शिवमन्दिर सामुदायिक वनको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

४ आश्विन २०८२, शनिबार
12 shares

बसन्ती आचार्य

कपिलवस्तु। बाणगंगा नगरपालिका–१ बुङ्चीस्थित शिवमन्दिर सामुदायिक वनको १९ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

प्रमुख अतिथि डिभिजन वन कार्यालय कपिलवस्तुका सिनियर डिभिजनल वन अधिकृत इश्वरीप्रसाद पौडेलले सामुदायिक वनको विकासका लागि वन कार्यसमितिसँगै वन उपभोक्ताहरुको महत्वपूर्ण भूमिका रहने बताए । उनले वनको आम्दानीलाई सही सदुपयोग गर्नुपर्ने बताए । साथैएक वन एक घर उपभोक्ता कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए । शिवमन्दिर सामुदायिक वनमा खएर, सिसौहरु उत्पादन हुने ठाउँ हो र अहिले लगाएका बिरुवाहरुलाई राम्रोसंग संरक्षण भएको बताउँदै यस सामुदायिक वनको काम राम्रो भएको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि वैज्ञानिक वन व्यवस्थापन राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष रेणु सेनले हरियो वन नेपालको धन भन्ने मूल नाराका साथ अघि बढ्नुपर्ने बताउँदै नेपालमा पाइने बहुमूल्य जडिबुटीहरु पहिचान नहुँदा खेरा जाने जडिबुटी संकलन गरी उपभोक्ताहरुलाई उद्यमतिर जोड्न सकिने बताइन् ।

कार्यक्रममा शिवमन्दिर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष झलक मल्ल ठकुरीले यस वनमा एउटा कम्पार्टमेन्ट १ (सि १) मा विभाजन गरी सिसौ, खएर र टिक प्रजातिका बिरुवाहरुको वृक्षारोपण गरिएको बताउँदै यस प्रकारले वन क्षेत्र कम्पार्टमेन्ट हेक्टरलाई ४० वर्षको बालिचक्रमा सपर्ट कटान प्रणाली प्रयोग गरी व्यवस्थापन गर्ने लक्ष्य राखी ४० वटा वार्षिक कटान क्षेत्र (एन्यौल कुप) निर्धारण गरिएको बताए ।

यस्तै कार्यक्रममा समूहकी कोषाध्यक्ष लक्ष्मी क्षेत्रीले आर्थिक वर्ष २०८१ ÷२०८२ को आयव्यय प्रतिवेदन प्रस्तुत र २०८२÷०८३ को अनुमानित बजेट ४ करोड ३२ लाख ३५ हजार ३ सय ३४ रुपैयाँ नीति तथा वार्षिक कार्यक्रम प्रस्तुत गरिन् ।
कार्यक्रममा सब डिभिजनवन कार्यालय पिपराका वरिष्ठ वन अधिकृत मोहन मिश्रा, संस्थाका सल्लाहाकार राजेन्द्रविक्रम शाह, नागरिक समाजका अध्यक्ष अर्जुन पोख्रेल, सामुदायिक वनका पदाधिकारी र उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम समूहका अध्यक्ष झलकमल्ल ठकुरीको अध्यक्षता तथा सचिव सन्जुकुमारी मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।