पुष्प व्यवसायमा युवाले देखेको सपना

मेचीकाली संवाददाता

२५ कार्तिक २०८०, शनिबार
190 shares

रमेश पराजुली

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ चम्कीपुरस्थित फोकस मल्टी एग्रो कन्र्सन एण्ड रिर्सच सेन्टर अहिले फूलैफूलले सजिएको छ । सेन्टरमा ढकमक्क मखमली र सयपत्री फूल फुलेका छन् । दिपावली सुरूसँगै फार्ममा आबद्ध तन्नेरी युवाहरुलाई फुलेको फूल टिप्न र माला गास्न भ्याइनभ्याइ छ । सञ्चालकहरुसहित ओजेटिको लागि आएका कृषि पढ्दै गरेका विद्यार्थीहरू समेत धमाधम फूल टिप्न र माला बनाउन व्यस्त छन् ।

फार्मका म्यानेजिङ्ग डाइरेक्टर राजेश कुँवरले चार वर्षअघि ५ जना युवाहरु मिलेर फार्म सञ्चालन गरी काम गरिरहेको बताए । कुँवरसँगै सरोज भट्टराई, किरण तिमिल्सेना, सञ्जय ज्ञवाली र विवेक ज्ञवाली फार्मका सञ्चालक हुन् । उनीहरू सबै नै कृषि अध्ययन पूरा गरेका तथा पढ्दै गरेका युवा हुन् । उनीहरूले जग्गा भाडामा लिएर व्यवसायिक फार्म सञ्चालन गरेको हुन् । गत वर्ष ८ कट्ठामा फूल खेती गरिएकोमा अहिले बढाएर १५ कट्ठामा लगाइएको फार्मका म्यानेजिङ्ग डाइरेक्टर कुँवरले बताए । गत वर्ष करिब ४ हजार बढी सयपत्री फूलको माला उत्पादन गरेको उक्त सेन्टरले अहिले ८ हजार माला उत्पादन गर्ने लक्ष्य राखेको छ ।

फार्ममै पुग्ने ग्राहकलाई बजार भाउभन्दा मालामा २० रूपैयाँ र किलोमा ५० रूपैयाँ सस्तोमा विक्री गर्नेसमेत व्यवस्था गरिएको छ । अहिले फार्मबाट माला सय रुपैयाँ र सयपत्री फूल प्रतिकिलो पाँच सयदेखि ५५० रूपैयाँसम्ममा विक्री भरहेको छ । फार्ममा फूलखेतीसँगै फलफूल र तरकारी खेती पनि गरेका छन् । कृषि पढ्दै गरेका १७/१८ जना विद्यार्थी ओजेटिको लागि फार्म कुँवरले बताए । ‘उत्पादन गरेको माला भण्डारण गरी राख्नको लागि कोल्ड स्टोरको अभाव छ । जसको कारण पनि पहिला नै उत्पादन गरेका माला राख्न समस्या भएको छ ।’ उनले भने । उनीहरूले स्थानीय बुटवल जैविक कृषि उत्पादन सहकारी संस्थाले निर्माण गरेको कोल्ड चेम्बरमा लगेर राख्ने गरेका छन् । भाडा तिरेर कोल्ड स्टोरमा राख्दा उत्पादनको लागत बढ्ने सञ्चालकहरूको भनाइ छ । उत्पादन भएको फलफुल, फूल राख्न सरकारी निकायबाट एउटा कोल्ड चेम्बर वा स्टोरको माग गरिएको उनीहरुले बताए ।

बुटवलमा पहिलोपटक व्यवसायिक फूलखेती सुरू गरेका उनीहरूले विभिन्न जिल्लाहरुमा पुगेर सयपत्री खेतीसम्बन्धी तालिमसमेत दिँदै आएका छन् । अहिले वार्षिक २०–२५ कृषकसमूह र विभिन्न विद्यालयहरुबाट विद्यार्थीहरु शैक्षिक भ्रमणका लागि आउने गरेको डाइरेक्टर कुँवरले बताए ।

