देशभर विस्तार हुँदै नमस्ते नेपाल

मेचीकाली संवाददाता

२० कार्तिक २०८०, सोमबार
429 shares

बुटवल । १२ वर्षअघि रुपन्देहीमा स्थापना भएको नमस्ते नेपाल देशभर विस्तार हुने भएको छ । देशका ७७ ओटै जिल्लाका युवाहरूलाई समाजसेवामा गोलबद्ध पार्ने उद्देश्यका साथ शनिबार रौटहटको कटहरियामा नमस्ते नेपालको मधेस प्रदेशस्तरीय प्रथम भेला सम्पन्न भएको छ ।

मधेस प्रदेशस्तरीय भेलाका संयोजक एवं नमस्ते नेपालका केन्द्रीय कोषाध्यक्ष बरदान आचार्यको अध्यक्षता रहेको कार्यक्रममा कटहरिया नगरपालिकाकी उपप्रमुख रीता यादवको प्रमुख आथित्यता रहेको थियो ।

उक्त भेलाबाट मधेस प्रदेशका ८ ओटै जिल्लाको प्रतिनिधित्व हुने गरी ११ सदस्यीय समिति गठन भएको छ । उक्त समितिले ६ महिनाभित्र सम्बन्धित प्रदेशका ८ ओटै जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न गरी प्रदेश अधिवेशन गर्ने लक्ष्य राखेको केन्द्रीय अनुशासन विभाग प्रमुख भुवन सुवेदीले बताए । उक्त समितिको संयोजकमा रिजवान बढ्ई सर्वसहमत भएका छन् ।

कार्यक्रममा नमस्ते नेपाल केन्द्रीय अध्यक्ष मनिष भुसाल, संस्थापक अध्यक्ष अर्जुन खरेल, केन्द्रीय अनुशासन विभाग प्रमुख एवं गण्डकी प्रदेश इन्चार्ज भुवन सुवेदी, मधेस प्रदेश सहइन्चार्ज असमी खड्काको उपस्थिति रहेको थियो ।

वि.सं २०६८ सालमा बाल क्लबको रूपमा स्थापित संस्था ०७४ सालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा नमस्ते नेपालको नामले दर्ता भई सामाजिक क्रियाकलापमा अग्रसर रहेको छ । कुलतरहित समाज निर्माण र युवाहरूलाई समाजसेवासँगै उद्यमशीलतासँग जोड्ने लक्ष्यसहित यतिबेला नमस्ते नेपालले झण्डै १० हजार सदस्य जोड्ने उद्देश्यसहित देशव्यापी शाखा विस्तार अभियानमा लागेको केन्द्रीय अध्यक्ष मनिष भुसालले बताए । संस्थापक अध्यक्ष अर्जुन खरेलले लुम्बिनीसँगै, गण्डकी र मधेस प्रदेशमा विस्तार भइसकेको बताउँदै अब बाँकी चार प्रदेशमा पनि छिट्टै शाखा विस्तार गरिने जानकारी गराए ।