दिपेश पछाई
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालन गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायहरुसँग छलफल गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार आयोजित सरोकारवालासँगको छलफलमा विमानस्थललाई कसरी नियमित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका महाप्रबन्धक हंसराज पाण्डेले बताए ।
सिद्धार्थ सञ्जाल रुपन्देहीले विगत लामो समयदेखि विमानस्थल नियमित रुपमा सञ्चालनको माग गर्दै धर्ना कार्यक्रम गरिरहेको समयमा पर्यटनमन्त्री सुदन किरातीले पुस २ गते सरोकारवाला निकायहरुसंग छलफल गरेर निकास निकाल्ने प्रतिबद्धताअनुसार मंसिर २७ गते सिद्धार्थ सञ्जाल रुपन्देहीलाई पत्राचार गरी सोमबार मन्त्रालयमा छलफल आयोजना भएको हो ।
पर्यटन मन्त्री सुदान किरातीको अध्यक्षतामा बसेको बैठकमा पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, श्रम रोजगार तथा नागरिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, नेपाल नागरिक उड्डयन प्रधिकरणका महाप्रबन्धक प्रदिव अधिकारी, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, सिद्धार्थ होटल एशोसिएनका अध्यक्ष तथा धर्ना कार्यक्रमका संयोजक चन्द्रप्रकाश श्रेष्ठ, उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपाने, सोटो नेपाल लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष संजय बजीमय, चेम्बर अफ कर्मस लुम्बिनी प्रदेशका सदस्य खिमबहादुर खत्री, नाटा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्त, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, लुम्बिनी होटल संघका अध्यक्ष गोवीन्द ज्ञवाली, भैरहवा भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थी, सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र आर्चाय, महासचिव कृष्ण घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गौतम बुद्ध विमानस्थलाई नियमित सञ्चालनका लागि के गर्न सकिन्छ भन्ने विषयमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले सञ्चालन, चुनौति र अवसरका विषयमा प्रस्तुति गरेका थिए ।
कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदिव अधिकारीले भैरहवा विमानस्थलबाट उड्ने यात्रुशुल्क घटाएर र त्रिभुवन बिमानस्थलबाट उड्ने यात्रुको विमानस्थल शुल्क बढाएर भैरहवाको बिमानस्थललाई नियमित गराउन प्रस्ताव राखेका थिए । कार्यक्रममा बुद्ध एयरका एमडी वीरेन्द्रबहादुर बस्नेतले भैरहवाबाट नोयडा विमान सञ्चालन गर्न आफू तयार रहेको बताए ।
केन्द्र सरकारले विकेन्द्रीकरणको नीति नलिँदा यो विमानस्थल सञ्चालन हुन नसकेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए । संघले अझै पनि राजधानी केन्द्रित काम गर्दा विमानस्थल सञ्चालन आउन नसकेको बताए ।
मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सबै सरकारले गर्दछ भनेर बस्न नहुने बताए । सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले राजधानीका केही व्यक्तिहरुको दवावका कारण बिमानस्थल सञ्चालन हुन नसकेको बताए । विमानस्थलसंग सरोकार राख्ने सबै निकायहरु तत्काल भैरहवामा खोल्नुपर्ने जोड दिए । विमानस्थललाई हेरेर भैरहवाका व्यवसायीहरुले अरबौँ लगानी गरेको र त्यो डुब्ने अवस्थामा आएको ज्ञवालीले बताए ।
सिद्धार्थ सञ्जालका बरिष्ठ उपाध्यक्ष तथा धर्ना कार्यक्रमका संयोजक चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल सञ्चालनमा राजधानीबाटै असहयोग भएकाले सरकार गम्भीर बन्नुपर्ने बताए । ‘हामी भैरहवामा सात हजार पर्यटकहरुलाई एकैसाथ स्वागत गर्न सक्दछौँ, पूर्वाधारको कुनै कमी छैन ।’ श्रेष्ठले भने ।
अन्तर्राष्ट्रिय उडानमा रहेका विमानहरुलाई भैरहवा जानैपर्ने बाध्यकारी नीति बनाएर भैरहवा पठाउनु उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बाहिरी पूर्वाधार छैन भनेर प्रचार गर्नु गलत भएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।
छलफल कार्यक्रममा बोल्दै पर्यटनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनेका ढुक्क रहन आन्दोलरत पक्षलाई आग्रह गरे । ‘म आजैदेखि काममा लागेँ, तपाईहरु हेर्नुहोस् यसको रिजल्ट तपाईहरुले तुरुन्तै देख्नुहुने छ ।’ उनले भने । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित गर्नेमा सबै निकायहरुसंग छलफल सुरु भयो, हामी छिट्टै भैरहवा दिल्ली, भैरहवा नोयडा उडान गर्दछौँ । साथै भैरहवाको विमानस्थल हेण्डिलिङ गर्ने कम्पनीलाई जिम्मेवारी दिई उक्त कम्पनीले एउटा उडान जसरी पनि अनिवार्य गर्ने गरी कार्यन्वयन गर्ने तयारीमा छौँ ।’ छलफलमा मन्त्री किरातीले भने ।