

अमृत गिरी
बुटवल । बुटवलको लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघ मार्फत् सञ्चालनमा रहेको कृषि उपज थोक बजार (मण्डी) काठमाडौं पछिको दोस्रो ठूलो बजार मानिन्छ । बुटवल उपमहानगरपालिका–६ स्थित एक विगाह ७ कट्ठा क्षेत्रफलमा रहेको बजार यो मण्डीबाट पूर्वदेखि पश्चिम र भारत, चीनलगायत ठाउँका तरकारी एवं फलफूल ल्याइने गरेको छ । यहाँबाट विभिन्न ४६ जिल्लासम्म तरकारी र फलफुलको विक्री वितरण हुने गरेको छ ।

पुरानो बसपार्कमा बनेको पहिलो व्यवस्थित बजार मानिन्छ । तर, समय अनुरुप व्यस्थित, परिमार्जित हुन भने सकिरहेको छैन । बाँदरका हुलका हुल बथानदेखि फोहोर मैलाको उचित प्रबन्ध नभएको, शौचालय र खानेपानीको प्रयाप्त प्रबन्ध नभएको देखि कैयन समस्याले यो मण्डी झेलिएको छ । स्वामित्वको विषयमा उत्पन्न भएको विवाद पनि समाधान भइसकेको छैन ।
बुटवलको सब्जी तथा फलफुल मण्डीमा रहेका सटरहरु धेरैखाले व्यापारीहरु छन् । तरकारी, फलफुल, ममफुली देखि नरिवल सम्मको कारोबार हुने मण्डीमा प्राय भिडभाड नै हुन्छ । मात्रै थोकमा केराको कारोबार गर्ने २१ जना जति व्यापारी छन् । किसानको खेतबाट सिधै किनेर बुटवलमा ल्याउने र यहाँबाट अन्य व्यापारी र उपभोक्तालाई विक्रीवितरण गर्नेगरेका छन् । यहाँका सटरहरुमा दैनिक करोडौंको मूल्य बराबरको कारोबार हुँदै आएको छ ।

केरा व्यापारमा जमेका अनुशासित जोडी नेत्र–कृष्ण
यहाँका पुराना व्यापारी नेत्रप्रसाद अधिकारी (विष्णु) ले पहिलो प्राथिमकता स्वदेशी उत्पादनलाई नै दिने गरेको बताउँछन् । अधिकारीले आफ्ना साडू कृष्णमणी खनालसंग सहकार्य गर्दै लामो समयदेखि बुटवलमा केराको थोक कारोबार गर्दै आएका छन् ।
उनको भनाइ अनुसार कहिलेकाँही स्वदेशी उत्पादनले मात्रै नथेग्ने अवस्थामा मात्रै भारतबाट केरा आउने गरेको छ । सकभर नेपाली उत्पादनलाई आफुहरुले प्राथमिकता दिने गरेको बताउँदै अग्रज व्यापारी अधिकारीले किसानहरुमा आजभोली व्यवसायिक भावनाको विकास हुँदै गएको पनि उल्लेख गर्छन् ।
अधिकारीले २०५३ सालदेखि बुटवलमा सानो ठेलाबाट केरा बिक्री गर्दै आएका थिए । अहिले मण्डीको सटरबाट नातेदार कृष्णमणी खनाललाई सहयात्री बनाएका छन् । यी दुई पाका व्यापारी मण्डीका सालिन र अनुशासित व्यापारी मानिन्छन् । उनीहरुले लामो समयदेखि विभिन्न थरी केराको विक्रीवितरण गर्दै आएका छन् । स्वदेशी उत्पादन कम हुँदा मात्रै भारतबाट परीक्षण गरी ल्याएको केरा विक्रीवितरण गर्ने गरेको उनीहरुको भनाइ छ । जाडो याममा स्वदेशी उत्पादन कम हुनेभएकाले मात्रै भारतबाट केराको आयात हुने गरेको व्यापारीहरु बताउँछन् ।
पुराना, पाका, सालिन र अनुशासित व्यापारिका रुपमा लिइने व्यवसायी अधिकारी र खनालको सटर नं. २६ बाट मात्रै दैनिक ६० देखि ७० हजारसम्मको केराको कारोबार हुँदै आएको छ । केरा सहित अन्य फलफुलको कारोबार गर्नेहरु मात्रै यो मण्डीमा ५० जना जति व्यवसायी छन् । सबैको व्यापारको औसत यहीँ हो ।
यहाँ दैनिक ४० देखि ५० टनको हाराहारीमा केराको कारोबार हुँदै आएको छ । मण्डीमा नवलपरासी, चितवन, बारा, निजगढलगायतका ठाउँबाट केरा आउने गरेको छ । चाडपर्वको सिजनमा यहाँका सटरहरुमा प्राय भिडभाड हुने गर्छ ।

