ऐरावतीको १४औँ गाउँसभाः बालविवाह न्यूनिकरण गर्न प्रोत्साहन

बालविवाहको सूचना दिनेलाई २५ हजार पुरस्कार

मेचीकाली संवाददाता

१७ पुष २०८०, मंगलवार
224 shares

प्युठान । प्युठानको ऐरावती गाउँपालिकाले जिल्लामै नयाँ अभियान सञ्चालन गरेको छ । जिल्लामा बालविवाहका घटनाहरु बढिरहेको अवस्थामा ऐरावती गाउँपालिकाले बालविवाह रोक्नका लागि नयाँ कदम चालेको हो । गाउँपालिकाले १४ औँ गाउँसभा (हिउदेसभा) को अवसरमा पालिकाभित्र बालविवाह भएको जानकारी दिनेलाई पुरस्कारको व्यवस्था गर्ने निर्णय गरेको हो ।

पालिकाभित्र बालविवाहका घटनाहरु बढेकाले यसको न्यूनिकरणका लागि बालविवाह भएको वा हुने जानकारी दिनेलाई २५ हजार रुपियाँ नगद पुरस्कार दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवील विक्रम शाहले जानकारी दिए । बालविवाह रोकथाम गर्न र त्यसको न्यूनिकरणका लाीग विशेष कार्यक्रमसहित अघि बढ्नेगरी कार्यक्रम तय गरिएको उनले बताए ।

बालविवाह भएको, हँुदै गरेको वा हुने जानकारी प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालयमा दिएमा पहिलो आधिकारिक सूचना दिने व्यक्तिलाई पुरस्कारको व्यवस्था गरिने अध्यक्ष शाहले बताए । बालविवाहसम्बन्धी सूचना दिनेको नाम गोप्य राखिने अध्यक्ष शाहले बताए । बालविवाह भइरहेको अवस्थामा न्यूनीकरणका लागि पालिकाले यो नयाँ कदम चालेको हो । यसले बालविवाह न्यूनिकरणमा थप टेवा पुग्ने विश्वास लिएको पालिका अध्यक्ष शाहको भनाइ छ ।

गाउँसभाबाट दुईवटा ऐन पारित
ऐरावती गाउँपालिकाको दुईवटा ऐन पारित गरेको छ । १४ औं गाउँसभाले दुईवटा ऐन पारित गरेको हो । गाउँसभाबाट खानेपानी तथा सरसफाइ र स्वच्छतासम्बन्धी ऐन र स्थानीय मदिरा तथा पेय पदार्थ व्यवस्थापन गर्न बनेको ऐन पारित भएको गाउँपालिकाले जनाएको छ ।

ऐन पारित भएसँगै अब गाउँपालिकाभित्र उत्पादन हुने मदिरालाई प्रविधिमैत्री बनाउँदै सर्वसाधारणको स्वास्थ्यमा असर नपर्ने गरी गुणस्तरीय रुपमा मदिराको उत्पादन, बिक्री वितरण, व्यवस्थापन र निकासी पैठारी गर्नुपर्ने छ । घरेलु मदिराको व्यवस्थापनसंगै स्थानीय तहको आन्तरिक आम्दानीको स्रोतको रुपमा समेत यसलाई जोडिने गाउँपालिकाले जनाएको छ । ऐन पारित भएसँगै अब गाउँपालिका भित्र मदिरा उत्पादन गर्न अनुमतीपत्र लिनुपर्ने र बिक्री बितरणका लागी पनि अनुमती लिनुपर्ने व्यवस्था गरेको हो ।

यस्तै स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवामा पहुँच प्राप्त गर्ने नागरिकको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्न खानेपानी तथा सरसफाइ र स्वच्छतासम्बन्धी ऐन पारित भएको छ । अब गाउँपालिकाभित्र मुहानको संरक्षण, पानीको सहज ब्यवस्थापनमा थप टेवा पुग्ने गाउँपालिका अध्यक्ष शाहले बताए ।

त्यस्तै गाउँसभाबाट ऐरावती गाउँपालिकाभित्र रहेका मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनको लागि बजेटको व्यवस्थासमेत गरिएको गाउँपालिका अध्यक्ष शाहले बताए । आर्थिक वर्ष ०८०/०८१ को हालसम्म ऐरावती गाउँपालिकाले कर्मचारी व्यवस्थापन, गाउँपालिकाभित्रका मुख्य सडक मर्मत तथा भुक्तानी, प्रधानमन्त्री कार्यक्रमको लागि योजना छनोट, दाङवाङ माध्यामिक विद्यालय अमिलिको भवन निर्माणको लागि भारतीय राजदूतावासमा आवश्यक पहल, ३ वटा योजनाको ठेक्का, १५ बेडको आधारभूत अस्पतालको कार्यलगायतका कार्यहरु गरेको ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले जानकारी दिए ।