बुटवलका नगर प्रमुखसँग असहमति जनाउँदै २ महिनामै फिर्ता भए हाकिम

मेचीकाली संवाददाता

२२ कार्तिक २०८०, बुधबार
606 shares

बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको कार्यशैलीसँग असहमति जनाउँदै प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसाल दुई महिनामै फिर्ता भएका छन् ।

भुसाल गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा भई बुटवल उपमहानगरमा आएका थिए । प्रमुख प्रशासकीय अधिकृत भुसालले नगर प्रमुख पाण्डेय र आफ्नो काम गर्ने शैली नमिलेपछि काठमाडौं फर्केको बताए ।

उपमहानगरको कार्यपालिका वैठकको अघिल्लो दिन नै नगर प्रमुखसँग विवाद भएर भुसाल काठमाडौं गएपछि कार्यपालिका बैठक प्रभावित हुने देखिएको छ ।

बुटवल उपमहानगरपालिकाका कर्मचारी स्रोतका अनुसार नगरप्रमुख पाण्डेयले करारका कर्मचारी हटाएर आफू निकटका व्यक्तिलाई नियुक्ति र अनुदान वितरण गर्न दबाब दिएका तर प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसालले कार्यपालिका वैठकबाट पारित नगरी विधि प्रक्रिया र कानूनविपरीत आफूले निर्णय नगर्ने अडान लिएपछि नगर प्रमुखले तत्काल बुटवल छाड्न दबाब दिएका थिए ।

‘नगर प्रमुख र मेरो काम गर्ने शैली मिलेन,म कानुन,विधि, पद्दति र ब्युरोक्रेसीको सिस्टम अनुसार काम गर्ने मान्छे हुँ’, ‘प्रमुख प्रशासकीय अधिकृत भुसालले भने, ‘नगर प्रमुखलाई सहयोग गर्न भनेरै बुटवल आएको थिएँ तर विधि प्रक्रिया नसमलेको कुरा नगरौं भन्दा उहाँले मान्नुभएन, कानुनले भने अनुसार काम गर्ने हो, व्यक्तिले भनेर गर्ने होइन ।’

उपमहानगरपालिकाका प्रमुख पाण्डेयले भने प्रमुख प्रशासकीय अधिकृत भुसाललाई कुनै पनि निर्णयमा दबाब नदिएको दाबी गरे । ‘ऐन, नियम विपरीतका कुनै पनि कार्य गर्न मैले दबाब दिएको छैन, मंगलबार कार्यालयमै हुनुहुन्थ्यो, साँझ साढे ६ बजेतिर म काठमाडौं आएँ भन्दै फोन गर्नुभएको थियो ।,’ पाण्डेयले भने ।

नगरप्रमुख पाण्डेयकै जोडबलमा आएका भुसाल यति छोटो समयमै बुटवल छाड्ने निर्णयले पनि उनीहरू बीच विवाद रहेको अनुमान गर्न सकिन्छ ।