लैङ्गिक हिंसाविरुद्ध सचेतनासम्बन्धी सडक नाटक प्रदर्शन

मेचीकाली संवाददाता

१५ मंसिर २०८०, शुक्रबार
318 shares

सुनिल आचार्य

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१ स्थित आनन्दवागमा लैङ्गिक हिंसाविरुद्धको सचेतनासम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । शुक्रबार रत्नराज्य लक्ष्मी माविमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , वडा नं १ को वडा कार्यालयको समन्वय तथा इन्सेकको सहयोगमा सडक नाटक प्रदर्शन गरिएको हो ।

‘ लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ १६ दिने लैङ्गिक हिंसाको अभियानको अवसरमा उक्त नाटक प्रदर्शन गरिएको हो । नाटकमा बुबा र आमाले छोरा बराबर अधिकार छोरीलाई दिनुपर्ने, सासूबुहारीको व्यवहार आमा र छोरी सहरको हुनुपर्ने, छोरालाई दिने शिक्षा छोरीलाई हुनुपर्ने, घरेलु हिंसा, श्रम शोषण र लैङ्गिक हिंसाले आर्थिक, समाजिक रुपमा असर पर्ने, लैङ्गिक विभेद हुँदा छोरीहरुले विभिन्न हिंसाहरु भोग्न बाध्य हुने भएको हुँदा लैङ्गिक हिंसा न्यूनीकरण गर्न आफ्नो घरदेखि नै सचेतना फैलाउन सबैले हातेमालो गर्नुपर्नेलगायतको सन्देशमूलक बिषयमा बाल अधिकार समूहका पदाधिकारीहरुले नाटकमार्फत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडा नं. १ का वडा सदस्य रमेशकुमार कशौधनले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अवसरमा विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापमा सहयोग गरेको मा इन्सेकलाई धन्यवाद दिँदै सडक नाटकमार्फत बालबालिकाले लैङ्गिक हिंसा विरूद्धको सचेतनामूलक सन्देश दिनु गौरवको बिषय भएको बताए ।

कार्यक्रममा मानव अधिकार लुम्बिनी प्रदेश अध्यक्ष पुष्पा रेग्मीले बालवालिकाहरुले लैङ्गिक हिंसाविरुद्धको सन्देशमूलक नाटकको आयोजना गर्नु नै महत्वपूर्ण भएको बताइन् । यस्तै वरिष्ठ मावन अधिकारकर्मी रामदयाल ठाकुरले बाल अधिकार चेतना समूहलाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय र जिल्लामा गठित मानव अधिकार समूहले लैङ्गिक हिंसाको १६ दिने अभियानको अवसरमा सचेतनामूलक कार्यक्रम संचालन गर्न सहयोग गर्नु नै महत्वपूर्ण बिषय भएको बताए ।

विद्यालयका प्रधानाध्यापक दिवाकरप्रकरप्रसाद चौधरीले विद्यायलाई हिंसारहित बनाउनका लागि सोह्रदिने अभियानको अवसरमा लागिपर्ने प्रतिबद्धता जनाउनु भयो । इन्सेकको सहयोग र सहकार्यबाट बालबालिकाहरुलाई थप सिकाइ भएको र विभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गर्दा बालबालिकाहरुमा क्षमता वृद्धि गर्न सहयोग भएको उनको भनाइ छ ।
यस्तै बाल संरक्षक शिक्षक रामशरण चौधरीले सडक नाटकको सहजीकरण गर्दै बाल बालिकाको नेतृत्व विकास, क्षमता अभिवृद्धिसँगै विद्यालय र समुदायमा महिलामाथि हुने घरेलु हिंसा, श्रम शोषण र लैङ्गिक हिंसामा सचेनता जगाउन सडक नाटक प्रभावकारी रहेको विश्वास व्यक्त गरे ।

बाल अधिकार चेतना समूहद्वारा जातिय विभेद, शिक्षा, स्वास्थ्य, लैङ्गिक विभेद, बाल विवाह , दाइजो, वातावरणलगायतका विषयमा अभियान सञ्चालन गर्दै आएको इन्सेकले विभिन्न सञ्जालहरू गठन गर्दै समाजलाई सचेतीकरण गर्नु आफँैमा महत्वपूर्ण भएको अर्की संरक्षक शिक्षक तारादेवी पौडेलले बताइन् ।

सडक नाटक बाल अधिकार चेतना समूहका अध्यक्ष रिमा बेल्दारको संयोजकत्वमा १२ जना समूहका टोलीले नाटक प्रदर्शनमा भाग लिएका थिए । कार्यक्रममा वडा सदस्य, मानव अधिकार समूह लुम्बिनी प्रदेश संयोजक, इन्सेक प्रतिनिधि, वरिष्ठ मानव अधिकारकर्मी, नियोक संयोजक पशुपतिमणि त्रिपाठी, विद्यालयका शिक्षकहरु, सञ्चारकर्मी, बाल अधिकार चेतना समूहका सदस्यहरु, विद्यार्थीहरुलगायतको सहभागिता रहेको थियो ।