कपिलवस्तुमा मानअधिकार उल्लघंनका घटनामा सुधार

मेचीकाली संवाददाता

२५ मंसिर २०८०, सोमबार
191 shares

बसन्ती आचार्य

कपिलवस्तु । कपिलवस्तुमा मानवअधिकार उल्लघंनका घटनामा उल्लेख्य सुधार आएको बताइएको छ । ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजना तथन जिल्ला प्रशासन कार्यालय र माहुरी होम कपिलवस्तुको समन्वयमा तोलिहवामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख सोमनाथ सुवेदीले रुपन्देही, नवलपरासी (पश्चिम), कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लाहरुको तुलनामा कपिलवस्तु जिल्लामा मानव अधिकार उल्लघंनका घटनामा निक्कै कमि आएको धारणा राखे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मानव अधिकारको संरक्षणका लागि आफ्नो अधिकार र कर्तव्य पालनामा सबै इमान्दार हुनुपर्ने बताए । मानव अधिकारको रक्षाका लागि आयोगले आफ्नो भूमिका अझै बढाउनुपर्ने उल्लेख गर्दै उनले कोठे गोष्ठी र कार्यक्रममा मात्रै केन्द्रीत नहुन सुझाव समेत दिए । गाउँ केन्द्रित तथा लक्षित समुदाय केन्द्रित रहेर आयोगले आफ्ना काम, कर्तब्य गर्नुपर्ने प्रजिअ आचार्यको भनाई छ ।

जिल्ला सरकारी वकिल कार्यालय कपिलवस्तुका जिल्ला न्यायधिवक्ता प्रकाश मरासिनीले संविधान प्रदत्त अधिकार संरक्षण र उपभोगका लागि सबै नागरिक सचेत रहनुपर्नेमा जोड दिए ।
मानवअधिकार रक्षक सञ्जाल लुम्बिनी प्रदेश संयोजक रबिन्द्रनाथ ठाकुरले मानव अधिकारको पूर्ण प्रत्याभूतिका लागि प्रदेश र स्थानीय तहहरु समन्वयात्मक रुपमा लाग्नुपर्ने बताए । नागरिकको अधिकार स्थापित गर्ने सवालमा जहाँ त्रुटी छ त्यसलाई सच्चाउने काम अयोगले गर्नुपर्ने बताउँदै मानव अधिकार उल्लंघनका सवालमा आयोग दरिलो हुने गरी उभिनुपर्ने ठाकुरको भनाई छ ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले नागरिकको अधिकार संरक्षणका लागि आयोगको भूमिका महत्वपूर्ण रहेको बताए । इन्सेक मानव अधिकार लुम्बिनी प्रदेश संजाल संयोजक पुस्पा रेग्मीले सामाजिक कुरीति र विभेदको अन्त्य नहुँदा सम्म मानव अधिकारको रक्षा हुन नसक्ने बताईन ।

यस वर्ष प्राकृतिक प्रकोप तथा विपद्बाट प्रभावितहरूका लागि मानव अपधकारको सुनिश्चितताः आजको आवश्यकता भन्ने नारा तय गरिएको छ । कार्यक्रममा मानवअधिकारका क्षेत्रमा सक्रिय रुपमा कार्यरत जिल्लाका संघसंस्थाका प्रतिनिधीहरु, संचारकर्मी लगायत बिभिन्न कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।