बुटवल । गुल्मीमा यात्रु बस र मोटरसाइकल ठोक्किँदा एक बिद्यार्थीको मृत्यु भएको छ ।
रेसुङ्गा नगरपालिका–४ अर्खलेमा सिमलटारीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र सदरमुकाम तम्घासबाट सेउघातर्फ जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिए ।
मगरको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मगर तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् । बिदा भएपछि घर फर्किने क्रममा मगर सवार मोटरसाइकल दुर्घटनामा परेको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।