स्वर्णिम सहकारीको अध्यक्षमा पुनः ध्वजू

मेचीकाली संवाददाता

१७ मंसिर २०८०, आईतवार
286 shares

बुटवल । बुटवल–७ दिपनगरस्थित स्वर्णिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं साधारणसभा तथा नवौँ अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले उट्घाटन गरिन् ।

अधिवेशनले पुनः पारु ध्वजूको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । जसको उपाध्यक्षमा सुशिला श्रेष्ठ, सचिवमा मिना भुसाल र कोषध्यक्षमा खगिसरा गौतम रहेका छन् । त्यस्तै, सदस्यहरुमा इभा श्रेष्ठ, उमा पाण्डे, कृष्णबहादुर खनाल रहेका छन् । भने लेखा समिति संयोजकमा रविचन्द्र शाक्य तथा सदस्यहरुमा धनिराम घिमिरे र नारायण बस्याल रहेका छन् ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले अर्थतन्त्र चलायमान बनाउन सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेको बताइन् । देशमा बढ्दै गइरहेको आर्थिक संकटलाई कम गरी अर्थतन्त्रलाई सकारात्मक दिशामा हिँडाउन सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्र्ने उनले बताइन् । उपप्रमुख अर्यालले पछिल्लो समय सहकारी संस्थाहरुमा देखिएका समस्याहरुलाई चिर्दै उत्कृट काम गरि उदारणीय संस्था बन्न सुझाव दिइन् । सहकारी सबैका लागि हो भन्ने मान्यता स्थापित गर्न जरुरी रहेको उनले बताइन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष पारु ध्वजूले वार्षिक कार्यक्रमसहित प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराइन । आफ्नो कार्यकाल सफल र उदाहरणीय बनाउन सक्दो प्रयास गर्ने बताउँदै अध्यक्ष ध्वजूले संस्थाको छविलाई अझ उचाइमा पु¥याउन सधैं लागिरहने प्रतिवद्धता व्यक्त गरिन् । संस्थालाई थप सुदृढ र व्यवस्थित बनाउनको लागि सबै शेयर सदस्यहरूको हातेमालो आवश्यक रहने बताउँदै उनले सबैलाई सहयोग गर्न आग्रह गरिन् ।

राष्ट्रिय सहकारी बैंकका व्यवस्थापक नारायण बेलबासे, संस्थाका सल्लाहकार गोपालप्रसाद अधिकारी, बालकुमारी भण्डारी, नारी बहुउद्देश्यीय सहकारीका अध्यक्ष गंगा गुरुङ, शेयर सदस्य सरदार भोला सिंह, नारायण जिसी लगायतले बोल्दै सहकारीको सफलताको शुभकामना व्यक्त गर्दै शेयर सदस्यहरुलाई उत्पादनशील र व्यावसायिक बनाउन संस्थाले सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । संस्थाले दुईजना विद्यार्थीको अभिभावकत्व ग्रहण गरी अध्ययन गराउँदै आएको छ । हाल सहकारीमा ९४४ जना शेयर सदस्य रहेका छन् । भने शेयर पूँजी १ करोड २५ लाख ५६ हजार रुपैयाँ रहेको छ । सहकारीले २ करोड ६९ लाख ५१ हजार ९७८ रुपैयाँ ऋण लगानी गरेको छ ।

संस्थाको साधारणसभाले शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांस वितरण गर्ने निणर्य पारित गरेको छ । संस्थाका अध्यक्ष पारु ध्वजूको अध्यक्षता तथा सचिव कल्पना तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।