हरि शर्मा
परासी । नवलपरासी जिल्लाका विभिन्न खोलाहरुबाट नदीजन्य पदार्थ (ढुंगा, बालुवा) को चोरी निकासी रोकिन सकेको छैन । विगत केही महिनादेखि खोलाहरुबाट नदीजन्य पदार्थको चोरी निकासी बढेपनि त्यसलाई रोक्न कसैले चासो नदिएको स्थानीयको भनाई छ । हरेक दिन नदीजन्य पदार्थको चोरी निकासी बढेको बताइएको छ ।
सबैभन्दा बढी सुनवल नगरपालिका क्षेत्रका खोलाहरुबाट नदीजन्य पदार्थको चोरी बढेको पाइएको छ । बर्दघाट नगरपालिका क्षेत्रका खोलाहरु र सबैभन्दा बढी सुनवलको तुरिया, पानभार, भूमही खोलाबाट चोरी निकासी बढेको स्थानीयले बताएका छन् । त्यसरी ल्याइएका नदीजन्य पदार्थ अवैधरुपमा डम्पिङ (घाटगद्धी) गरेर राख्ने गरेका छन् । सबैभन्दा बढी सुनवलमा नदीजन्य पदार्थको डम्पिङ भएको पाइएको छ ।
तर, नियन्त्रण गरी जफत गर्न पालिकाले समेत कुनै चासो दिएको पाइएको छैन । खोलाहरुको अनुगमन गर्न पुगेको जिल्ला अनुगमन समितिले समेत सुनवलमा सबैभन्दा बढी नदीजन्य पदार्थको चोरी भएको पाएको थियो । चोरी गरी निकालिएका नदीजन्य पदार्थ खोला नजिक डम्पिङ गरेर राख्ने गरेको पाइएको जिल्ला अनुगम समितिका संयोजक एंव जिल्ला समन्वय प्रमुख भगौती यादवले बताए ।
‘अनुगमनका क्रममा सुनवलका खोलाहरुमा नदीजन्य पदार्थ चोरी गरी डम्पिङ गरेको पायौं, स्थलगत मै त्यसलाई जफत गर्न नगरपालिकालाई भनेपनि नगरपालिकाले पछि गर्छौँ भन्यो, जफत ग¥यो कि गरेन थाहा भएन ।’ जिसस प्रमुख यादवले भने । सुनवलको तुरिया र पानभार खोलामा सबैभन्दा बढी नदीजन्य पदार्थको डम्पिङ गरेर राखिएको छ । डम्पिङ गरेर राखेका स्थानबाट टेक्टर र टिप्परबाट रातको समयमा मात्र नभई दिउँसै पनि नदीजन्य पदार्थ पठाउने गरिएको छ । पुरानो स्टकका नाउँमा अहिले नदीजन्य पदार्थ चोरी गरी सोही स्थानमा डम्पिङ गरी राख्ने गरेको पाइएको छ ।
नदीजन्य पदार्थको चोरी र अवैध रुपमा डम्पिङ गरी राखेको विषयमा नगरप्रमुख विमला अर्यालसँग सम्पर्क गर्न खोज्दा उनी देश बाहिर भएकाले सम्पर्क हुन सकेन । प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले खोलाहरुमा देखिएको डम्पिङलाई हटाउनका लागि सम्बन्धित व्यक्तिलाई पत्रचार गरेको बताए । ‘केही स्थानमा पुरानो स्टक भनेकाले हटाउन पत्रचार गरेका छौं । अन्य स्थानमा डम्पिङ गरी राखेको विषयमा बुझ्ने प्रयास गरेका छौं । चोरी निकासी गरेर राखेको भए जफत गर्छौँ ।’ प्रमुख प्रशासकीय अधिकृत गिरीले भने ।
चोरी निकासी नियन्त्रणका लागि प्रहरीसँग समन्वय गर्दा सक्दो सहयोग नपाएको नगरपालिकाको गुनासो छ तर प्रहरीले भने चोरी निकासी नियन्त्रणका लागि जुन सुकै समयमा खबर गरेपनि तत्काल पुग्ने जनाएको छ । ‘हामीसँग सवारी साधनको कमी छ । सुनवल नगरपालिकासँग सवारी साधनको व्यवस्था गरे सजिलो हुने थियो भनेका थियौं । तर, नगरपालिकाले सवारी साधन उपलब्ध गराउन नसक्दा भनेको समयमा जान नसकिएको हो ।’ इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) आशिष अधिकारीले भने ।
नगरपालिकाले अनुरोध नगरेपनि प्रहरी आफैंले पनि चोरी निकासीमा संलग्न सवारी साधनलाई पक्राउ गरेको अधिकारीले बताए । ‘केही दिन अगाडि चोरीका नदीजन्य पदार्थ बोकेका दुईवटा सवारी साधन पक्राउ गरेका थियौं । एउटाले नगरपालिकामा ६० हजार जरिवाना तिरेपछि छाड्यौँ, अर्को भने लामो समयदेखि कार्यालय परिसरमै छ । लिन कोही आएका छैनन् ।’ प्रहरी निरीक्षक अधिकारीले भने ।
नदीजन्य पदार्थ चोरी निकासी कार्यमा संलग्न व्यक्तिहरुले स्थानीय तह र प्रहरीसँग सेटिङ (आर्थिक प्रलोभन) मिलाएर काम गर्ने गरेको स्थानीयले आरोप लगाउँदै आएका छन् । खोलाहरुबाट चोरी निकासी भएको र रातको समयमा ढुंगा, बालुवा बोकेका सवारी साधनका कारण सुत्नै नसकिएको भन्दै सुनवलका स्थानीयवासीहरु पालिकामा डेलिकेशनसमेत गएका थिए तर चोरी निकासी भने रोकिएको छैन । यता बर्दघाट नगरपालिका क्षेत्रमा रहेका खोलाहरुबाट पनि नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । सबैभन्दा बढी खजुरा खोलाबाट चोरी कार्य बढेको बताइएको छ ।