

अमृत गिरी
बुटवल । बुटवल–गोरुसिङ्गे सडकखण्डका लागि पहिल्यै तयार पारिएका प्रिकास ड्रेन (नाली) का संरचना सडक किनारमा स्टोर गरिएको छ । पुलहरुमा पाइलिङ र फाउण्डेशनका काम पूरा भएर अण्डरपास, एनीमल क्रसिङ, तीन प्रकारका वाल, पुलका संरचना निर्माणका काम भइरहेका छन् ।
गत माघ ११ गते बुटवल जितगढीमा त्यसबेला प्रधानमन्त्री रहेका केपी ओलीले भर्चुअल र उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंहले भौतिक रुपमै उपस्थित भएर शिलान्यास गरेका थिए । यो राजमार्गको विस्तार र एसीयाली मापदण्डको बनाउन आवश्यक स्रोतको खोजी गर्ने, सुनिश्चित गरि कार्यान्वयनतहमा पु¥याउने कामको अगुवाई विष्णु पौडेलले गरेका हुन् । उनले विश्व बैंकका प्रतिनिधि संग कैयौंपटक भेटेर स्रोतका लागि आग्रह गरेका थिए । त्यससंगै राजमार्ग निर्माण भएको ६० वर्षपछि अन्तर्राष्ट्रिय मापदण्डमा स्तरोन्नति हुन लागेको हो ।

शिलान्याश लगत्तै यो सडक खण्डमा पुलहरुका संरचना निर्माणका काम गर्दै दुई खण्डमा बाँडेर यो सडकको स्तरोन्नतिको काम भइरहेको छ । हालसम्म करिब १४ प्रतिशत जति भौतिक प्रगति भएको छ । पुल, कल्भर्ट, अन्डरपास, नाली र वालहरुको निर्माणकार्य चलिरहेको छ ।
तर, यहीबिचमा असार–साउनमा नआएको पानी अहिले आएपछि काम प्रभावित भएको छ, पुलका कतिपय संरचनामा क्षति पुगेको छ र अप्रोचका सडकमा पनि क्षति पुगेको छ । त्यस्ता ठाउँमा अस्थायी ड्राइभर्शन गराएर सवारी आवागमन सुचारु गरिएको छ । वर्षायामका महिनाहरुमा बरु धमाधम काम भएकोमा अहिले झरी लागेर झुक्याएको र स्पीडमा भइरहेको काममा एक्कासी ब्रेक लाउनुपर्ने अवस्था आइलागेको आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेको भनाइ छ ।

‘असार–साउनमा झरीले प्रभावित होला कि भनेर सुस्तसुस्त काम गरियो तर अहिले पनि झुक्यायो,‘ आयोजना प्रमुख इन्जिनियर न्यौपानेले भनिन्,‘अझै केही दिन पानी पर्ने मौसमपूर्वानुमान देखाएको छ । झरीले पुलहरुको अप्रोचहरुमा क्षति भएको र त्यस्ता ठाउँमा डाइभर्सन गरी सवारी आवागमन गराइएको आयोजना प्रमुख न्यौपानेको भनाइ छ ।
पानी पर्नुअघिसम्म सडक खण्डमा दैनिक ७०० जनाभन्दा धेरै मजदुर खटिएर काम गरिरहेका थिए । अहिले परेको झरीले प्रभावित भएको छ र मजदुरको संख्या पनि घटेको छ । दसंैं नजिकिएकाले फेरि मजदुरहरु घट्ने छन् । समयमै काम सक्नका लागि एक हजार जति मजदुरको खाँचो पर्ने र दसैंपछि सोही रफ्तारमा काम गराउने गरी तयारी भइरहेको सडक आयोजनाका फिल्ड इन्जिनियर जिगेशप्रसाद चौधरीले जानकारी दिए ।

अहिले बुटवलदेखि गोरुसिङ्गेसम्म दुई खण्डमा विभाजन गरेर आरसिसी रिटेनिङ वाल, मेसिनरि रिटेनिङ वाल, बक्स कल्भट, बक्सब्रिज, एनीमल क्रसिङ स्ट्रक्चर र पुलहरुको फाउन्डेशनका काम धमाधम भइरहेको छ । यस्तै प्रिकास ड्रेन, प्रिकास कार्बस्टोन, भेइकल अण्डर पास र आरई वाल तथा प्रिकास ग्रेडरका काम भइरहेका छन् ।
यो सडकखण्डमा ८ वटा बक्सब्रिज र २२ वटा अरु पुलहरु बन्नेछन् । ती हालका पुलभन्दा दक्षिणतिर सटाएर पाइलिङ जग भएका नयाँ पुल हुनेछन् । यी सबै पुलहरुको फाउण्डेशन निर्माणका काम लगभग पूरा भइसकेका छन् भने अब पिल्लरमाथि हाल्ने संरचना बाहिरै बनाएर फिट गरिने छ ।

यो सडकखण्डमा सबैभन्दा लामो पुल ३०० मिटरको बाणगंगा नदीमा बनिरहेको छ । यो पुलको सबैभन्दा जटिलको काम पूरा भएको र अब बाँकी कामका लागि तयारी स्ट्रक्चरहरु ल्याएर फटाफट जडान गर्न मिल्नेगरी आधार तयार भएको र त्यसका लागि धेरै समय नलाग्ने इन्जिनियर चौधरीले बताए ।
बुटवलदेखि गोरुसिङ्गेसम्मको ५० किमी सडक २ वटा प्याकेजमा ठेक्का लगाई चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले धमाधम काम गरिरहेको छ । यो आयोजनाका लागि कुल १३ अर्ब ५५ करोड रुपैयाँमा ठेक्का लागेको हो ।

बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमाक्षेत्र कोठीनदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिङ्गेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी काम भइरहेको छ । ५० किमी सडकमध्ये ३० किलोमिटरमा भने दुवैतर्फ सर्भिस लेनसहितको ६ लेनमा निर्माण हुनेछ । जङ्गल क्षेत्र पर्ने सालझण्डी–पिपरा र वनगाई–गोरुसिङ्गेसम्म करिब २० किलोमिटर छ । त्यहाँ सर्भिस लेनविनाका अर्थात् ४ लेनको सडक बन्नेछ भने एनिमल अण्डर पास र भेहिकल पासका संरचना बन्नेछन् । आयोजनाका अनुसार ४ लेनका सडक ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा बनाउने काम भइरहेको छ ।