नेपालमा बढ्दैछ व्यवसायिक केरा खेती
देशभरिका बगैंचाहरूमा गरि १८२५० विघा क्षेत्रफलमा किसानहरुले व्यवसायिक रुपमै केरा खेती गर्दैआएका छन् । ससना क्षेत्रफलमा गर्ने खेतीको विवरण यसमा समावेश छैन । मालभोग, जी नाइन, विलियम हाइब्रिड र चिनिचम्पालगायत जातका केराको व्यवसायिक रुपमै खेती भइरहेको छ । यो क्षेत्रफल अझ बढ्ने आँकलन गरिएको छ । किनकी धेरैतिरका किसानहरुले अहिले धान र ऊखुको खेती छाडेर केरा लगाउन थालेको केरा उत्पादक संघ चितवनका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदीले बताए । पहिले ऊखु रोप्ने किसानले अहिले केरा खेती गर्न थालेको बताउँदै सुवेदीले खेती गर्ने क्षेत्र र किसान बढेपनि लागत उठ्ने गरी मूल्य भने नपाएको गुनासो गरे ।
केरा सेवनबाट हुने ११ फाइदा
पोषणविद्हरुले केरालाई सस्तो, स्वादिष्ट मात्र होइन, स्वास्थ्यका लागि बहुउपयोगी फल हो, जसले ऊर्जा, प्रतिरक्षा र दीर्घ स्वास्थ्यमा ठूलो लाभ पु¥याउँछ फल मान्छन् । केरामा भिटामिन, खनिज, फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ । मोटो मानिस, हाइपरकलेमियाबाट पीडित भएकाहरु र धेरै समयदेखि कब्जियतबाट पीडित भएकाहरु र रुघाखोकीबाट पीडित भएकाहरुले भने केराको सेवन नगर्न चिकित्सकहरु सुझाउँछन् । केरा खानुका ११ फाइदाहरु यस्ता छन् ।

१) डिप्रेसन कम गर्छ–ट्रिप्टोफ्यान र भिटामिन‘बी६’ले तनाव घटाई मूड सुधार्छ ।
२) रक्तअल्पता र उच्च रक्तचापमा उपयोगी–फलाम र पोटासियमले रगतमा हेमोग्लोबिन बढाउँछ र प्रेसर नियन्त्रण गर्छ ।
३) मस्तिष्क क्षमता बढाउँछ–पोटासियमले स्मरण शक्ति र सक्रियता बढाउँछ ।
४)कब्जियत घटाउँछ–उच्च फाइबरले पाचन सुधार्छ ।
५) ह्याङओभर हटाउँछ–दूध, केरा र मह मिसाएर सेवन गर्दा राहत मिल्छ ।
६) छाति पोल्नेमा फाइदा–अम्लप्रतिरोधी तत्वले अमिलोपन कम गर्छ ।
७) गर्भावस्थाको वाकवाकीमा उपयोगी–रगतको चिनी सन्तुलन गरी असजिलो कम गर्छ ।
८) लामखुट्टे टोकेको दुखाइ घटाउँछ–बोक्राको भित्री भाग दल्दा राहत मिल्छ ।
९) स्नायु स्वास्थ्य सुधार्छ–भिटामिन बीले स्नायु प्रणाली बलियो बनाउँछ ।
१०) अल्सरमा फाइदा–पेटको अम्लपना सन्तुलन गरी अल्सरका बिरामीलाई सहयोग गर्छ ।
११) जिउको तापक्रम नियन्त्रण गर्छ–गर्मीमा शरीरलाई चिसो र ताजा राख्छ ।