गुल्मीको इस्मा गाउँपालिका–३ का गोकर्ण नेपालीले यस वर्षदेखि गाउँमै व्यवसायिक फूलखेती गरेका छन् । पछिल्लो समय कृषिलाई आफ्नो व्यवसाय बनाएर लागेका नेपालीले ग्यालेक्सी कृषि फार्म सञ्चालन गरेका छन् । व्यवसायिक रुपमा घाँसका बिरुवा उत्पादन गर्दै आएका उनले फूलखेती पनि सुरु गरेका हुन् । नेपालीले आफ्नो ८ रोपनी जग्गामा फूलखेती गरेको बताए ।
पहिलो वर्षको उत्पादनबाट उनि उत्साहित छन् । उनको उत्पादनले राम्रो बजार पाएको छ । पहिलोपटक गरिएको व्यावसायिक फूलखेतीले थप विस्तार गर्न उनलाई हौसला बढेको छ । आगामी वर्ष फूलखेती बिस्तार गर्ने योजना बनाएको नेपालीले बताए । ‘जिल्लामा व्यवसायीक रुपमा फूलखेती नहुँदा फूलका लागि बुटवललगायत अन्य शहरको भर पर्नुपर्ने अवस्था थियो । जिल्लामा हुने ठूला मेला महोत्सवमा बुटवलबाटै फूलका माला ल्याउनुपर्ने बाध्यता थियो । अब यहीको उत्पादनले फूलको माग पूरा गर्नेछ’, नेपालीले भने । बाह्रै महिना फूल उत्पादन गर्ने योजना बनाएर काम गरीरहेको उनले बताए ।

व्यवसायिक रुपमा पुष्पखेतीलाई प्रोत्साहन गर्नका लागि इस्मा गाउँपालिका र कृषि ज्ञान केन्द्र गुल्मीले नेपालीलाई अनुदान दिएको छ । आगामी वर्ष १० लाखको फूल उत्पादन गर्ने उनको लक्ष्य छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–११ बरौलीकी सुशीला अर्यालले व्यवसायिक फूलखेती सुरु गरेको ५ वर्ष भयो । पहिले समूहमा आबद्ध भएर काम गरेकी उनले अहिले आफैँले रेसुङ्गा बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरेकी छिन् । यसवर्ष ४ कठ्ठामा फूलखेती गरेको उनले बताइन् । यसवर्ष तिहार केही ढिलो पर्दा फूल दशैँअघि नै फुल्न सुरु गरेको उनले बताइन् । ‘यसवर्ष फूल अलि छिटो फुलेको थियो तर दशैँको दुर्गामा पनि फूलको राम्रो व्यापार भयो’, अर्यालले भनिन् । तिहार नजिकिएसँगै फूलको माग बढेको उनको भनाइ छ । प्रतिमाला एक सय रूपैयाँ र प्रतिकिलो फूल ५०० रुपैयाँसम्ममा बिक्री भइरहेको अर्यालले बताइन् । यसवर्ष ५ लाख आम्दानी गर्ने लक्ष्य राखेको उनले बताइन् । भारतबाट फूल आयात हुँदा यहाँका किसानलाई भारतीय फूलसँग प्रतिस्पर्धा गर्न समस्या हुने अर्यालको भनाइ छ ।

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेका श्रीधर घर्तीमगरले विगत तिन वर्षदेखि व्यवसायिक फूलखेती गर्दै आएका छन् । बाँदर आतंकले दिएको सास्तीबाट छुट्कारा पाउन अन्य बाली छाडेर फूलखेती सुरु गरेको उनले बताए । ‘बाँदरले अन्नबाली भित्रिन दिँदैन, विकल्पमा यो खेती रोजेँ । बजारमा फूलको माग धेरै छ, बजारमूल्य पनि राम्रो छ’, उनले भने, ‘बाँदरबाट पनि छुटकारा हुने, अनि आम्दानी पनि राम्रै हुने भएपछि फूलखेती रोजेको हुँ ।’

यो वर्ष ७ रोपनी जग्गामा फूलखेती गरेको उनले बताए । पालिकाबाट फूलको बिउ अनुदानमा पाएको उनको भनाइ छ । उत्पादन भएको फूललाई बजारीकरणको समस्या नरहेको उनले बताए । प्रतिमाला सय रुपैयाँ र एक किलो फूल ४ सय रुपैयाँ सम्ममा बिक्री भइरहेको छ । ७ वर्ष विदेशमा बसेर फर्किएका घर्तीमगरले आफ्नै ठाउँमा केही गर्ने सोँचले भिम राधिका कृषि फार्म दर्ता गरी फूलखेतीसँगै तरकारी र भैँसीपालन पनि गरीरहेका छन् । ‘स्वदेशमै रोजगारी सिर्जना गर्न यो खेती पनि प्रमुख हो, यसलाई सबै तवरबाट प्रबद्र्धन गर्न सके देशको आयस्रोतमा पनि टेवा पुग्ने थियो, युवाहरू वैदेशिक रोजगारका लागि जानुपर्ने थिएन ।’ घर्तीमगरले भने ।

