एमाले नेता लिला गिरीलाई मातृशोक

मेचीकाली संवाददाता

६ मंसिर २०८०, बुधबार
180 shares

बुटवल । नेकपा (एमाले) पोलिटब्युरो सदस्य, लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री लिला गिरीलाई मातृशोक परेको छ ।

नेता गिरीकी आमा केशवकुमारी गिरीको उपचारका क्रममा मंगलबार ९२ वर्षको उमेरमा निधन भएको हो । गिरीको बुधबार विहान जिल्लाको तिलोत्तमा नगरपालिका–१ शंकरनगरबाट शवयात्रासहित तिलोत्तमा घाटमा हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

केशवकुमारीका लिला गिरीसहित शालिकराम, टेकन गरी तीन छोरा तथा दुई छोरी भगवति र सीता रहेका छन् । अर्घाखाँचीमा जन्मे हुर्केर, गुल्मी र रुपन्देहीमा बसोबास गर्दै आएकी केशवकुमारीलाई सचेत र अगुवा महिलाका रुपमा लिइन्थ्यो । ऋषिराम गिरी र रेवता गिरीको सुपुत्रीका रुपमा अर्घाखाँचीको खिदिममा केशवकुमारीको जन्म भएको थियो । उनलाई कम्युनिस्ट नेता तथा कार्यकर्ताका सेल्टरदाताका रुपमा लिइन्छ ।