एमबिबिएसमा सात जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति

मेचीकाली संवाददाता

२३ मंसिर २०८०, शनिबार
176 shares

बुटवल । बुटवल योगिकुटीको मणिमुकुन्द कलेजले काठमाडौं उपत्यका बाहिर सबैभन्दा धेरै विद्यार्थीले एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको दावी गरेको छ । कलेजका ७ जना विद्यार्थीले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेका हुन् ।

यस्तै इन्जिनियरिङ, बि अप्टोमेट्री, बिएस्सी फरेस्ट्री र बिएस्सी नर्सिङमा गरी ८ जना मणिमुकुन्दका विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । विभिन्न विषयमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल र बिबिएस चौथो सेमेस्टरमा उत्कृष्ट अंक हासिल गरेका ४ जना विद्यार्थीलाई कलेजले एक भव्य समारोहबीच सम्मान गरेको छ ।

एमबिबिएसमा पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीहरुमा खुशी सापकोटा, रामविनोद यावद, सौगात ढकाल, सन्देश चुदाली,समीर कुँवर, माधवकुमार चौधरी र अस्मिन सलामी रहेका छन् । यस्तै इन्जिनियरिङमा घनश्याम शर्मा, विशाल रिजाल र रिदम शाही, बि अप्टोमेट्रीमा रिया जयसवाल, बिएस्सी नर्सिङमा मनिका पौडेल र प्रतिक्षा गैरे तथा बिएस्सी फरेस्ट्रीमा समीक्षा अधिकारीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका हुन् । यस्तै बिबिएस चौथो सेमेस्टरमा सुमन पराजुली (७९.४० प्रतिशत), स्मृति न्यौपाने (७९.४० प्रतिशत) , सुस्मिता रिजाल (७७.६० प्रतिशत ) र झरना अर्याल (७५.४० प्रतिशत) ले उत्कृष्ट अंक हासिल गरेकाले उनीहरुलाई पनि सम्मान गरिएको हो ।

छात्रवृत्ति पाएका विद्यार्थीलाई सम्मान गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले कलेज प्रशासन, प्राध्यापक, विद्यार्थी र अभिभावक गरी चार पक्षको सामूहिक मेहनतले विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताइन् । उनले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नेपालमै बस्ने वातावरण बनाउन तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिइन् ।

मणिमुकुन्दसहित बुटवलका विभिन्न कलेजबाट पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई बुटवल उपमहानगरपालिकाले पनि सम्मान गर्ने उपप्रमुख अर्यालले प्रतिबद्धता जनाइन् ।

सो अवसरमा कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले विद्यार्थीको शैक्षिक सँगै सर्वाङ्गीण विकासमा कलेजले उत्तिकै महत्व दिएको बताए । सरकारले निजी शैक्षिक संस्था र निजी शैक्षिक संस्थामा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति र अन्य सुविधामा विभेद गर्न नहुनेमा उनले सरकारको ध्यानाकर्षण गराए । कलेजका विज्ञान संयोजक लक्ष्मण गैरेले विद्यार्थीको उज्ज्वल भविष्यका लागि कलेज प्रशासन र प्राध्यापकहरुले कुनै सम्झौता नगर्ने बताए । कलेजका संयोजक पशुति चौधरीले पूर्ण छात्रवृत्तिका लागि परीक्षा दिने कलेजका विद्यार्थीमध्ये ९० प्रतिशतले नाम निकाल्न सफल हुने गरेको दावी गरे ।

कार्यक्रममा अभिभावक महासंघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, एपेक्स स्कुलका प्राचार्य दिपक गौतम, अभिभावक हरिप्रसाद चुदाली, विद्यार्थी खुशी सापकोटा र सुमन पराजुलीले मणिमुकुन्द कलेज शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापमा लुम्बिनी प्रदेशकै अग्रणी संस्था बन्दै गएको बताए ।