किशोरी अधिकार मञ्च कपिलवस्तुको अध्यक्षमा मुराउ

मेचीकाली संवाददाता

२६ मंसिर २०८०, मंगलवार
564 shares

पार्वती आचार्य

कपिलवस्तु । किशोरी अधिकार मञ्च कपिलवस्तुको चौथो साधारणसभा एवं दोस्रो अधिवेशन मंगलबार तौलिहवामा सम्पन्न भएको छ । गाउँपालिका तथा नगरपालिकामा रहेको किशोरी अधिकार मञ्चले जिल्लाको लागि सुमित्रा मुराउको अध्यक्षतामा नयाँ समिती चयन गरेको छ ।
अधिवेशनबाट अध्यक्षमा यशोधरा गाउँपालिकाबाट सुमित्रा मुराउ, उपाध्यक्षमा कपिलवस्तु नगरपालिकाकी साधिका रैदास, सचिवमा शिवराज नगरपालिकाकी गुन्जा थारु, सहसचिवमा महाराजगञ्ज नगरपालिकाकी मायावती कोरी, कोषाध्यक्षमा शुद्धोधन गाउँपालिकाकी शेषमती मल्लाह चयन भएका छन् । यस्तै सदस्यहरुमा बिजयनगर गाउँपालिकाकी अन्सु बिश्वकर्मा, कपिलवस्तु नगरपालिकाकी सादिया खातुन, कृष्णनगर नगरपालिकाकी रुपा कहाँर र मायादेवी गाउँपालिकाकी नन्दरी कहाँर चयन भएका छन्् ।

यसैगरि कार्यसमितीको आमन्त्रीत सदस्यहरुमा कपिलवस्तु नगरपालिकाबाट अन्जु चौहान, बुद्धभूमि नगरपालिकाबाट सल्मा हुसेन रहेका छन् । जिल्ला स्तरीय किशोरी अधिकार मञ्चकी नवनिर्वाचित अध्यक्ष सुमित्रा मुराउले किशोरीहरुको हक अधिकारको लागि काम गर्ने र किशोरीहरुलाई अगाडि बढाउनको लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएकी छन् ।
हाल मञ्चमा जिल्लाको बाणगंगा नगरपालिका बाहेकका ९ स्थानिय तहका १ हजार ५ सय जना किशोरीहरु आवद्ध रहेका छन् । मञ्चले गठन भएदेखि बालविवाह, गतिशिलतामा रोक, उच्च शिक्षा, यौन दुरव्र्यवहारमा अभियान मूलक कार्यहरुमा वडा स्तरदेखि लिएर राष्ट्रिय स्तरमा सम्मका अभियानमा लागि परेको प्रगति प्रतिबेदन प्रस्तुत गरिएको थियो ।

न्यायपुर्ण र बिभेद रहित समाज’ भन्ने मूलनाराका साथ सम्पन्न कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले किशोरीहरुका लागि आफ्नो व्यक्तीगत तर्फबाट र समन्वय समितीको तर्फबाट पूर्ण साथ सहयोग हुने प्रतिबद्धता जनाए । पितृसत्तात्मक सोंचले जगडिएको समाजमा छोरा बराबर छोरीको उत्तिकै हक अधिकार भएको हुँदा किशोरीहरुले आफ्नो हक अधिकारका लागि आत्मनिर्भरता सहित अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए ।
यस्तै स्थानिय सरकारले बालबालिका, किशोरी, महिलाहरु र जेष्ठ नागरिकहरुका लागि सामाजिक समावेसी निती बनाएर कार्यहरु गर्नुपर्ने बताउँदै समाजमा हुने बालबिवाह, दाईजो प्रथा, बहुबिवाह, आत्महत्या लगाएत बिभिन्न हिंसाहरु बढ्दै गएको हुँदा यस बिषयमा राज्य, नागरिक समाज, बिभिन्न संघसंस्था, मानव अधिकारकर्मी, पत्रकार लगाएतले पहल कदमी गर्न आवश्यक रहेकोे प्रमुख आचायको भनाई रहेको थियो । किशोरीहरुलाई सुरक्षित तथा आत्मनिर्भर बनाउनका लागि जिवन उपयोगि सिपलाई अगाडी बढाई क्षमतावान बनाउन आवश्यक रहेको उनको भनाई छ ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले अधिकार कसैले उपहारको रुपमा नदिने भएको हुँदा किशोरीहरुले शिक्षालाई अगाडी बढाउनुपर्ने बताए । उनले बिद्यालय छाड्ने किशोरीहरुका लागि र बालविवाह न्यूनिकरण गर्नका लागि शुद्धोधन गाउँपालिकाले कक्षा ९ देखि कक्षा १२ सम्मका किशोरीहरुलाई साईकल बितरण कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा बुद्धभूमि नगरपालिकाका उपप्रमुख मीरा थारु, बिजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश कुर्मी, यशोधरा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अब्दुल कयुम खान, कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठ लगायतले बिभिन्न प्रकारका हिंसात्मक घटनाहरु बढ्दै गएको हुँदा यस बिषयमा स्थानिय सरकारले किशोरीहरुका लागि सचेतना मूलक कार्यक्रमहरु संचालन गर्दै आएको बताए । यसलाई न्यूनिकरण गर्न सबै सरोकारवालाले समेत प्याकेज कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य, ओरक नेपालका सुस्मा आचार्य, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष पुष्पा रेग्मी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, गैसस महासंघका सदस्य दिलिप यादव, रुपन्देही किशोरी अधिकार मञ्चका अध्यक्ष सुनिता हरिजन लगायतले किशोरीका सवालमा आ आफ्ना धारणा राखेका थिए ।

किशोरी अधिकार मञ्चका अध्यक्ष अक्षिता शुक्लाको अध्यक्षता, ओरेक र केयरको सहयोग समन्वयमा सम्पन्न कार्यक्रममा मञ्चका उपाध्यक्ष सुमित्रा मौर्यको स्वागत तथा गुन्जा थारुको सञ्चालनमा सम्पन्न कार्यक्रममा महिला सेलका स्यामु पाईजा, साथी संस्था कपिलवस्तुका प्रमुख बिमला घिमिरे लगायतको सहभागिता रहेको थियो ।