चारपाला सामुदायिक वनको ३०औं साधारणसभा

मेचीकाली संवाददाता

२३ मंसिर २०८०, शनिबार
368 shares

बुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ को ३० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै नेकपा एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलसी चौधरीले सामुदायिक वनको संरक्षक उपभोक्ताहरू नैं रहेको बताए । उनले पछिल्लो समय वन क्षेत्रमा ठूलो उपलब्धी हाँसिल भएको बताउदै वन क्षेत्रको विकासको लागि प्रदेशसभामा आफूले आवाज उठाउने बताए ।

वनमाथि तीन तहका सरकारले लगाउँदै आएको कर व्यवहारिक नभएको बताउँदै उनले त्यसमा गम्भीर छलफल आवश्यक रहेकोमा जोड दिए । शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले वन क्षेत्रको विकासमा पालिकाले धेरै योजनाहरू अगाडि सारेको जानकारी गराए । चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगतनाथ शर्माले वनको संरक्षण, विकास र प्रवद्र्धन गर्दै, पर्यापयटन र सामाजिक विकासमा वनले काम गर्दै अघि बढेको बताए । वनका विभिन्न ठाउँमा वन संरक्षण सचेतना सामग्री पनि राखिएको शर्माको भनाइ छ । वनले वार्षिक १५ हजार बिरुवा उत्पादन गर्ने नर्सरी पनि तयार गरिसकेको छ । चारपाला वनमा रहेका बुद्धकालीन भग्नावशेषलाई संरक्षण गर्न सके यस क्षेत्रले पर्यटन विकासमा समेत योगदान पुग्ने देखिन्छ । वनमा दुर्लभ जंगली जनावरहरु पनि फेला परेका छन् ।

चारपालामा तटबन्ध, वन पथ, वृक्षरोपण, तथा तारवार जस्ता वनको विकासका कार्यक्रम अघि बढेको छन् । यसलाई वनले निरन्तरता दिने लक्ष्य लिएको छ । साधारणसभामा वनका सल्लाहकार उदयराज काफ्ले, पूर्व बुटवल १२ का वडा अध्यक्ष दुर्गा सुवेदी, सामुदायिक वन उपभोक्ता समूह, रूपन्देहीका अध्यक्ष श्यामकली आचार्य, वनका सल्लाहकार प्रेम शर्मा काफ्ले, सैनामैना सभ डिभिजन कार्यालयका प्रमुख राजन खड्का लगायतले बोलेका थिए । चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगतनाथ शर्मा पौडेलको अध्यक्षता, उपाध्यक्ष रामकुमारी पौडेलको स्वागत तथा सचिव दुर्गा पाठक पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । चारपाला क्षेत्रफल र उपभोक्ताका हिसावले देशैको ठूलो सामुदायिक वन हो ।