बुटवल । तिलोत्तमा नगरपालिका–२ योगिकुटीस्थित हाम्रो जागृति सगरमाथा बचत तथा ऋण सहकारी संस्था र नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाको संयुक्त आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार सहकारी संस्थाका अध्यक्ष लोकनाथ पाण्डेको अध्यक्षता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो । रक्त सञ्चार सेवा इकाई भैरहवाको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ६२ यूनिट रगत संकलन भएको नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाका अध्यक्ष गोविन्द भुसालले जानकारी दिए ।
जाजरकोट भूकम्पमा परी घाइते भएकाको उपचारका क्रममा रगत अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालहरुमा रगत र रक्ततत्वहरुको अभाव हुन नदिने उद्देश्यले कार्यक्रम आयोजना गरीएको सहकारीका अध्यक्ष पाण्डेले बताए । सहकारी प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, स्वास्थ्य शिविर लगायतका बिभिन्न कार्यक्रम आयोजना गर्दै आएको उनको भनाई थियो ।
कार्यक्रममा स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष चौहानले पछिल्लो समय अस्पतालहरुमा रगतको अभाव देखिएको बताउँदै रगतको मागलाई पूर्ती गर्न यूवाहरुले देशैभर रक्तदान अभियान चलाउनुपर्ने बताए । विशेषगरी मिर्गौलाका बिरामी, रक्तअल्पता र शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि रगतको माग आउने गरेको उनले बताए । यहाँका विभिन्न संघसंस्थाले दैनिकजसो रक्तदान गर्दै आएका कारण रगतको माग धान्न सकिएको उनको भनाई थियो ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष होमप्रसाद शर्मा, रक्तदाता लगायतको उपस्थीति रहेको थियो । सहकारीका अध्यक्ष पाण्डेको स्वागत तथा स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाका महासचिव सागर पाठकको सञ्चालनमा कार्यक्रम भएको थियो ।