पाल्पाकै पाल्पाको रामपुर नगरपालिका–४ देविस्थानका दिलबहादुर थापा मगरले व्यवसायिक फूलखेती सुरु गरेको ५ वर्ष भयो । लामो समय वैदेशिक रोजगारीमा विताएका मगरले यो वर्ष करिब ५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् । पछिल्लो समय गाउँघरमा फूल कम उत्पादन हुँदै गरेका बेला मगरले सुरू गरेको फूलखेतीले छोटो समयमा धेरै चर्चा बटुलेको छ । उनको फूलखेती देखेर नै गाउँका अरु कृषकले पनि फूलखेती गर्न थालेका छन् ।

‘एकहप्ते पुष्प खेतीसम्बन्धी तालिम लिएपछि व्यवसायी खेती सुरु गरेको उनले बताए । अरु खेतीमा भन्दा फूलमा राम्रो आम्दानी हुँदो रहेछ त्यसैले अहिले पाल्पाका अन्य ठाउँमा पनि व्यवसायिक फूल खेती हुन थालेको छ,’ मगरले भने । अहिले एउटा मालाको मूल्य १५० रूपैयाँ र एक किलो फूलको मूल्य ५ सय रुपैयाँ कायम गरिएको छ । गत वर्ष बुटवल, नेपालगञ्ज, पोखरालगायतका शहरमामा पु¥याएर फूल र माला बिक्री गरेका उनले यो वर्ष भने स्थानीय बजारमै फूल बिक्री गर्ने योजना बनाएका छन् ।

‘विभिन्न ठाउँबाट फूल चाहियो भनेर व्यापारीले फोन गरिराख्नुभएको छ, स्थानीयबाट पनि माग उत्तिकै भएको हुँदा अहिले सबै फूल स्थानीय बजारमै खपत गर्ने योजना छ,’ उनले भने । प्रत्येक वर्ष विदेशबाट आयात हुने लाखौँ मूल्य बराबरको प्लाष्टिकका माला र खादालाई विस्थापन गर्दै फूल खेतीलाई व्यावसायिक बनाउनुपर्ने मगरको भनाइ छ । उता, दाङको गढवा गाउँपालिका–३ गुंगोडियाका टेकेन्द्रराज रावतले तरकारी खेतीसँगै फूलखेती बिस्तार गरेका छन् । यसवर्ष करिब २० हजार लगानीमा एक हजार ५ सय सयपत्री फूलका बोट लगाएर व्यवसायिक खेति सुरु गरेको उनले बताए । हालसम्म ५२ किलो फूल बिक्री भइसकेको रावतले बताए । फार्मबाटै प्रतिकिलो ४ सय रुपैयाँसम्ममा फूल बिक्री भइरहेको उनको भनाइ छ । पहिलो वर्षको उत्पादन र आम्दानीबाट सन्तुष्ट रहेका रावतले आगामी वर्ष फूलखेती विस्तार गर्ने योजना रहेको बताए ।

दाङकै घोराही उपमहानगरपालिका–१४ का लोकेन्द्र रोका फूलखेती गर्ने पुराना किसान हुन् । जलजला पुष्पखेती तथा नर्सरी दर्ता गरेर उनले विगत ११ वर्षदेखि व्यवसायिक रुपमा फूलखेती गर्दै आएका छन् । फूलखेतीको लामो अनुभव बटुलेका रोकाले यो वर्ष २ विगाह जमिनमा फूलखेती गरेका छन् । जिल्लामा फूलको माग र बजारको अध्ययन गरेर परम्परागत मकै र धानखेती छोडेर केही नयाँ गर्ने भन्दै सबैभन्दा पहिले व्यवसायिक फूलखेती रोजेका उनले गत वर्षभन्दा यो वर्ष फूलको उत्पादन बढेको बताउँछन् ।

