बुद्धका बिचारबाट प्रभावित भएको बताए । उनले गएराति सपनामा बुद्धलाई देखेको र बुटवलमा स्थापना गरिन लागेको मेडिकल कलेज निर्माणमा नेपालका प्रधानमन्त्रीले खुलेर सहयोग गर्ने बताएको भन्दै प्रधानमन्त्रीलाई सुनाए । उनले आम्दा नेपाल जस्तो संस्था आफ्नो जेठो छोरा जस्तै भएको बताउँदै यहाँ मेडिकल कलेज निर्माण गरेर यसबाट उत्पादिन जनशक्तिले विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउने बताए ।
कार्यक्रममा बोल्दै आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पतालको स्तरवृद्धि गरी महिला र बालबालिकाका लागि सुविधासम्पन्न विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार अस्पताल भवनको शिलान्यास गरिएको बताए । उनले आम्दामा १ सय शैयामा थप २ सय शैया थप गरी ३ सय शैयामा पु¥याउँदै यस क्षेत्रमै महिला तथा बालबालिकाको स्वास्थ्य उपचारमा विशिष्टीकृत अस्पतालको रुपमा स्थापित गर्ने बताए । उनले यसै शैक्षिक सत्रदेखि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीनवटा शैक्षिक कार्यक्रम सञ्चालन गरेको बताए ।
२०५५ कार्तिक १६ (सन् १९९८ नोभेम्बर २) मा आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीबीच त्रि–पक्षीय समझदारी भई ५० शैयाबाट शुरुवात भएको सिद्धार्थ बाल तथा महिला अस्पताल हाल १०० शैयाको क्षमतामा सञ्चालनमा रहेको छ ।
आम्दा अस्पतालले नेपाल सरकार स्वास्थ्य सेवा विभागबाट मिति २०५५/०६/२१ गते च्यारिटी अस्पतालको रुपमा मान्यता पाएको थियो ।
अस्पतालबाट रूपन्देही जिल्ला लगायत १६ वटा जिल्ला र भारतका सीमावर्ती क्षेत्रका जनताले प्रत्यक्ष लाभ लिइरहेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र बस्यालका अनुसार गत आ.व. २०७९/८० मा ७०,४८६ र पछिल्लो दशक (आ.व. २०७०/७१ देखि आ.व. २०७९/८०) मा ६२१,९४२ जना बिरामीले अस्पतालबाट सेवा प्राप्त गरेका छन् ।
अस्पतालबाट आकस्मिक सेवाअन्तर्गत चौबीसै घण्टा बाल रोग र स्त्री तथा प्रसूति आकस्मिक सेवा प्रदान भइरहेको छ भने बहिरङ्ग सेवा र अन्तरङ्ग सेवाअन्तर्गत बालरोग अन्तरङ्ग, बाल शल्यचिकित्सा, स्त्री तथा प्रसूति, मेडिकल, स्त्री तथा प्रसूति शल्य चिकित्सा, नवजात शिशु सघन उपचार कक्ष र आइसियू सेवा उपलब्ध छन् भने प्रयोगशाला सेवा, अल्ट्रासाउण्ड सेवा, इसिजी सेवा, एक्स–रे सेवा र इकोकार्डियोग्राफी सेवासमेत उपलब्ध रहेको उनले बताए । यस्तै अस्पतालमा विशेष ओपिडी सेवामार्फत बाल मधुमेह, बाल मुटुरोग, उच्च जोखिम नवजात शिशु सेवा र हाडजोर्नी उपचार सेवा उपलब्ध छन् ।
आम्दा नेपालका अध्यक्ष डा.अनिलकुमार दासले आम्दा इन्टरनेशनल, आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघको पहलमा अस्पतालको स्तरवृद्धि र सुधार भइरहेको बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याललगायतले बोल्दै आम्दाको विकासले यस क्षेत्रमा महिला र बालबालिकाको स्वास्थ्य उपचारमा सहजता ल्याउने बताएका थिए ।
सोही अवसरमा आम्दा अस्पतालको स्थापनामा योगदान पु¥याउने तत्कालीन बुटवल नगरपालिकाका मेयर स्वर्गीय सूर्यप्रसाद प्रधानलाई मरणोपरान्त, आम्दा नेपालका संस्थापक अध्यक्ष प्रा.डा.रामेश्वर पोख्रेल, स्थानीय विकास समितिका सदस्य जीवनप्रसाद वझालगायतलाई सम्मान गरिएको थियो ।