उनले उत्पादन गरेको फूललाई बजारको चिन्ता छैन, धेरैजसो फूल दाङमै खपत हुने गरेको छ । गत वर्ष फूल बिक्रीबाट करिब १० लाख आम्दानी गरेका रोकाको यसवर्ष १५ लाख आम्दानी गर्ने लक्ष्य छ । पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले अहिले बाह्रै महिना फूल उत्पादन सुरू गरेका छन् । अहिले उनले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्रीसमेत गर्दै आएका छन् । आफूसँगै परिवार तथा अन्य दुई जनालाई समेत रोजगारी प्रदान गरेको उनको भनाइ छ । फूलको माग दसैँ–तिहारमा बढी हुने गरेको छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उनको भनाइ छ ।

यस्तै, कपिलवस्तुको बाणगंगा नगरपालिका–६ भगलापुरका झबिन्द्र पौडेलले यस वर्ष करिब १ बिगाह जग्गामा सयपत्री फूल लगाएका छन् । विगत ७ वर्षदेखि डालु पशुपालन तथा कृषि फार्म सञ्चालन गरी पौडेलले गाइपालन र फूलखेती गर्दै आएको बताए । करिब ८ वर्ष वैदेशिक रोजगारीको शिलसिलामा विभिन्न देश पुगेका पौडेल स्वदेश फर्किएर सुरू गरेको व्यवसायले २ जनालाई रोजगारी दिन सफल भएका छन् । फूलका विरुवा, फूल र तयारी माला विक्री गर्दै आएको उनले बताए । उनले उत्पादन गरेको फूललाई बजारको चिन्ता छैन, धेरैजसो फूल स्थानीय बजारमै खपत हुने गरेको छ । यसवर्ष फूल विक्रीबाट १० लाख बढी आम्दानी हुने उनको अनुमान छ ।

अहिले नेपालभर फूलको खेती र उपभोग बढेको छ । तिहारमा सर्वाधिक खपत हुने भएकाले माग बढी हुने तथा उचित मूल्य पाइने पुष्प व्यवसायी बताउँछन् । तिहार आउन ४ दिन मात्र बाँकी छ । नेपालमा करिब ६ सय किसिमका फूल पाइने भएपनि तिहारमा मखमली, सयपत्री र गोदावरी फूलको माग बढी हुन्छ । दाजुभाइ र दिदीबहिनीका बीचमा भाइटीका पछि समृद्धिको प्रतिक सयपत्री अनि मखमलीको माला अनिवार्य मानिन्छ । मखमली र सयपत्री फूल नेपालीको लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । यसमा पनि मखमली र सयपत्री फूलले तिहारमा विशेष महत्व राख्छ ।

लुम्बिनी प्रदेशमा फूलखेतिका लागि हावापानी उत्कृष्ट छ । प्रदेशका १२ वटै जिल्लामा विभिन्न जातका फूलखेती विस्तार भएको छ । अहिले युवाहरू पुष्प व्यवसायप्रति आकर्षित छन् । फूलको आयात रोक्न युवाहरु लागेका छन् । भारतबाट आउने मालासँग प्रतिस्पर्धा गर्न भने यहाँका व्यवसायीलाई मुस्किल परेको छ । बुटवलको बजारमा भारतबाट सहजै माला आउँछ । दसैंपछि तिहार सुरु भएसँगै फूलले बजार पाउन थालेको छ ।

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयकी बागवानी विकास अधिकृत सुनैना बरालीले लुम्बिनीको रुकुम र प्युठानमा फूलखेती तुलनात्मक रूपमा कम भए पनि अन्य जिल्लामा उल्लेख्य खेती हुने गरेको बताइन् । प्रदेशमा २८ हेक्टर जमिनमा फूलखेती भएको जानकारी दिँदै उनले लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको बताइन् । बरालीका अनुसार लुम्बिनीमा अहिले करिब ८० प्रतिशत फूल आन्तरिक उत्पादनबाट धानिएको छ भने यहाँ उत्पादित फूल स्याङ्जा, पोखरा, चितवनलगायतका ठाउँमा समेत जाने गरेको छ । बिरुवा रोपेको दुई महिनाबाट उत्पादन लिन सकिने र वर्षमा तीन पटकसम्म खेती गर्न सकिने भएकाले किसानहरू फूलखेतीमा आकर्षित भएको उनको भनाइ छ । प्रदेशका बाह्रवटै जिल्लामा पुष्प व्यवसाय प्रवद्र्धन गर्न ज्ञान केन्द्रबाट किसान अगुवाहरूलाई पुष्पखेतीको तालिम दिने, बजारीकरणमा सहयोग गर्ने, केही कृषि उपकरण प्रदान गर्ने काम भएको उनले बताइन् ।